एसिया प्यासिफिक समिट विवाद : सरकार प्रभावित पार्न वर्षौं प्रयास

घनश्याम खड्का

काठमाडौँ — विवादास्पद एसिया प्यासिफिक समिटमा सरकारलाई प्रयोग गर्न आयोजक युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) र त्यसको मातृसंस्था युनिफिकेसन चर्च वर्षाैंदेखि सक्रिय पाइएको छ ।

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) का संस्थापक अध्यक्ष तथा फिलिपिन्सका पूर्वसभामुख डी भेनेसिया (पहिलो लहरमा बायाँबाट चौथो), युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष थोमस वाल्स (सोही लहरमा बायाँबाट दोस्रो) र अन्य विदेशी नेताका साथ प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल । गत जुलाईमा भएको यही भेलाले नेपालमा मंसिर १४ देखि १७ सम्म एसिया प्यासिफिक समिट गर्ने निर्णय गरेको थियो । तस्बिर : एसिया प्यासिफिक समिट डट ओआरजी 

Yamaha

राष्ट्रपति, सबै दलका नेता, प्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्च ओहदाका सरकारी अधिकारीलाई यूपीएफले विदेश घुमाउनुका साथै सम्मान र पुरस्कारका नाममा पैसा दिएर प्रभावमा पार्दै आएको देखिन्छ ।

कोरियाका इसाई धर्मगुरु सन म्युङ मुनले सन् २००५ मा स्थापना गरेको यूपीएफको नेपाल शाखाले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत ४ हजारभन्दा बढीलाई ‘शान्तिदूत’ भन्दै सम्मान गरिसकेको छ ।
यूपीएफ नेपालले सानाठूला सबै दलका नेतालाई सम्मान गर्ने र विदेश घुमाउने काम गर्‍यो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई यो संस्थाले सबैभन्दा बढी विदेश घुमाएको देखिन्छ । उनी युरोप र अमेरिका मात्रै होइन, उत्तर कोरियासमेत जान भ्याए । यसरी घुमाउन लगेबापत नेपालसँग यूपीएफ नेपालका अध्यक्ष एकनाथ ढकाल ज्यादै नजिकको सम्बन्ध बनाउन सफल भए । यही सम्बन्धलाई प्रयोग गर्दै प्रधानमन्त्री केपी ओलीसँग नजिक हुन पुगे । ओलीमार्फत राज्यका सबै निकायलाई उनले प्रयोग गर्ने आँट गरे ।

ढकालले ओलीको पत्र लिएर म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीदेखि कम्बोडियाका प्रधानमन्त्री हुन सेनसम्मलाई समिटमा आउन निम्तो दिए । निम्तो दिन जाँदा धेरै देशमा उनले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईलाई पनि साथै लगे ।

त्यसक्रममा फेसबुकमा पोस्ट गरिएका कतिपय तस्बिरको विरोध भएपछि अहिले उनले हटाएका छन् । यूपीएफको नेपालमा रहेको नक्सालस्थित कार्यालय गोप्य ढंगले चल्दै आएको छ, जहाँ संस्थाको बोर्डसमेत छैन । प्रस्ट रूपमा चिनाउनुपर्ने कानुनी प्रावधान संस्थाले उल्लंघन गरेको छ ।

ढोकाछेउ सानो अक्षरमा ‘युनिफिकेसनिजम’ लेखिएको घरमा नेताहरू यूपीएफ कार्यालय भनेर धेरै पटक गएका छन्, जसलाई एकनाथ ढकाल र उनको टिमले ‘पिस एम्बेसी’ भनेर चिनाउँदै आएको छ । भवनभित्र जोकसैलाई पस्न अहिले कडिकडाउ गरिएको छ । कान्तिपुरकर्मी बुधबार पुग्दा बाहिरबाटै फर्काइयो । ‘यहाँ यसरी सोधखोज गर्दै पस्न मनाही छ,’ एक महिलाले भनिन्, ‘एक सातापछि फोन गरेर आउनु होला ।’

‘सामाजिक कामका लागि भनेर खोलिएको सार्वजनिक उद्देश्यको संस्थामा मिडियालाई रोकतोक किन ?’ भन्ने जिज्ञासामा उनले ‘एकनाथ सरलाई सोध्नु होला’ भन्ने जवाफ दिइन् । यूपीएफको कार्यालय भनिए पनि भवनभित्र युनिफिकेसन चर्च रहेको र इसाई धर्ममा मानिसलाई बदल्न विभिन्न रणनीति बनाइने गरेको संस्थासँग नजिकका केही व्यक्तिले जानकारी दिए ।

‘सम्पूर्ण नेपालमा हाम्रो राज गर्न‘पर्छ भन्ने छलफल यहाँ बारम्बार भएको मैले आफैंले सुनेको छु,’ यूपीएफबाट अहिले अलग भइसकेका ती व्यक्तिले भने, ‘सुरुमा शान्तिको विषयले प्रभावित भएको थिएँ, पछि बुझ्दै जाँदा यो त चर्च पो रहेछ, त्यसपछि अलग भएँ ।’

फादर मुनले बाइबलको सट्टा प्रचलनमा ल्याएको धार्मिक पुस्तक ‘हुन दोक हे’ हरेक बिहान पाँच बजे पढ्नुपर्ने, आफ्नी पत्नीसँग सहवास गर्दा फादर मुनको तस्बिर अघिल्तिर राख्नुपर्ने, जति सन्तान जन्मिए पनि नियोजनका साधन प्रयोग गर्न नपाइनेजस्ता कुरा गरिने उनले बताए । ‘फादर मुनले आफूलाई ईश्वरका अवतार घोषणा गरी परिवारमार्फत संसारमा शान्ति ल्याउने अभियान सुरु गरेका हुन्,’ उनले भने, ‘यही अभियान सफल पार्न नेपालमा परिवार दलको स्थापना भएको हो ।’

परिवार दलको घोषणापत्रमा उल्लेख भएका विषयले पनि उनको दाबी पुष्टि गर्छ । ‘मूलत: विश्व प्रसिद्ध शान्तिनायक डा. सन म्युङ मुनको शान्ति देन हाम्रो प्रमुख विचारको स्रोत हुनेछ, तसर्थ हाम्रो दर्शनलाई मुनवाद पनि भन्न सकिन्छ,’ उक्त दलको दोस्रो महाधिवेशनका बेला २०७३ असार २१ मा अध्यक्ष ढकालले पेस गरेको राजनीतिक प्रतिवेदनको पृष्ठ ४५ मा उल्लेख छ, ‘यो नयाँ विचार भएकाले सम्पूर्ण कार्यकर्ता यथाशीघ्र प्रशिक्षित भई तमाम नेपालीबीचमा यो दर्शन फैलाउनु हाम्रो साझा दायित्व हुनेछ ।’

पार्टीको सबै खर्च यूपीएफ केन्द्रीय कार्यालयले व्यहोर्दै आएको छ । दुई वर्षअघि गरिएको उक्त साधारणसभाबारे यूपीएफ एसियाका शिक्षा निर्देशक डा. रोबर्ट किट्टेलले यूपीएफको अन्तर्राष्ट्रिय मुख्यालयमा बुझाएको प्रतिवेदनमा नेपालका प्रधानमन्त्रीलाई बोलाउन सफल भएकामा आफूहरू आश्चर्यमा परेको उल्लेख छ ।

त्यतिबेला पनि रूपान्तरित संसद्बाट गठन भएको सरकारका प्रधानमन्त्री ओली नै थिए । ‘प्रधानमन्त्री ओलीले मुख्य अतिथिका रूपमा कार्यक्रममा सहभागिता जनाए, यस्तो कार्यक्रममा प्रधानमन्त्री आउलान् र बसिरहलान् भन्ने लागेकै थिएन,’ नेपालको शान्ति प्रक्रियामा यूपीएफले पुर्‍याएको योगदानबारे सन् २०१० मा पुस्तकसमेत लेखेका रोबर्टको प्रतिवेदनमा भनिएको छ, ‘जब प्रधानमन्त्री हलमा आए, हामी चकित भयौं र अन्तर्राष्ट्रिय अतिथि, खासगरी भारतीयहरू पूर्णरूपमा चकित भए ।’ ‘मलाई पनि सन् २००६ मै फिलिपिन्स लगेर शान्तिदूत घोषणा गर्न लागेका थिए,’ कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा भन्छन्, ‘कस्तो संस्था रहेछ भनेर बुझदै जाँदा केही विवादास्पद तथ्य खुल्न आएकाले म गइनँ ।’

‘यूपीएफले यसअघि पनि थुप्रै कार्यक्रम गरेर नेताहरूलाई संसार घुमाउने काम गर्‍यो, त्यही सम्बन्धलाई प्रयोग गरेर अहिले सरकारलाई नै आयोजक बनाई उसले आफ्नो अभीष्ट पूरा गरेको छ,’ थापा भन्छन् ।
यूपीएफले एसियाली दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) गठन गरी आर्थिक सहयोगसमेत गर्दै आएको देखिन्छ । आईक्यापको स्थापना फिलिपिन्सका पूर्वसभामुख तथा फादर मुन र उनकी पत्नी हक जा हानका चेला जोसे डे भेनिसियाले गरेका हुन् ।

सन् २००० देखि आईक्यापको संस्थापक अध्यक्ष भएका उनी केन्द्रीय समितिको सहअध्यक्ष छन् । तत्कालीन एमालेका विदेश विभाग प्रमुख माधवकुमार नेपालले नेपालमा यसको शाखा खोलेका थिए, जसको कार्यालय युनिफिकेसन चर्च नै हो । ‘एसियाका दलहरूलाई एक मञ्च प्राप्त भयो भनेर नेताहरू पछि लागे,’ थापा भन्छन्, ‘यूपीएफ भने यसमाथि लगानी गरेर प्रभाव बढाउन सफल भयो ।’

गत अक्टोबरमा रसियामा भएको आईक्यापको १०औं साधारणसभामा सम्मेलन नेपालमा गर्नेबारे कुनै निर्णयसमेत भएको थिएन । भेनेसियाले गत जुलाईमै नेपाल आएर नेताहरूलाई भेटी एसिया प्यासिफिक समिटका लागि मनाउने काम गरेको परराष्ट्रका एक अधिकारीले बताए । त्यसक्रममा भारतीय जनता पार्टीका नेता विजय जोली र यूपीएफका वर्तमान अध्यक्ष थोमस वाल्स पनि आएका थिए ।

प्रकाशित : मंसिर २०, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बालयौन दुराचार गर्ने डच नागरिकलाई सात वर्ष कैद

जनकराज सापकोटा

काठमाडौँ — बालयौन दुराचार अभियोगमा एक डच नागरिकलाई नेपालको अदालतले ७ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । ठमेलको एक होटलबाट असार पहिलो साता बालकसहित पक्राउ परेका पिट हयान भान तेरविस्गालाई जिल्ला अदालत काठमाडौंले सजाय दिएको हो ।

प्रतिकात्मक तस्बिर

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पढाइमा सहयोग गर्ने बहानामा पिटले करिब तीन वर्षसम्म ती बालकमाथि यौन दुराचार गरेका थिए ।

ब्युरोले सरकारी वकिलको कार्यालयमार्फत असार २५ गते पिटविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । पक्राउलगत्तै नेदरल्यान्डमा रहेकी पिटकी दिदीले पीडित परिवारलाई मुद्दा फिर्ता लिन भन्दै आर्थिक प्रलोभन देखाएकी थिइन् । स्रोतका अनुसार मुद्दा प्रभावित पार्न खोजेको आरोपमा पिटकी दिदीलाई ब्युरोको आग्रहमा डच प्रहरीले पक्राउ गरेको थियो । डच प्रहरीले पिटको घरमा छापासमेत मारेको थियो । उनको घरमा भेटिएका ल्यापटप र हार्ड डिस्कमा बच्चाहरूको अश्लील तस्बिर र भिडियो भेटिएका थिए । डच प्रहरीले पिटमाथि गरेको अनुसन्धानको फाइल र घरमा भेटिएका सामग्री नेपालमै आएर ब्युरोलाई उपलब्ध गराएको थियो । ती दृश्य सामग्री र अनुसन्धान प्रतिवेदन पनि मुद्दा सुनवाइका क्रममा ब्युरोले सहायक प्रमाणका रूपमा अदालतमा पेस गरेको थियो ।

‘अदालतको फैसलाले बालयौन दुराचारी नेपाल प्रहरीको निगरानीमा छन र उनीहरू सजायको भागिदार बन्छन् भन्ने सन्देश दिएको छ,’ ब्युरोका डीएसपी कोविद कटुवालले भने । पिटका तर्फबाट मुद्दा लडेका अधिवक्ता नानीबाबु खत्रीले फैसलाविरुद्ध उच्च अदालत जाने बताए ।

न्यायाधीश भरत लम्सालको एकल इजलासले पिटविरुद्ध प्रहरीले उपलब्ध गराएको प्रमाणका आधारमा उनलाई दोषी ठहर गरेको हो । मनोचिकित्सकसमेत रहेका पिट पछिल्ला पाँच वर्षयता पर्यटकका रूपमा निरन्तर नेपाल आउने/जान गरिरहेका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार आर्थिक सहयोग गर्ने नाममा गरिब र विपन्न परिवारका बालबालिकासँग सम्बन्ध बनाउने पिट त्यसै आधारमा उनीहरूमाथि यौनजन्य शोषण गर्दै आइरहेका थिए ।

बालयौन दुराचार आरोपमै पक्राउ परेका दुई फ्रेन्च नागरिक ४२ वर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ वर्षीय डेनिस म्याथु मिचेर चाउपको मुद्दा पनि काठमाडौं जिल्ला अदालतमै विचाराधीन छ । ब्युरोका अनुसार उनीहरूले आफ्नो कोठामा १० देखि १४ वर्ष उमेर समूहका बालकलाई बोलाउने र उनीहरूसँग यौन गतिविधि गर्दै आएका थिए । फुटबल, चकलेट, फुटबल ड्रेस र पैसा दिएर फकाउने गरेका थिए । फ्रान्स भाग्न आँटेका उनीहरू विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रकाशित : मंसिर १९, २०७५ २१:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT