कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

दिल्लीको आश्रमबाटै हराए ८ नेपाली महिला

शनिबारदेखि बेपत्ता उनीहरूलाई एक वर्षअघि जीबी मार्केटबाट उद्धार गरिएको थियो

नयाँदिल्ली — नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम (सेल्टर होम) बाट शनिबार मध्यरातिदेखि हराइरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ ।

उनीहरू गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए । स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक वर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरूलाई त्यसअघि द्वारकास्थित अर्को आश्रयस्थलमा

राखिएको थियो ।


नेपाली महिलासँगै बेपत्ता भएकी बिहारकी एक बालिकाको अवस्था पनि अज्ञात छ । आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए । चौबीसै घण्टा सीसीटीभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाइएको ठाउँबाट महिला बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ । प्रहरीले घटना सार्वजनिक भएलगत्तै आश्रम सञ्चालकविरुद्ध उजुरी दर्ता गरेको छ ।


भारतीय सञ्चारमाध्यमका अनुसार उक्त आश्रमबाट दुई वर्षअघि पनि पाँच महिला बेपत्ता भएका थिए । घटना सार्वजनिक भएपछि दिल्ली महिला आयोग अध्यक्ष स्वाती मालिवाल नेतृत्वको टोली आश्रम पुगेको थियो । त्यसलगत्तै आयोगले त्यहाँको व्यवस्थापन अत्यन्त खराब रहेको तथा राखिएका बालिका र महिलालाई खाने, बस्नेलगायत सुविधा कमजोर रहेको भन्दै कारबाही गर्न माग गरेको थियो ।


त्यसपछि उपमुख्यमन्त्री मनीष सिसोडियाले दोषी अधिकारीलाई कारबाही गर्न मुख्यसचिवलाई निर्देशनसमेत दिइसकेका छन् । लगत्तै दिल्ली सरकारले स्थानीय महिला एवं बाल विकास विभाग (डब्लूसीडी) का जिल्ला प्रमुख र केन्द्र सञ्चालकलाई निलम्बन गरेको छ ।


बेपत्ता महिलाका सम्बन्धमा स्थानीय प्रहरीबाट औपचारिक जानकारी आएको दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मीले बताए । ‘प्रहरीबाट औपचारिक जानकारी प्राप्त पाएको छ, यस सम्बन्धमा भारतको परराष्ट्र मन्त्रालयलाई पनि जानकारी गराइसकिएको छ,’ रेग्मीले भने । रेग्मीका अनुसार ती महिलालाई नेपाल पठाउने सम्बन्धमा प्रक्रिया सुरु भइसकेको थियो । ‘नेपाल फर्काउनका लागि उनीहरूको विवरण प्रमाणित गर्नेलगायत प्रक्रिया सुरु भइसकेको थियो तर यस्तो घटना भयो,’ उनले भने ।

प्रकाशित : मंसिर २०, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?