१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महन्त दासलाई जनकपुर ल्याइयो, साढे दुई बिघा जग्गाको नक्कली लालपुर्जा बनाएको आरोप

श्यामसुन्दर शशि

जनकपुर — सरकारी कागज किर्ते तथा ठगी मुद्दा अनुसन्धानक्रममा बुधबार साँझ काठमाडौंबाट पक्राउ परेका रत्नसागर मठका महन्त बैकुण्ठदास वैष्णवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

महन्त दासलाई जनकपुर ल्याइयो, साढे दुई बिघा जग्गाको नक्कली लालपुर्जा बनाएको आरोप

बागबजारको होटल तिरुपतिबाट पक्राउ परेका उनलाई बिहीबार दिउँसो हवाईजहाजबाट जनकपुर ल्याइएको थियो । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार अपराध अनुसन्धान महाशाखाको सहयोगमा उनलाई पक्राउ गरिएको हो । महन्त दासका नाममा जिल्ला अदालत धनुषाले गत बुधबारै पक्राउ पुर्जी जारी गरे पनि उनी लुकीछिपी बस्दै आएका थिए । सोही मुद्दाका अर्का आरोपी रत्नसागर मठका पुजारी अशोक शर्मा भने दुई सातादेखि थुनामा छन् ।


महन्तमाथि संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस जनक हजारी विद्यापीठको भोगचलनमा रहेको अढाई अर्बभन्दा बढी मूूल्य पर्ने साढे दुई बिघा जग्गाको नक्कली लालपुर्जा बनाएको आरोप छ । उपरीक्षक थपलियाले उनीमाथि सरकारी कागज किर्ते तथा ठगी मुद्दा चलाउने तयारी भइरहेको बताए । मुद्दा प्रमाणित भए उनलाई जग्गाको प्रचलित मूल्य बराबरको बिगो तथा जेलसजाय दुवै हुन सक्ने थपलियाले जानकारी दिए ।


२०५० सालदेखि क्याम्पसको भोगचलनमा रहेको जनकपुर ८ स्थित सिट नम्बर १३५४र१४ को कित्तानम्बर ६२ को २ कट्ठा ११ धुर तथा सिट नम्बर १३५४र१५ को कित्ता नम्बर १, २, २८ तथा ४९ को २ बिघा ८ कट्ठा १४ धुर जग्गा किर्ते लालपुर्जा बनाई बिक्रीवितरण गर्न खोजिएको भन्दै वजनक हजारी विद्यापीठका प्राचार्य विजय चौधरीले महन्त बैकुण्ठदास र पुजारी अशोक शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।


साबिक नापीमा गुठी संस्थान अधीनस्थ बराही कुटीका नाममा रहेको उक्त जग्गासँगै सडकपश्चिमको समेत गरी कुल ६ बिघा ३ कट्ठा ५ धुर जग्गा २०५० साल जेठ १३ को मन्त्रिपरिषद् निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले हजारी जनक विद्यापीठलाई भोगचलन गर्न उपलब्ध गराएको अभिलेख छ । किर्ते लालपुर्जामा रत्नसागर मठका महन्थ बैकुण्ठदास वैष्णवलाई संरक्षक तथा सोही मन्दिरका पुजारी अशोक शर्मालाई मोही कायम गरिएको छ ।

२०६८ सालमा पनि रत्नसागर मठका महन्थ बैकुण्ठदास वैष्णवले गुठी कार्यालयका तत्कालीन प्रमुख राजाबाबु पाण्डे तथा मालपोत कार्यालयको मिलोमतोमा उक्त जग्गा आफ्नो मठका नाममा लालपुर्जा बनाएका थिए तर त्यतिबेला विद्यापीठ प्रशासन तथा नागरिक समाजको पहलमा फर्जी लालपुर्जा बदर गराइएको थियो । मालपोत कार्यालय धनुषाले २०६९ साल असोज २४ गते टिप्पणी आदेशमार्फत रत्नसागर मठका नाममा जारी लालपुर्जा खारेज गरेको थियो ।

प्रकाशित : मंसिर २०, २०७५ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?