‘मिडियाले प्रधानमन्त्रीको खेदो खने’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओलीको सहभागिता र अभिव्यक्तिलाई मिडियाले तोडमोड गरेको आरोप लगाएका छन् ।

यस्ता समिटमा विगतमा तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलगायत पनि सहभागी भएको जनाउँदै उनले मिडियाले अहिले ओलीविरुद्ध मात्र खोइरो खनेको बताए ।

Yamaha

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले मिडिया जवाफदेही हुन नसकेको दाबी गरे । सग्लो व्यक्तिलाई क्षतविक्षत बनाएर सूर्यलाई हत्केलाले छेक्ने कोसिस गरिएको प्रतिक्रिया दिएका बाँस्कोटाले त्यसको जवाफदेहिता मिडियाले लिनुपर्छ कि पर्दैन भनी प्रश्न गरेका थिए । ‘यो त भक्तमान र दिलशोभा प्रकरणजस्तै भयो,’ उनले भने, ‘आक्षेप जे पनि लगाइदिएको छ । जवाफदेहिता लिइएको छैन । ती दुई प्रकरण अन्त्यमा पुष्टि भएनन् नि ।’

उनले प्रधानमन्त्री ओली र सरकारमाथि मिडियाले जे पनि आक्षेप लगाउने गरेको बताए । समिटमा प्रधानमन्त्रीले सभ्यता, एसियाली पूर्वीय दर्शन, मुलुकले प्राप्त गरेका शान्ति उपलब्धिको सन्देश बाँडे पनि मिडियाले त्यसलाई ओझेल पारेको उनको आरोप छ ।

‘प्रधानमन्त्रीज्यूले कुनै धर्मको आसक्ति र घृणा गर्नुभएको छैन,’ उनले भने, ‘बुद्ध धर्मको चर्चा भएको छ । हिन्दु धर्मको पनि कुरा भएको छ । त्यो नलेखेर किन खेदो र खोइरो खनिएको हो, बुझ्न सकिएन ।’ समिटमा मन्त्री बाँस्कोटा भने सहभागी थिएनन् ।

प्रकाशित : मंसिर २०, २०७५ २०:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कार्यालय भवन शिलान्यास, लागत ४ करोड ५५ लाख ६७ हजार

कान्तिपुर संवाददाता

नुवाकोट — शिवपुरी गाउँपालिकाको कार्यालय भवनको शिलान्यास गरिएको छ । जिल्लाको १२ वटा स्थानीय तहमध्ये भवन शिलान्यास गर्ने यो पहिलो गाउँपालिका भएको छ ।



शिवपुरी गाउँपालिकाले बुधबार वडा नम्बर ५ स्थित शेराबगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत र अर्का केन्द्रीय सदस्य तथा पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संयुक्तरूपमा शिलान्यास गरे। भवनको लागत ४ करोड ५५ लाख ६७ हजार २ सय ७३ रुपैयाँ छ।

सुविधा सम्पन्न तीनतल्ले भवनमा २९ कोठे भवन निर्माण हुने गाउँपालिका प्रमुख रामकृष्ण थापाले बताए। एक वर्षभित्रमा भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्माण व्यवसायी किरातेश्वर कन्ट्रक्सनले जनाएको छ।

गाउँपालिकालाई जग्गा प्रदान गर्ने दिनेश महत, नरेश महतलगायत जग्गादातालाई सम्मान गरिएको थियो। शिवपुरी गाउँपालिकाको भवन अहिले भाडामा छ।

प्रकाशित : मंसिर २०, २०७५ २०:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT