१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विकासले छेक्यो सम्बन्ध

जयबहादुर रोकाया

हुम्ला — चीनसँग सीमा जोडिएको लिमीमा बौद्ध धर्मालम्बीको बसोबास छ । चिनियाँ व्यापारिक केन्द्र तिब्बतका बासिन्दासँग उनीहरूको धर्म, भाषा, रहनसहन, वेशभूषालगायत जन्मदेखि मृत्युसम्मको संस्कार र संस्कृति मिल्छ ।

भौगोलिक अवस्था, व्यवसाय र खानपिनमा पनि समानता छ तर दुईबीच विकासले अझै सम्बन्ध जोड्न सकेको छैन ।


हुम्लामा हिमालपारिको बस्ती मानिने लिमीमा ३ गाउँ छन् । स्थानीय कोजुकओबजाङ तामाङका अनुसार सीमापारि चीनका बासिन्दा सुखी छन् । खान र लाउन पुगेको छ । सरकारले सुविधा दिएर सहयोग गरेकाले बेरोजगार अधिकांश रोजगारीमा छन् ।


तर लिमीका बासिन्दालाई दैनिक उपभोग्य सामग्री, खाद्यान्न, रोजगारीलगायतको जोहो तिब्बतबाटै गर्नुपर्ने बाध्यता रहेको उनले बताए । विकासमा समानता नहुँदा दुई छिमेकका बासिन्दाबीच सम्बन्ध गाँसिन नसकेको उनले बताए । विकासले नै दुवै देशका बासिन्दाको सम्बन्ध छेकेको छ ।


लिमी उपत्यकालाई नेपालतर्फका पहाडले छेकेको हुँदा स्थानीयका लागि सबैभन्दा नजिकको बस्ती तिब्बत हो । आफ्नै गाउँपालिकाको केन्द्र पुग्न झन्डै ५ हजार मिटर उचाइको लेक पार गरी एकतर्फी तीनदेखि ४ दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । लिमीमा तिल, हल्जी र जाङ गरी ३ बस्ती छन् ।


साबिक गाविसका ३ बस्तीलाई नाम्खा गाउँपालिकाको ६ नम्बर वडा बनाइएको छ । तिब्बतले विकासमा निकै फड्को मारेको अवस्थामा लिमीका बासिन्दा न्यूनतम आधारभूत आवश्यकताबाट वञ्चित छन् । दुई छिमेकीबीच विकासको ठूलो असमानता र अन्तर छ ।


४ दशकअघिसम्म वैवाहिक सम्बन्ध भए पनि विकासमा निकै असमानता भएकाले आजभोलि सम्बन्ध बन्न नसकेको स्थानीय अगुवाको बुझाइ छ । विगत वर्षमा घर नभएका र भेडाबाख्रा पालेर जीवन निर्वाह गर्ने डुलुवा छोवो जाति पनि सम्पन्न बनेका छन् । तिब्बतीसँग टयाक्टर, मोटरसाइकललगायत सवारीसाधन छन् । नेपालतर्फ भने तिब्बतको सीमादेखि नै भारी बोकेर सामान ढुवानी गर्नुपर्ने बाध्यता छ ।


‘हामी उस्ताका उस्तै छौं, हाम्रो अवस्थामा कुनै सुधार आएको छैन,’ जाङ गाउँका तामाङले भने, ‘तिब्बतमा डुलुवासमेत सुखी भइसके हाम्रो अवस्था झन् खस्किँदै गएको छ ।’ उनका अनुसार तिब्बतीले आफ्नो आँगनसम्मै गाडी गुडाउने गरेका छन् । खेतीयोग्य जमिन नभएको गाउँमा सरकारी सहुलियतमा सहज तरिकाले खाद्यान्न प्राप्त गर्ने व्यवस्था रहेको उनको भनाइ छ ।


उनका अनुसार तिब्बततर्फ सबैले रोजगार पाएका छन् । ‘चीनमा शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिएको छ । नेपालमा ठीक उल्टो छ,’ उनले भने । हिउँदको ६ महिना हिमपातका कारण लिमीमा आसपासका गाउँसँग सम्बन्ध टुट्छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?