कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आकर्षण थप्न बुद्धमूर्ति

मनोज पौडेल

कपिलवस्तु — विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताललाई थप आकर्षित बनाउन मध्यभागमा बुद्धको प्रतिमा राखिने भएको छ ।

आकर्षण थप्न बुद्धमूर्ति

चराको बासस्थानमा बुद्धको आध्यात्मिक महिमा बढाउन मूर्तिले सहयोग पुर्‍याउने हुँदा त्यसो गर्न लागिएको उनीहरूले बताए । स्थानीयको आयआर्जन, रोजगारी एवं शान्तिको खोजी गर्नेका लागि यसो गर्न लागिएको कपिलवस्तु नगरपालिका ९ का वडाध्यक्ष शिवबहादुर वाग्लेले बताए । ‘सिमसार क्षेत्रमा सूचीकृत ठाउँमा केही गर्नै हुन्न भने मान्यताले जगदीशपुर पछि पर्‍यो,’ उनले भने ।


तालको बीचमा बुद्धमूर्ति राख्न भौतिक संरचना निर्माण पूरा भएको छ । जगदीशपुर ताल व्यवस्थापन बहुसरोकार मञ्चले ताल विकास र पर्यटकीय आकर्षण थप्न बुद्धमूर्ति राख्न थालिएको बतायो । मूर्तिका लागि तालको मध्यभागमा ७० फिट गोलाइ माटोको ढिस्को गत जेठमा बनाइएको थियो ।


ढिस्कोलाई चारैतिरबाट १५ फिट उचाइले ढलान गरी मजबुत बनाएको स्थानीयले बताए । ढिस्को जमिनको सतहदेखि १० फिट अग्लो छ । त्यसमा उक्लिन उत्तर र दक्षिणबाट पक्की सिँढी बनाइएको छ । मूर्ति राखिएपछि डुंगाबाट बीचमा रहेको ढिस्कोसम्म आवतजावत गर्न सकिनेछ ।


तालका चरालाई कुनै असर नपुर्‍याउने गरी बुद्धमूर्ति राख्न लागिएको मञ्चका सदस्य ललित गुरुङले बताए । ‘बीच भागमा मूर्ति राख्नासाथ आकर्षण थपिन्छ,’ उनले भने, ‘त्यसपछि पर्यटकको आगमन बढेर अझ राम्रो हुन्छ ।’ चरा असुरक्षित हुन्छन् भन्ने हल्ला मात्र भएको उनले दाबी गरे ।


पर्यटकीय आकर्षण थप्न तालमा कपिलवस्तु नगरपालिका ९ र १० ले संयुक्त रूपमा ६ डुंगा सञ्चालनमा ल्याएका छन् । दुवै वडाले १० लाख रुपैयाँमा डुंगा खरिद गरेका हुन् । गत असोज २२ बाट चलाइएका डुंगामा रमाउने पर्यटक बढेका छन् । डुंगा शयर गर्दै चरासँग रमाउन धेरै स्वदेशी पर्यटक दिनहँु आउने गरेका छन् । ‘चरा र जैविक विविधतालाई असर पुर्‍याएकै छैनौं,’ डुंगा सञ्चालक मनोज परियारले भने, ‘हल्ला मात्र बढी हो ।’


‘ठूलो कुरा चरा हो,’ मञ्चका सदस्य अब्दुलरसिद खाँले भने, ‘त्यसकारण मूर्ति राख्ने विषयमा बहस गर्नु जरुरी छैन ।’ संरक्षणकर्मीको सुझावलाई ध्यान दिनुपर्ने र सिमसार क्षेत्रको बुद्धिमत्तापूर्ण उपयोग गर्न सक्नु ठूलो उपलब्धि हुने उनले बताए । यो ताल सन् २००३ मा विश्व सिमसारमा सूचीकृत भएको थियो । जैविक विविधता, सिमसार र चराका कारण महत्त्वपूर्ण मानिएकाले स्वीट्जरल्यान्डमा रहेको रामसार सचिवालयले सूचीकृत गरेको थियो । पानी चरा खासगरी जाडो छल्न हिउँदयाममा यहाँ आउँछन् ।


खासगरी साइबेरिया, रुस, चीन, मंगोलिया, मध्यएसियाका तुर्कमिनिस्तान र किर्गिस्तानलगायतबाट चरा यहाँ आउने गर्छन् । प्रत्येक वर्ष संख्या बढ्नुले तराईमा जगदीशपुर उपयुक्त बासस्थल बनेको थियो । १ सय ५७ हेक्टरमा फैलिएको तालमा विगत ५ वर्षदेखि चरा आवागमन बढ्दै आएको छ । कृत्रिम रूपमा बनेको मुलुकको सबैभन्दा ठूलो यस तालमा १ सय ६७ प्रजातिका चरा पाइने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले जनाएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?