१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ओलीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएको छ । केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति संविधानको भावना र मर्मविपरीत रहेको उल्लेख गरेको छ । 

ओलीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

‘एक आईएनजीओको कार्यक्रममा सरकारको विवादास्पद सहआयोजन एवं प्रधानमन्त्रीले पुरस्कार ग्रहण गरेको विवादास्पद सन्दर्भप्रति सार्वजनिक रूपमा उठेको प्रश्नमा ‘आफूले जवाफ दिए बुद्धिजीवी थला पर्ने’ भनी प्रमले प्रयोग गर्नुभएको वाक्यांश र चेतावनीशैलीको अभिव्यक्ति, अधिकार कुण्ठित गर्ने ढंगले राख्नुभएका शब्दहरू संविधानको धारा १७ को उपधारा २ (क) ले निर्दिष्ट गरेको भावना र मर्मको विरुद्धमा छ,’ पार्टीले भनेको छ । कांग्रेसले प्रधानमन्त्रीलाई पदीय गरिमाको हेक्का राख्न सुझाएको छ ।


बैठकले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्बिर अंकित पोस्टर प्रहरी लगाई च्यातिएको घटनाको पनि भत्र्सना गरेको छ । ‘कांग्रेस बैठक उक्त घटनालाई बिनाहातहतियार शान्तिपूर्ण भेला र प्रदर्शन गर्न सक्ने संविधानप्रदत्त अधिकारमाथिको हस्तक्षेप ठहर गर्दछ,’ बैठकको निर्णय छ । प्रधानमन्त्रीको तस्बिर सहरमा सजाउन मिल्ने तर न्यायको माग गर्दै एक बालिकाको तस्बिर टाँग्दा च्यातिने र टाँग्नेहरू पक्राउ पर्ने घटना आपत्तिजनक रहेको कांग्रेसको भनाइ छ ।


बैठकले न्यायको आवाज र विरोधको स्वर सुन्नै नचाहने प्रवृत्ति अन्त्य गर्न र यथाशीघ्र दोषीलाई कारबाहीको कठघरामा ल्याउन माग गरेको छ । ‘निर्मलालाई न्याय दिलाउँदै समग्र नेपाली महिलाको अस्मिता रक्षा गर्ने प्रश्नमा सरकार असफल रहने हो भने नेपाली कांग्रेसले यही मुद्दालाई लिएर कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्नेछ,’ कांग्रेसले चेतावनी दिएको छ ।


यो पनि पढ्नुहोस् ।

प्रकाशित : मंसिर २१, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?