१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रोहित इन्डोनेसियामा सर्वोत्कृष्ट

राजु घिसिङ

काठमाडौँ — नेपाली मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको माथिल्लो डिभिजन फुटबल प्रतियोगिता ‘लिग वान’ मा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

रोहित इन्डोनेसियामा सर्वोत्कृष्ट

उनको क्लब पर्सिजा जकार्ता लिग च्याम्पियन भएसँगै आइतबार जकार्तामा रोहितले लिगकै सर्वोत्कृष्ट खेलाडीको ‘गोल्डेन बल’ पुरस्कार पाएका हुन् । प्रतिष्ठित लिगमा यस्तो अवार्ड जित्ने उनी पहिलो नेपाली हुन् ।


पूरै सिजन उत्कृष्ट प्रदर्शन गरेका २६ वर्षीय रोहितले पर्सिजालाई १७ वर्षपछि लिग च्याम्पियन बन्न मुख्य भूमिका निर्वाह गरेका थिए । विदेशी लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिने पहिलो नेपाली फुटबलर बनेका रोहित ‘भर्सटाइल’ खेलाडी हुन् । उनले सर्वोत्कृष्ट खेलाडीको १५ करोड इन्डोनेसियन रुपियाँ (१२ लाख रुपैयाँ) पाउनेछन् ।


उनले यो सिजनमा ३ गोल र ५ एसिस्ट मात्र गरे पनि विशेषत: मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरे । सेन्ट्रल मिडफिल्ड, राइट र लेफ्ट सबै पोजिसनमा उनको प्रदर्शन उत्कृष्ट रह्यो ।


एएफसी कप २०१८ मा पर्सिजालाई नकआउट चरणमा पुर्‍याउन निर्णायक भूमिका निर्वाह गरेका रोहितले आठ महिनाअघि ‘यो सिजन क्लबको योजना लिगको शीर्ष चारमा रहने’ बताएका थिए । ‘उत्कृष्ट खेलाडी, ठूलो लगानीका क्लब र उस्तै समर्थक भएकाले इन्डोनेसियाको लिग जित्न सजिलो छैन, त्यसैले शीर्ष चारमा रहने क्लबको लक्ष्य हो,’ उनले वैशाखमा जकार्तामा भनेका थिए, ‘उपाधि नै जित्न सक्यौं भने हाम्रो लागि त्यो ठूलो उपलब्धि हुनेछ ।’ भयो त्यस्तै ।


रोमाञ्चक प्रतिस्पर्धापछि उनको क्लब लिग च्याम्पियन बनेको हो । एन्फा एकेडेमीमा डिफेन्सका रूपमा फुटबल सिक्न थालेका रोहितले लिग वानमा यो सिजन मैदानमा पुलको भूमिका निर्वाह गरे, जसले पर्सिजालाई आक्रामक र बलियो बनाएको थियो ।


इन्डोनेसियन लिगको तथ्यांकअनुसार उनको पासको निश्चितता ९५ प्रतिशत रह्यो । उनीसँगै नेदरल्यान्ड्सका विलेन जान प्लुइम (पीएसएम माकासार), ब्राजिलका डेविड अपारेसियो डा सिल्भा (पर्सेबाया सुरवाय) सर्वोत्कृष्ट खेलाडीको सूचीमा परेका थिए ।


टवीटरमा २७ लाख, इन्स्टाग्राममा १० लाख र फेसबुकमा आठ लाख बढी फलोअर्स रहेको क्लब पर्सिजाले लिगको अन्तिम खेलमा आइतबार जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा ८० हजार दर्शकसामु मित्र कुकरलाई २–१ ले हराएर ११ औंपल्ट उपाधि जितेको हो ।


नौ महिना चलेको लिगमा रोहितले ३४ मध्ये ३२ खेल खेले । पर्सिजाले १८ जित, ८ बराबरी र ८ हारसहित ६२ अंक जोड्यो । दोस्रो स्थानमा रहेको पीएसएम माकासारले ६१ अंक बनायो । अन्तिम खेलमा पर्सिजा पराजित भएको भए पीएसएम च्याम्पियन हुने थियो ।


लिग च्याम्पियन भएसँगै पर्सिजा एसियाली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिग २०१९ छनोटमा पुगेको छ । लिगअघि पर्सिजाले प्रसिडेन्ट कपको उपाधि जित्दा पनि रोहितको प्रदर्शन उच्चस्तरको थियो ।


उनी सन् २०१२ यता इन्डोनेसियाको माथिल्लो डिभिजन लिग खेलिरहेका छन् । उनले स्पेनी ला लिगको क्लब एस्पानयोल र डच महारथी आयक्सविरुद्ध पनि खेलिसकेका छन् ।

प्रकाशित : मंसिर २४, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?