कर्मचारी समायोजन अध्यादेश : प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई सचिव बनाइँदै

अब्दुल्लाह मियाँ

काठमाडौँ — सरकारले अब प्रदेश मन्त्रालयका सचिवमा वरिष्ठ सहसचिव खटाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार जारी ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७५’ मा सचिव हुने सूचीमा रहेका वरिष्ठतम सहसचिवलाई कार्यसम्पादनको समेत मूल्यांकन गरी प्रदेश मन्त्रालयमा सचिव बनाउने व्यवस्था गरिएको हो ।

कर्मचारी समायोजन अध्यादेश : प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई सचिव बनाइँदै

अहिले सातै प्रदेशका मन्त्रालयमा कनिष्ठ सहसचिवलाई सचिवको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्रमुख सचिवमा भने विशिष्ट श्रेणी (सचिव/१३ औं तह) लाई नै खटाइनेछ ।

‘वरिष्ठ सहसचिव (१२ औं तह) लाई सचिव बनाएर खटाउने व्यवस्था अध्यादेशमा छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कान्तिपुरसित भने, ‘उहाँहरूको सुविधाचाहिँ विशिष्ट श्रेणीसरह हुने व्यवस्था छ ।’


लोकसेवा आयोगले भने अध्यादेशबारे सुझाव दिँदा ‘प्रदेशका मन्त्रालयहरूको सचिव पनि विशिष्ट श्रेणीबाट नै बनाउनु उपयुक्त हुने’ सुझाव दिएको थियो । त्यसो हुँदा प्रदेश र संघका कर्मचारीबीच भेदभाव नहुने आयोगको भनाइ थियो ।


अध्यादेश जारीसँगै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको बाटो खुलेको छ । मंसिर १७ को मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । कर्मचारी समायोजन छिटो टुंग्याउन सरकारले संसद् नभएको बेलामा अध्यादेश ल्याएको हो ।

अध्यादेशमा महानगरपालिकाहरूको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव (एघारौं तह) नै हुने उल्लेख छ । ११ औंदेखि माथिल्ला तहका कर्मचारीको खटनपटन संघ (केन्द्र) बाट नै हुनेछ । ज्येष्ठता, कार्यरत प्रदेश र स्थानीय तह, स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगानाका आधारमा कर्मचारी समायोजन गरिने अध्यादेशमा उल्लेख छ ।


जागिर अवधि दुई वर्ष मात्र बाँकी भएका निजामती कर्मचारीको भने समायोजन हुने छैन । अध्यादेशमा सम्भव भएसम्म पति–पत्नीलाई एकै ठाउँमा समायोजन गरिने उल्लेख छ ।


‘कर्मचारी समायोजनसम्बन्धी ऐन २०७४’ बाट कर्मचारी समायोजन सम्भव नभएपछि अध्यादेश ल्याएर प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया अघि बढाउन खोजिएको हो । निजामती सेवाका ८६ हजार र स्थानीय तहका २० हजार कर्मचारीमध्येबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुनेछन् ।


सचिव थपलियाले तीनदेखि सात दिनभित्र मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउने जानकारी दिए । ‘अध्यादेश राजपत्रमा जारी भएपछि समायोजनका लागि चारवटा सूचना निकालिनेछ,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुन सक्नेछन् ।’


विगतमा केन्द्रमा रहेका र अहिले खारेज भइसकेका सार्वजनिक संस्थान, समिति, आयोग र प्रतिष्ठानका कर्मचारीलाई स्थानीय तह र विगतमा जिविसमा रहेकालाई पनि नगरपालिका र गाउँपालिकामा खटाइनेछ । थपलियाका अनुसार जिल्ला समन्वय समितिमा पूरै कर्मचारी निजामती सेवाबाट खटाइने अध्यादेशमा व्यवस्था छ ।


अध्यादेशमा दुर्गमबापतको थप सुविधा र कार्यसम्पादन नम्बर अब जिल्ला नभई स्थानीय तहमा बसेका आधारमा दिइने व्यवस्था छ । सरकारले ७५३ वटा स्थानीय तहमध्ये कुन दुर्गम र कुन सुगम भनी

छुट्याएको छ ।


दुर्गममा बस्ने कर्मचारीलाई दुर्गम भत्ताका अतिरिक्त कार्यसम्पादनमा थप नम्बर दिने कानुनी व्यवस्था छ । विगतमा जिल्लालाई क, ख, ग र घ वर्गीकरण गरी दुर्गम नम्बर कायम गर्ने गरिएको थियो ।


समायोजनमा जान कर्मचारीले अनलाइनमार्फत फाराम भर्न सक्ने व्यवस्था मिलाइँदै छ । निजामती कर्मचारीलाई सहयोग गर्न ७७ वटै जिल्ला, सातवटै प्रदेश र मन्त्रालयहरूमा ‘हेल्प डेस्क’ खडा गरिनेछ । कर्मचारीले एक साताभित्रमा फारम भरिसक्नुपर्ने हुन्छ ।


खटाएको २१ दिनभित्र तोकिएको कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था गरिएको छ । तोकिएको म्यादभित्र हाजिर नहुने कर्मचारीलाई बर्खास्त गरिने व्यवस्था छ । त्यसअघि स्पष्टीकरणको मौका दिइनेछ ।


निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले सरोकारवाला निकायसित परामर्श नगरी जारी गरिएको भन्दै अध्यादेश कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।

प्रकाशित : मंसिर २४, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?