२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

गाउँ छाड्दै लिमीका बासिन्दा

जयबहादुर रोकाया

हुम्ला — चिसो बढेपछि हिमालपारिको बस्ती लिमीका बासिन्दाले गाउँ छाड्न थालेका छन् । उत्तरी चीन सीमा जोडिएको लिमीको तिल, हल्जी र जाङका बासिन्दा हिमपात छल्न बेंसी झरेका हुन् । हिउँ नपर्दै गाउँ छोडेका लिमीवासी वैशाखमा मात्र घर फर्कन्छन् ।

गाउँ छाड्दै लिमीका बासिन्दा

स्थानीयका अनुसार बौद्ध धर्मावलम्बीको मात्र बसोबास भएको लिमीमा खेतीयोग्य जमिन पनि न्यून छ । रोजगारको विकल्प नहुँदा यहाँका बासिन्दा हिउँदमा सहर जाने गरेका छन् । लिमीका अधिकांश बालबालिका काठमाडाैंका विद्यालयमा अध्ययन गर्छन् ।


कतिपय बालबालिकालाई भारत तथा नेपालका विभिन्न गुम्बामा धार्मिक शिक्षा दिइने गरिएको छ । हिउँदमा कुनै काम नहुने र हिमपातको समयमा घर बाहिर निक्लन नसकिने भएकाले आफ्ना बालबालिकासँग भेटघाट तथा बौद्ध गुम्बाको दर्शनका लागि लिमीवासी सहर झरेका हुन् । हिउँदमा गाउँमा वृद्ध र गुम्बाका पुजारी मात्र रहने गर्छन् ।


लिमीको हल्जी गाउँमा ८२, तिलगाउँमा २७ र जाङ गाउँमा ३७ घरधुरी छन् । नाम्खा गाउँपालिका ६, का वडाध्यक्ष पाल्ज्योर तामाङका अनुसार यस वर्ष हिउँ नपर्दै गाउँका आधाभन्दा बढीले गाउँ छाडिसकेका छन् ।


काठमाडौं जान ५ हजार मिटर उचाइको लेक पार गरी ४ दिन पैदल हिँडेर सिमकोट पुगेका तामाङले गाउँमा प्रतिघर १/२ जना मात्र बाँकी रहेको बताए । ‘हिउँदमा गाउँमा कुनै काम हुँदैन,’ उनले भने, ‘अब हामी आगामी वैशाख महिनामा मात्रै घर फर्कनेछौं ।’ जाङका ३० परिवारका सदस्यले गाउँ छोडेको उनको भनाइ छ ।


सिमकोट पुगेकी लिमीको तिलगाउँकी फुटी लामाले आफू बच्चा भेट्न र गुम्बाको दर्शन गर्न काठमाडौं जान लागेको बताइन् । गाउँबाट उनी ६ जनाको समूह बनाएर सिमकोट पुगेकी हुन् । ‘तिलगाउँका २७ घरधुरीले नै गाउँ छोडिसकेका छन्,’ उनले भनिन् ।


घर छाड्नुभन्दा पहिले घरमा बस्नेका लागि खाद्य सामग्री, मासु र दाउराको जोहो गरिन्छ । हिउँदमा हिउँ पर्दा घर पुरै हिउँले छोप्ने भएकाले दाउरासमेत घरभित्रै राख्ने गरिएको छ । घरमा रहेका पशु चौपाया पनि महिनौंसम्म गोठभित्रै थुनिन बाध्य हुने गर्छन् ।


गोठभित्र थुनिने पशुबस्तुका लागि घाँसको जोहो पनि घरभित्रै गर्नुपर्ने बाध्यता छ । सरकारी सुविधाविहीन यहाँका बासिन्दा चीनको तिब्बती बजारमा निर्भर छन् । हिउँदका लागि खाद्यसामग्री तथा लत्ताकपडा तिब्बती बजारबाटै खरिद गरी मौज्दात राख्ने गरिन्छ । हिउँदमा लिमीको प्रहरीचौकी पनि सदरमुकाम सार्ने गरिएको छ ।


स्थानीयलाई सदरमुकाम र आफ्नै गाउँपालिकाको केन्द्रसम्म आउजाउ गर्न पनि एकतर्फी ४ दिन पैदल हिँड्नुपर्ने र ५ हजार मिटर उचाइको लेक पार गर्नुपर्ने बाध्यता छ । भौगोलिक कठिनाइका कारण सानो कामका लागि स्थानीयले गाउँ छाड्दैनन् ।


लिमीका तीनवटै बस्तीमा १/१ ल्यान्डलाइन टेलिफोन सुविधा भए पनि मोबाइल नेटवर्कले काम गर्दैन । तीनवटै गाउँमा हुलाक छैन । हिउँ परेको समयमा ल्यान्डलाइन बन्द हुँदा सञ्चारविहीन हुनुपर्ने बाध्यता छ ।

प्रकाशित : मंसिर २४, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?