३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रहरी र भारतीय हतियारधारीबीच दोहोरो गोली हानाहानमा एकको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — भारतीय हतियारधारी र सीमा प्रहरीबीच दोहोरो गोलीहानाहान हुँदा पहिचान नखुलेका एक हतियारधारीको घट्नास्थलमै मृत्यु भएको छ । 

प्रहरी र भारतीय हतियारधारीबीच दोहोरो गोली हानाहानमा एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गबाट करिव ३ किलोमिटर दक्षीणमा पर्ने सुनसरीको कोशी गाउँपालिकास्थित मुसहरीटोल नजिकै भएको गोली हानाहानमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घट्ना आइतबार राति १० बजे भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयलकाअनुसार सीमा इलाका मुसहरी टोलमा शान्ति सुरक्षा र चोरी डकैती नियन्त्रणको लागी खटिएको प्रहरीलाई लक्षित गरेर गोली प्रहार भएपछि जवाफी फायरिङमा एकजनाको मत्यु भएको हो ।


‘प्रहरी अधिकृतसमेतको टोली गस्ति गर्दै जाँदा भारतीय नाकाबाट गोरेटो बाटो हुँदै चार/पाँचजना शंकास्पद व्यक्तिहरु आउँदै गरेको देखिएपछि प्रहरीले उनीहरुलाई रोक्न खोजे । तर उनीहरुले प्रहरीलाई लक्षित गरी एक्कासी गोली हाने पछि, आत्मरक्षाको लागि प्रहरी टोलीद्वारा जवाफी फायरिङ गर्नु परेको थियो,’ उनले भने । प्रहरीले जवाफी फयारिङ गर्नासाथ अन्य शंकास्पद व्यक्तिहरु भारतीय क्षेत्र तर्फ नै भागेका थिए ।


प्रहरीले घटनास्थलमा तत्काल खोजी तथा अनुसन्धान गर्दा गोली लोड भएको लामो व्यारेल भएको र छोटो व्यारेल भएको दुइथान कटुवा पेस्तोल, मृतकको पाईन्टको खल्तीबाट ५ वटा गोली समेत बरामद भएको बताएको छ ।


प्रहरीद्वारा जवाफी कारबाही गर्दा टाइप ५४ को ७ पोइन्ट ६२ पेस्तोलबाट ९ राउन्ड र टाइप सि एफ ९८ पेस्तोलबाट १ राउण्ड गरी जम्मा १० राउण्ड गोली फायर भएको थियो । घटनास्थलको प्रारम्भिक अनुसन्धान पछि पहिचान नखुलेका मृतकको शव पोष्टमार्टमको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।


प्रकाशित : मंसिर २४, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?