कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालको शौचालय सरसफाई गर्दै मन्त्री

सस्तो लोकप्रियताका लागि नभई सम्बन्धितलाई प्रोत्साहन गर्ने उद्देश्यले गरेको मन्त्रीको भनाई 
अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदी सोमबार बिहान प्रदेश स्वास्थ्य निर्देशकलाईसँगै लिएर एकाएक धनगढीस्थित सेती अञ्चल अस्पतालभित्रका शौचालयमा हेर्न पुगे । शौचालयहरुमा खुट्टै राख्न नसकिने अवस्थामा देखेपछि हातमा पोचा लिएर सरसफाई गर्न आफै अग्रसर भए ।  

अस्पतालको शौचालय सरसफाई गर्दै मन्त्री

प्रदेशको एकमात्रै ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती अस्पताल अत्यधिक दुर्गन्धित रहेको थाहा पाएका मन्त्री सुवेदीले दुर्गन्धित शौचालयको सरसफाई गर्न अस्पतालका सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे लगायत कर्मचारीलाई सरसफाईमा आवश्यक पर्ने पञ्जा, फिनायल, हार्पिक लगायतका सामग्रीहरु तत्काल झिकाएर सरसफाईमा जुटेका थिए ।


मन्त्री आफै पोचा लगाउन अग्रसर भएपछि अस्पतालका कर्मचारीहरुपनि पछि लाग्न बाध्य भएका थिए । ‘मन्त्री आफै शौचालय सरसफाईमा अग्रसर भएपछि कर्मचारीहरुपनि जुटे’ मन्त्रीसँगै रहेका सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भने, ‘यस अस्पतालमा तमाम समस्याहरुसँगै बढ्दै गएको दुर्गन्ध पनि मुख्य चुनौती भएको छ ।’ ्


शौचालयपछि मन्त्री सुवेदी अस्पताल हाताभित्र वारिपरिको सरसफाई अवस्था हेर्न एक चक्कर मारे । वरिपरिपनि त्यस्तै फोहर देखेपछि हातमा झाडू लिएर फोहर संकलन गरे । त्यस कार्यमा अस्पतालका कर्मचारीहरुले पनि साथ दिए ।


‘सस्तो लोकप्रियताका लागि नभई अस्पताल व्यवस्थापन तथा प्रशासनका कर्मचारीहरुलाई यहाँको सरसफाईमा प्रोत्साहित गराउने उद्देश्यले अग्रसर भएको हुँ’ मन्त्री सुवेदीले भने, ‘नियमित अनुगमन र सरसफाई गराउने कार्य गर्छौँ ।’


व्यवस्थापनको लापरबाहीले प्रदेशकै मुख्य केन्द्रका रुपमा रहेको सेती अञ्चल अस्पताललाई अस्पताल क्षेत्र जस्तो नभएर डम्पिङ साईट जस्तो देखिन थालेको उपचार गराउन आएका बिरामीका कुरुवाहरु बताउँछन् ।


‘अस्पताल भवनका कुनाकुनामा सुर्ती र गुट्का थुकेर दुर्गन्धित छ भने बाहिर वरिपरि उस्तै फोहर छ’ अत्तरियाका प्रेम खड्काले भने ‘मन्त्री आफै सरसफाईमा अग्रसर भएको देखेर खुसी लाग्यो । एक दिन मात्रै नभई नियमित अनुगमन तथा सरसफाई गर्नुपर्ने खाँचो छ ।’ अस्पातलबाट निस्किने फोहोर व्यवस्थापन नहुँदा महामारी फैलने खतरा त्यत्तिकै बढेको छ।

प्रकाशित : मंसिर २४, २०७५ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?