द्वन्द्व मच्चाउने र विखण्डन चाहनेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुनेछ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक नाममा द्वन्द्व मच्चाउने र विखण्डन चाहने विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।

द्वन्द्व मच्चाउने र विखण्डन चाहनेविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुनेछ : प्रधानमन्त्री

अन्तरप्रदेश परिषद्को बैठक समापन गर्दै उनले सोमबार नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा र तराईमा सक्रिय सीके राउतको समुहको नाम नलिइकनै उनले सरकार कडा रुपमा प्रस्तुत हुने बताएका हुन् । सीके राउत हाल पुर्पक्षको लागि थुनामा छन् ।


विप्लव समुहको नेकपाले थप क्रान्तिको आवश्यता रहेको भन्दै चन्दा उठाउने र बेला बेला नेपाल बन्द आयोजना गर्दै आएका छन् भने राउतले स्वतन्त्र मधेसको वकालत गर्दै आएका छन् ।


'देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अब चाहिएको कुन व्यवस्था हो? यही व्यवस्था भित्रबाट जे चाहिएको हो त्यही कुरा पाउन सकिन्छ' प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै उनको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, 'त्यसकारण अनेक नाममा बखेडा किन झिक्ने? यो त केवल चन्दा उठाउने र जनतालाई त्रसितपार्ने काम मात्र हो ।'


उनले लोकतन्त्र विरोधी केही तत्वहरुले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको समेत बताए । 'सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ? संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरु कुरेर बसेका छन्' उनले थपे, 'त्यस्ताहरुलाई मौका दिनु हुदैन ।'


उनले मुख्यमन्त्रीले संघीयता कार्यान्वयनमा कर्मचारीबाट असहयोग भएको भन्ने गुनासोको पनि जवाफ दिए । 'कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन् । उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन्' उनले भने, 'त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे,सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् । उनीहरुले जाने बुझे अनुसार सहयोग नै गरेका छन् ।'


प्रकाशित : मंसिर २४, २०७५ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?