भ्रष्टाचारी भेटे कालो मोसो दल्दिनुस : नेकपा प्रवक्ता श्रेष्ठ

सुदीप कैनी

काठमाडौँ — नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरुलाई कालो मोसो दल्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् । 

भ्रष्टाचारी भेटे कालो मोसो दल्दिनुस : नेकपा प्रवक्ता श्रेष्ठ

कृषि तथा वन विज्ञान विश्वविद्यालयका आन्दोलनरत विद्यार्थी प्राध्याकपले सोमबार राजधानीमा गरेको एक कार्यक्रममा उनले शिक्षा लगायत राज्यको हरेक निकायमा भ्रष्टाचार मौलाएको बताए ।


‘सबै ठाउँमा अख्तियार चाहिदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ,’ उनले भने, ‘मैले यतिभन्दा मिडिया लेख्छन भने लेखुन् ।’


शिक्षा क्षेत्रबाट भ्रष्टाचार अन्त्यको सुरुवात गर्नुपर्ने उनको भनाइ थियो । सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै उनले दुखेसो समेत गरे । ‘आफ्नै पार्टीको सरकार छ, सरकारबाट आफ्नै वर्ग शोषित भएको छ,’ श्रेष्ठले भने, ‘सरकारमा बसेकाहरु मौका नपाएका भाते जस्ता भएका छौं ।’

नेपालमा राजनीतिक सफाई आन्दोलन जरुरी रहेको उनले औंल्याए । ‘अस्ति केहि विद्यार्थी साथीहरु आउनु भएको थियो, विश्वविद्यालयले पैसाको चलखेल गरेर सम्बन्धन दिएको गुनासो गर्नुभयो, जताततै भ्रष्टाचार र व्यथित भयो, शुद्धिकरण कहाँबाट थाल्ने ?,’ प्रश्न गर्दै उनले भने, ‘सरकारमा बसेका, सरकार बाहिरका, प्राध्यापक, विद्यार्थी सबै पैसा खाने ?’

सबैभन्दा बढि राजनीतिक क्षेत्र भ्रष्टचारबाट आक्रान्त भएको उनले जनाए । ‘राजनीति गर्ने त शुद्ध भएनन, विद्यार्थी प्राध्यापक पनि तीनै फोहोरीहरु सँग लुटुपुटु गर्न थाले,’ उनले भने ।


निजी शैक्षिक संस्थाहरुको नियगमन र नियन्त्रण गर्न जरुरी रहेको उनले प्रष्ट पारे । ‘विद्यार्थी/विद्यार्थी जस्ता छैनन, ठेक्कापट्टामा गएका छन्, निजी शैक्षिक संस्थालाई सम्बन्धन दिँदा चुपचाप बसेका छन्,’ उनले भने । क्याम्पस र शैक्षिक संस्थाहरुमा राजनितिक भागबण्डा गरेर पदाधिकारी नियुक्ति हुने गरेकोमा उनले असन्तुष्टि जनाए ।

सार्वजनिक शिक्षाको गुणस्तर सुधार नगरे अहिलेको पुस्ताले धोका पाउने उनले जनाए । विश्वविद्यालयले निजी कलेजहरुलाई सम्बन्धन बाँड्ने गरेकोमा उनले असन्तुष्टि जनाएका हुन् ।


कृषि तथा वन विज्ञान विश्वविद्यालयले ८ वटा निजी कलेजलाई सम्बन्धन दिएकोमा असन्तुष्टि जनाउँदै विद्यार्थी र प्राध्यापक गत असारदेखि आन्दोलित भएका छन् ।


कृषि र वन विज्ञान शिक्षामा निजीकरणको विषयमा उनीहरुले राजधानीमा अन्तरक्रिया गरेका हुन् । विश्वविद्यालयले दिएको सम्बन्धन खारेज हुनुपर्ने माग उनीहरुले राखेका छन् ।

प्रकाशित : मंसिर २४, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?