नारायणगढ-मुग्लिन सडक: सर्भे सकियो, २ नयाँ पुल बन्ने

विमल खतिवडा

काठमाडौँ — चितवनको नारायणगढ–मुग्लिन सडकमा दुईवटा नयाँ पुल निर्माण गरिने भएको छ । सडक फराकिलो बने पनि साँघुरा पुराना पुलका कारण जाम हुने गरेपछि नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागको पुल महाशाखाले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडक: सर्भे सकियो, २ नयाँ पुल बन्ने

दासढुंगा नजिकैको खहरे खोला र जुगेडीमा नयाँ पुल बन्न लागेका हुन् । महाशाखा प्रमुख अर्जुनजंग थापाले पुसभित्रमा दुवै पुलको टेन्डर गरेर निर्माण सुरु गर्ने जानकारी दिए ।


यो खण्डमा १८ पुल रहेकामा ४ वटाको ठेक्का लागेर निर्माण जारी छ भने १४ वटा पुल निर्माण हुन सकेको छैन । तिनै १४ मध्ये २ वटा पुल नयाँ बन्न लागेका हुन् । ‘पुलकै कारण समस्या आएको हामीले बुझेका छौं,’ प्रमुख थापाले भने, ‘त्यसैले समस्या समाधान गर्न लागिपरेका छौं, निर्माण चाँडै सुरु हुनेछ ।’ उनका अनुसार आठ जना इन्जिनियरको टोलीले झन्डै दुई साता लगाएर सबै पुलको सर्भे सकेको छ ।


‘आइतबार मात्र सर्भे सकियो,’ उनले भने, ‘विदेशी परामर्शदातालाई हामीले गरेको सर्भे देखाएर उनीहरूकै सल्लाहअनुसार पुल निर्माण अघि बढाउँछौं ।’ पटक–पटक चिनियाँ विशेषज्ञ टोलीलाई बोलाउँदा पनि नआउँदा ढिलाइ भएको हो । चिनियाँ टोली पुस २ गते आउने कुरा भएको उनले बताए । सर्भे गरिसकिएकाले पुलको डिजाइन गर्न सजिलो हुनेछ ।


अन्य १२ वटा पुललाई भने यथावत् राखेर काम गरिनेछ । ‘पुरानो पुललाई छाडेर नयाँ निर्माण गर्नेछौं, पुरानामा यथावत् रूपमा सवारीसाधन चल्न पाउने छन्,’ उनले भने, ‘पुरानाकै फाउन्डेसनबाट अहिले भएकै साइजमा उठाउने छौं, एकतर्फी आउने, अर्कोतर्फी जाने गरी बनाउने योजना छ, दुईवटा पुलजस्तो देखिने छैन, पछि जोडेर एउटै बनाउने छौं ।’ यो अवधारणा विदेशी विज्ञलाई देखाएर काम अघि बढाइने उनले बताए ।


फेरि पनि चिनियाँ टोली नआए स्विसको सहयोगमा काम गर्ने तयारी महाशाखाको छ । ‘चिनियाँ विशेषज्ञले आउँदिन भन्या छैनन्, आएका पनि छैनन्,’ उनले भने, ‘चाँडो बनाउने भनेरै लागिपरेका छौं । अहिले पुलको डिजाइन र ड्रइङ भइरहेको छ, यो विदेशी विज्ञलाई देखाउने छौं, उनीहरूसँग परामर्श लिइसकेपछि मात्र ठेक्का गर्नेछौं ।’


नयाँ पुल निर्माणका लागि भने परामर्श लिनुपर्ने छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ठेक्का लागेका ४ वटा पुलमध्ये ३ वटाको ५० प्रतिशत काम सकिइसकेको छ । जलवीरेमा भने पुल निर्माणको काम २३ प्रतिशतमात्र भएको छ । ‘सबै पुलको निर्माण अवधि भदौसम्म छ,’ खनालले भने, ‘अरू चाँडै निर्माण भए पनि जलवीरेको पुल ठूलो र लामो भएकाले सक्न समय लाग्ने देखिएको छ ।’


उक्त सडक खण्डको स्तरोन्नतिको काम सन् २०१५ मा सुरु भई गत साउन २४ मा सकिएपछि यातायात सञ्चालन सहज भएको छ । निर्माणपश्चात सडक पार गर्ने समय घटेको छ । पहिला ७० मिनेट लाग्ने सडक अहिले जाम नहुँदा ४५ मिनेटमा सडक पार गर्न सकिन्छ । सडक २ लेनको छ ।


पुल महाशाखाका अनुसार यो खण्ड भएर दैनिक सानाठूला गरी करिब १० हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । खहरे, चिसेन्जी र तुइन खोलाका पुलमा बढी समस्या छ । सबै पुल निर्माण गर्न १ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित : मंसिर २४, २०७५ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?