१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिक्लेसबाट ज्ञानेन्द्रलाई दाहालको प्रश्न- होटलमा केको लागि नाचेको ?

दीपक परियार

सिक्लेस,कास्की — पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले फेरी एकपल्ट निरंकुशता सल्बलाउन लागेको संकेत गरेका छन् । कास्कीको सिक्लेसमा सोमबार शान्ति स्तम्भ अनावरण गर्दै उनले ढुक्क भएर बस्ने स्थिति नरहेको बताए ।  

सिक्लेसबाट ज्ञानेन्द्रलाई दाहालको प्रश्न- होटलमा केको लागि नाचेको ?

‘तराई मधेशमा एकथरी अहिले पनि विखण्डनको सपना देखेर त्यहाँका जनतालाई भड्काउने कोशिस गरिरहेका छन्,’ उनले भने, ‘अर्कोतिर अतिवाद पहाडमा फैलाउन सकिन्छ कि भनेर हिजो दरबारबाट निकालिएका शक्तिहरु तिनीहरुलाई मलजल गर्ने कोशिस गरी नै राखेका छन् ।’


परिवर्तन विरोधीले निरंकुशता उल्ट्याउन लगातार षड्यन्त्र गरिराख्ने भएकोले ढुक्क भएर बस्न सक्ने स्थितिमा पुगिनसकेको उनले जनाए । भने,‘अहिले भर्खरै आइहाल्यो भन्न लागेको होइन तर ठूल्ठूला क्रान्ति र परिवर्तन पछि र प्रतिक्रियावादी शक्तिहरुले आफूलाई फेरी एकचोटी ल्याउने जमर्को गर्छन् ।’


पत्नी सीता र छोरी गंगासहित सिक्लेस पुगेका दाहाल पुराना दिन सम्झेर भावुक बने । ‘निरंकुशताका ती दिनहरु बिर्सेका छैनौं, जसले सबै संसदवादी दलदेखि विद्रोही माओवादीसम्म सबैलाई एउटै हाडीमा राखेर भुटेर सिध्याउन खोजेका थिए,’ उनले भने, ‘ती निरंकुशका शासकहरुलाई बिर्सेका छैनौँ । अहिले उनीहरु नाच्दै हिँडेका छन् रे होटल होटलमा, के को लागि नाचेका हुन् ?’


२०६३ असार २ मा राजधानीमा सार्वजनिक हुनुअघि सिक्लेसमा भेट भएका तत्कालीन वार्ता समितिका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगै सिक्लेस पुगेका उनले गिरिजाको अभाव महशुस भएको बताए । शान्ति प्रक्रिया अगाडी बढाउन नेतृत्वदायी भूमिका खेल्ने गिरिजा र सिटौला नै भएपनि अहिले कांग्रेसका कैयौं नेता परिवर्तनप्रति नाखुस भएको उनको आरोप छ । ‘यो संविधानप्रति उनीहरु खुसी छैनन्,’ उनले भने, ‘यो संविधानकाका विरुद्ध खुलेआम वक्तव्यहरु आउन थालेका छन् । यो के चिज हो ?’


गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी, समानुपातिकता मध्ये कुनै एक असफल हुँदा फेरी अराजकता, अनिश्चय, भयानक निरंकुशताको खतरा आउँने उनले दोहोर्‍याए ।


‘गिरिजाको सम्झना, सिटौलाको चिन्ता’

शान्ति प्रक्रियाको प्रस्थानविन्दु सिक्लेसमा पुग्दा दाहाल र सिटौलो दुवैले गिरिजाप्रसाद कोइरालालाई सम्झिए । दाहालले गिरिजा र सिटौला हुँदा शान्ति प्रक्रिया र गणतन्त्र सम्भव भएको बताए ।


उनले गिरिजाबाबुजस्तो टावरिङ पर्सानालिटी नभएको भए कांग्रेसको बहुमतले गणतन्त्र स्वीकार्नेमा सन्देह व्यक्त गरे । उनले गिरिजाकै प्रतिनिधिको रुपमा सिटौलालाई लिएको उल्लेख गरे ।


‘गिरिजाबाबु आज हुनुहुन्न,’ उनले भने, ‘सिटौलाजीलाई धेरै समयदेखि सुगर पनि छ । अलि धार्मिक प्रकृतिको हुनुहुन्छ उहाँ । अलि अध्यात्मवादी, आदर्शवादी पनि हुनुहुन्छ । हामीले पोखरामा आएर केही खायौँ, बाटोमा खाँदै आयौँ । उहाँले केही पनि खानुभएको छैन । उहाँको पनि यताउता भयो भने मैले गाह्रो पो देखेको छु । हेर्दा ठट्टा जस्तो लाग्न सक्छ तर कुरा गहिरो छ ।’


उनले सिटौले गृहमन्त्रीको पदमात्रै नभई ज्यान नै दाउमा राखेर सिक्लेस आएको स्मरण गरे । ‘हामी जनमुक्ति सेनाको विशालपंक्तीको घेराभित्र थियौँ, अत्याधुनिक हतियार थियो,’ उनले सम्झिए, ‘थोरै पनि गडबड हुने बित्तिकै उहाँ मारिन पनि सक्नुहुन्थ्यो । तर उहाँले जोखिम उठाएर, पुलिस नलिइकल एक्लै शेखर कोइराला एकजना बोकेर आउनुभयो ।’


उनले जनमुक्ति सेनाको घेराभित्र आफ्नो सेना र पुलिस छोडेर आउनु सानो कुरा नभएको उल्लेख गरे । ‘हामी पनि यहाँबाट सबैचिज छोडेर काठमाडौं गएका थियौं बालुवाटारमा, त्यहाँ पनि कम जोखिम थिएन,’ उनले भने, ‘बडो जोखिम मोलेर यहाँसम्म आइपुगेका हौं ।’ गणतन्त्र ल्याउन, संविधान बनाउन उभिएजस्तै परिवर्तनविरोधी षड्यन्त्रलाई परास्त गर्न कांग्रेसभित्र सिटौलाले भूमिका खेल्ने आशा उनले व्यक्त गरे ।


कांग्रेस नेता सिटौलाले गिरिजाकै कारण शान्ति प्रक्रिया सम्भव भएको स्मरण गरे । उनले शान्ति प्रक्रियाले अझै पूर्णता नपाएकोप्रति भने निराशा व्यक्त गरे । ‘द्वन्द्व पीडितले अझैं न्याय पाएका छैनन्,’ उनले भने, ‘उनीहरुलाई न्याय दिएमात्रै शान्ति प्रक्रिया टुंगिएको ठहरिन्छ ।’

प्रकाशित : मंसिर २४, २०७५ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?