कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मातृभाषामा पढ्दा नेपाली राम्रो

हरि गौतम

रुकुमपूर्व — खामभाषी विद्यार्थीलाई कक्षामा नेपाली बुझाउन निकै हम्मे पर्‍यो । बोल्नै नजानेपछि पाठ्यक्रम पढाउनै समस्या भयो । वर्षौंदेखिको यो अप्ठेरो फुकाउन विद्यालयले दुवै भाषामा पढाउन थाल्यो । अब भने बालबालिकालाई बुझाउन निकै सहज भएको छ । 

मातृभाषामा पढ्दा नेपाली राम्रो

भूमे गाउँपालिका–२, गावाङका धोका बुढा स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा २ मा पढ्छन् । उनी नेपाली र खाम भाषामा पढिरहेका छन् । भूमे–१, लुकुमको सिद्धचौर माविमा कक्षा ३ की निशा पुन पनि दुई भाषामै सिकिरहेकी छन् ।


खाम उनीहरूको मातृभाषा हो । धोका र निशाजस्तै यो गाउँपालिकाका १२ विद्यालयका १ हजार १ सयभन्दा बढी मगर समुदायका विद्यार्थी दुई भाषामा सिकिरहेका छन् ।


१ देखि ५ कक्षासम्मका विद्यार्थीले ५ वर्षदेखि बहुभाषामा पढिरहेका छन् । कक्षा १ मा पहिलो पटक खाम र नेपाली भाषामा पढेकाहरू यस वर्ष कक्षा ५ मा पुगेका छन् । ‘खामभाषी बालबालिकालाई नेपाली बुझाउन सजिलो होस् भनेर बहुभाषा शिक्षण थालेका हौं,’ त्रिवेणी माविका प्रध्यानाध्यापक मदन शर्माले भने ।


१ देखि ५ कक्षाका सबै विषयवस्तुलाई खाम भाषामा रूपान्तरण गरिएको छ । खामसँगसँगै नेपाली पनि राखेर पाठ्यपुस्तक बनाइएकाले खामभाषी विद्यार्थीलाई पढ्न र बुझ्न सजिलो भएको स्थानीय खामभाषी शिक्षक सुनप्रसाद बुढा मगरले बताए । विद्यालयमा खामभाषा र नेपाली भाषामा पढाइ हुन थालेपछि स्थानीयमा पनि नेपाली भाषामा सुधार आएको उनी बताउँछन् ।


कक्षा १ देखि ३ सम्म मातृभाषा खाम ८० प्रतिशत र नेपाली २० प्रतिशत, कक्षा ४ र ५ मा ८० प्रतिशत नेपाली र २० प्रतिशत खाम भाषामा पढाउने गरी पाठ्यपुस्तक तयार पारिएको मातृ भाषामा आधारित बहुभाषा शिक्षाका कार्यक्रम संयोजक मुकुन्द पुन मगरले बताए । खाम सँगसँगै नेपाली भाषामा पढाउन थालिएपछि विद्यार्थीको बुझ्ने र सिकाइको दर बढेको उनको भनाइ छ ।


नेपाली भाषामा मात्रै रहेको पाठ्यपुस्तकबाट पढाउँदा खामभाषी विद्यार्थीलाई बुझ्न कठिन हुने गरेको उनले बताए । खाम भाषामै पाठ्यपुस्तक तयार पारेर पठनपाठन गराउँदा विद्यार्थीले सजिलै र छिटो बुझ्ने गरेको उनको अनुभव छ । विशेषगरी मातृभाषा पढाउन खाम भाषाका पाठ्यपुस्तक तयार पारिएको उनले बताए ।


नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र मिक नेपालले युनाइटेड मिसन टु रुकुम क्लस्टरको आर्थिक सहयोगमा नेपाली भाषाका पाठ्यपुस्तकलाई खाम भाषामा रूपान्तरण गरेको छ । सोही पुस्तकको सहयोगमा विद्यार्थीले पढिरहेका छन् । ‘खामलाई नेपाली भाषामा उल्था गरिएकाले सजिलै बुझ्ने गरेका छन्,’ प्रअ शर्माले भने, ‘यस्तो पाठ्पुस्तकको सहयोगले गैरखामभाषी शिक्षकलाई समेत सजिलो भएको छ ।’


आधारभूत विद्यालय लावाङ, जनसेवा आधारभूत विद्यालय धरमशाला, बराह आधारभूत विद्यालय स्याला, सिद्धचौर माध्यमिक विद्यालय लुकुम, भूमि आधारभूत विद्यालय रुजीखोला र त्रिवेणी माध्यमिक विद्यालय काँक्रीका विद्यार्थीले खाम र नेपाली भाषामा पढिरहेका छन् ।


यसैगरी बालज्योति आधारभूत विद्यालय दहवाङ, हिमालय आधारभूत विद्यालय गावाङ, बाल विकास आधारभूत विद्यालय जंगडाँडा, त्रिभुवन आधारभूत विद्यालय खाबाङ, सहिद शुक्र माध्यमिक विद्यालय सीमा र सहिद वासु स्मृति आधारभूत विद्यालय क्याङसीका विद्यार्थी पनि बहुभाषामै पढछन् ।


भूमे गाउँपालिकामा मातृभाषामा आधारित बहुभाषा शिक्षा राम्रो भएकाले केही महिनाभित्रै पुथाउत्तरगंगा गाउँपालिकामा पनि यो कार्यक्रम सुरु गर्न लागिएको उनले बताए । पुथाउत्तरगंगाका १३ विद्यालयमा बहुभाषामा पठनपाठन गरिनेछ ।

प्रकाशित : मंसिर २५, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?