२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सबै विद्यालयमा एउटै पोसाकको बहस : पोसाक हैन, पढाइमा एकरूपता

शैक्षिक संस्थामा पोसाक आवश्यक नै छैन, प्रतिस्पर्धा पढाइमा गर्ने हो । –केदारभक्त माथेमा
पोसाकले धनीगरिबको अन्तर छुट्टिन्छ भन्नु पश्चगामी सोच हो । –विद्यानाथ कोइराला
सुदीप कैनी

काठमाडौँ — काठमाडौं महानगरपालिका र प्रदेश ५ सरकारले सामुदायिक र निजी विद्यालयमा एउटै प्रकारको पोसाक लागू गर्ने तयारी गरेका छन् । विद्यालयबीच एकरूपता ल्याउन एउटै पोसाकको तयारी गरेको स्थानीय तह तथा प्रदेश सरकारको भनाइ छ । 

सबै विद्यालयमा एउटै पोसाकको बहस : पोसाक हैन, पढाइमा एकरूपता

महानगरपालिका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले सामुदायिक र निजी विद्यालयका विद्यार्थीबीच भावनानात्मक एकरूपता ल्याउन एकै प्रकारको पोसाकको सोच अघि सारिएको जनाए ।

‘सामुदायिक विद्यालयबीच एकरूपता कायम गर्दै संस्थागत विद्यालयलाई पनि समेट्छौं,’ उनले भने ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले विद्यालयपिच्छे फरक–फरक पोसाक हुँदा पनि शिक्षामा व्यापारीकरण बढेको दाबी गरे । उनले भने, ‘अभिभावकलाई विद्यालय फेर्नासाथ नयाँ पोसाक किनिदिनुपर्ने झन्झट हट्नेछ, पोसाक एउटै बनाउँदा कमिसनको चक्करसमेत हटनेछ ।’

एकै किसिमको पोसाकले थरिथरि विद्यालयमा एकरूपता कायम गर्ने प्रदेश र महानगरको ठम्याइ छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पाठ्यक्रमसहित एकै प्रकारको पोसाकको अवधारणा ल्याएको हो ।

निजी र सामुदायिक विद्यालयबीचको अन्तर घटाउन, एकरूपता ल्याउन र एकै खालको शिक्षा प्रदान गर्न विद्यालयमा एउटै पाठ्यक्रम र पोसाकको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

देशभरका सामुदायिक विद्यालयका विद्यार्थी फरक(फरक पोसाक लगाउँछन् । सामुदायिक र निजी विद्यालयबीच पनि छुट्टाछुट्टै पोसाक छ भने निजी विद्यालयबीच पनि एकरूपता छैन । कतिपय विद्यालयमा त विद्यार्थीले आफूखुसी पोसाक लगाउँछन् ।

शिक्षाविद् भने विद्यालयबीच समानता ल्याउन पोसाकभन्दा पठनपाठनमा जोड दिनुपर्ने बताउँछन् । शैक्षिक गुणस्तरमा सुधार गर्न पोसाकको कुनै भूमिका नहुने उनीहरूको टिप्पणी छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति एवं शिक्षाविद् केदारभक्त माथेमाले विद्यालयहरूमा एउटै पोसाक लागू गरेर एकरूपता कायम गर्छु भन्नु हास्यास्पद हुने जनाए । ‘खासमा शैक्षिक संस्थामा पोसाक आवश्यक नै छैन,’ उनले भने, ‘विकृति–विसंगति रोक्न पोसाक चाहिएको हो, पढाइमा प्रतिस्पर्धा गर्ने हो, पोसाकमा होइन ।’


एउटा विद्यालयमा एकै किसिमको पोसाक लागू गरे पनि निर्णय नै गरेर प्रदेशभर एकै थरी बनाउँछु भन्नु उचित नहुने उनको तर्क छ । ‘पोसाकको एउटै मात्र फाइदा छ, हाम्रो जस्तो देशमा धनी र गरिबबीचको खाडल नदेखियोस् भनेर शैक्षिक संस्थामा व्यवस्था गरिएको हो,’ माथेमाले भने, ‘अहिलेजस्तो विद्यालयपिच्छे आआफ्नो पोसाक हुँदा के फरक परेको छ र ?’

विद्यालयहरूमा धनीगरिबको अन्तर नदेखियोस्, फेसन प्रतिस्पर्धा नहोस् भनेर एकै किसिमको पोसाक लगाउने संस्कार विकास भएको उनको भनाइ छ । ‘एउटा स्कुलमा एउटै पोसाक ठिकै हो तर स्कुलैपिच्छे एउटै भन्नु घातक हुन्छ, पढाइ पो एउटै चाहिन्छ,’ उनले भने, ‘निजी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उस्तै बनाउने होइन, सामुदायिकको बढाउँदै लगेर निजीलाई जित्ने हो ।’

नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक पक्ष ख्याल गर्दा भिन्नभिन्न पोसाक नै उचित हुने विज्ञहरूले तर्क गरे ।

अर्का शिक्षाविद् विद्यानाथ कोइरालाले एउटै पोसाकले बालबालिकाको बहुप्रतिभामा असर पुग्ने बताए । ‘पोसाकले एकरूपता त ल्याउँछ होला, विविधता हुँदैन,’ उनले थपे, ‘धनी–गरिबको विभेद छुट्याउन एकै प्रकारको पोसाक कायम गर्ने सोच ठिकै हो तर विद्यार्थीबीचको अनेक प्रकारको विविधताका दृष्टिले बेठिक हुन्छ ।’ पोसाकले धनीगरिबको अन्तर छुट्टिन्छ भन्नु पश्चगामी सोच रहेको उनले टिप्पणी गरे ।

‘एकै किसिमको ड्रेसमा पनि गुणस्तर फरक हुन्छ,’ उदाहरण दिँदै उनले थपे, ‘एउटै विद्यालयमा पनि आर्थिक अवस्था बलियो भएको विद्यार्थीले लगाउने ड्रेस र कमजोरले लगाएकामा गुणस्तर फरक/फरक छ ।’ विविधताका दृष्टिकोणले एउटै पोसाक अनिवार्य गर्नु गलत हुने उनले दाबी गरे ।

पोसाक र पाठ्यक्रमले मात्र दुईखाले विद्यालयबीचको अन्तर नघट्ने बालविकास कक्षाकी विशेषज्ञ मीनाश्री दाहालले बताइन् । ‘एकरूपता ल्याउन खोज्नु अत्यन्तै राम्रो हो,’ उनले कान्तिपुरसँग भनिन्, ‘एकरूपताले बालबालिकाको सामाजिक, सांस्कृतिक विविधतामा असर पुग्छ ।’ एकै प्रकारको पोसाकमा न्यूनतम मापदण्ड ख्याल गर्न नसके झनै विभेद बढ्न सक्ने उनको भनाइ छ । ‘हामीले गर्ने व्यवहार, धारणा र भावनामा पो समानता, एकता खोज्ने हो,’ उनले भनिन्, ‘पोसाक त थरीथरी हँुदा नै राम्रो हुन्छ ।’

एकै किसिमको पोसाकले झनै व्यापारीकरण र सिन्डिकेट बढ्ने शिक्षाविद् कोइरालाको तर्क छ । ‘आज विद्यालय सञ्चालक र व्यापारीले व्यापारीकरण गरेका छन्,’ उनले भने, ‘भोलि सरकार चलाउनेहरूले नै पोसाकमा व्यापार गर्न सक्छन् ।’ तीनैवटै तहको सरकारले निजी विद्यालयको अनुगमन र नियमनमा कडाइ गर्नसके पोसाकमा हुने अनियमितिता अन्त्य हुने विज्ञहरूको तर्क छ ।

पूर्वउपकूलपति माथेमा विद्यालयपिच्छे जति भिन्नभिन्न पोसाक भयो, उति शोभनीय हुने बताउँछन् । विद्यार्थी अनुशासनमा राख्न एउटा विद्यालयभित्र एकै किसिमको पोसाक भने जरुरी रहेको विज्ञहरूको भनाइ छ ।

प्रकाशित : मंसिर २५, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?