कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

हिंसा रोक्न सासू–बुहारी संवाद

दाङ — घोराही उपमहानगरपालिकाका विभिन्न वडाका सासू–बुहारी आइतबार सँगसँगै घरबाट निस्किए । गफिँदै बजार पुगे । त्यहाँ भेला भएर आपसी असमझदारीबारे खुलेर छलफल गरे ।

हिंसा रोक्न सासू–बुहारी संवाद

सानातिना कुरामा कसरी सासू–बुहारीबीच मनमुटाव हुन्छ ? आमा–छोरीजस्तै बन्न किन सक्दैनौं ? सासू–बुहारीबीच मिलापले घर कस्तो हुन्छ ? जस्ता विषयमा सोमबारसम्म छलफल चलाइएको थियो ।

दुईदिने उक्त कार्यक्रममा सासू–बुहारीबीच सुमधुर सम्बन्ध कायम भए घरेलु हिंसामा कमी आउने र घर उज्यालो हुने निष्कर्ष सहभागीले निकाले ।


घरेलु हिंसा न्यूनीकरण गर्ने उद्देश्यले नगरमा सासू–बुहारी भलाकुसारी कार्यक्रम राखिएको हो । त्यसपछि उपमहानगरका १९ वटै वडाका सासू–बुहारीले घरायसी समस्याबारे खुलेर छलफल गरेका हुन् । उनीहरूबीच हुने असमझदारी र झगडाले हिंसा निम्त्याउन थालेपछि सुमधुर सम्बन्ध कायम गर्न उपमहानगरपालिकाले संयुक्त अन्तक्र्रिया सुरु गरेको हो ।


घरभित्रै हिंसा बढ्न थालेपछि सासू–बुहारीबीच सुमधुर सम्बन्ध बनाउने अभियान थालिएको उपमहानगरले जनाएको छ । ‘प्राय: सासू–बुहारीबीच बेमेल र मनमुटावले हिंसा भएको देखिन्छ । घरभित्रै हिंसा नियन्त्रण गर्न सके परिवार सुखी हुन सक्छ,’ उपमहानगरका महिला तथा बालबालिका समिति संयोजक पशुपति चौधरीले भनिन्, ‘सासू–बुहारीबीच आत्मीय सम्बन्ध रहे समाजमा सकारात्मक सन्देश जान सक्छ ।’


१९ वटै वडाका सासू–बुहारीको प्रतिनिधित्व हुने गरी सचेतना थालिएको नगरप्रमुख नरुलाल चौधरीले बताए । आमाले छोरी र बुहारी तथा बुहारीले आमा र सासूलाई हेर्ने दृष्टिकोण फरक भएकाले हिंसा हुने गरेको उनको भनाइ थियो । ‘छोरी र बुहारी तथा आमा र सासूलाई एउटै नजरले हेर्न सकेमात्रै पनि हिंसा कम हुन सक्छ । घरमा सहज सम्बन्ध हुन सक्छ,’ उनले भने, ‘गलत अभ्यासलाई हटाउन चेतना दिनुपरेको हो । परम्परागत सोच त्यागी सोचाइ र व्यवहारमा एकरूपता आउन जरुरी छ ।’


परिवारबाटै समानताको सुरुवात गर्न सके समाज हिंसामुक्त हुन सक्ने भएकाले यस्तो रचनात्मक अभियान थालेको उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन् । ‘विभेदरहित परिवार र समाज बनाउन सकेमात्रै परिवारमा शान्ति र समझदारी आउन सक्छ,’ उनले भनिन्, ‘कार्यक्रममा सहभागी सासू–बुहारीले आफ्ना समस्या खुलेर राखेका छन् । स–साना कारणले असमझदारी हुने गरेको महसुस गरिरहेका छन् ।’


कतिपय घरमा सासू–बुहारीबीच खुलेर बोल्न सक्ने वातावरण नभइरहेका बेला आफ्ना समस्या खुलेर राख्ने वातावरण बनाएपछि धेरैलाई सम्बन्ध सुधार्न सहज भएको घोराही उपमहानगर महिला तथा बालबालिका शाखा प्रमुख मोती विश्वकर्माले बताइन् । अहिले केही प्रतिनिधिमूलक सासू–बुहारीलाई कार्यक्रममा सहभागी बनाएको र बिस्तारै वडा र गाउँ तहमा फैलाउँदै जाने उनले बताइन् ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?