१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

उपचार अभावले ज्यान जोखिममा

भीमबहादुर सिंह

जाजरकोट — सुत्केरी हुन नसक्दा महिलाको ज्यान जोखिममा परेको भन्दै बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहको मोबाइलमा आइतबार मध्यराति फोन आयो ।

उपचार अभावले ज्यान जोखिममा

बारेकोट ५, तोलखानास्थित घरमा रहेका शाहलाई बारेकोट २, रोकायगाउँकी ४२ वर्षीया मैसरा थापा सुत्केरी हुन नसकी थला परेको खबर आयो ।


थापाका आफन्तले शाहलाई दक्ष चिकित्सक तथा उपकरण अभावमा प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचार हुन नसकी पेटमै शिशुको मृत्यु भइसकेको जानकारी दिए । रक्तश्रावले ४ दिनदेखि थला परेकी महिलाको उद्धार गरिदिन आग्रह गरियो ।


भौगोलिक विकटता, सडक सञ्जालले नछोएको, सञ्चार अभाव, दक्ष जनशक्ति, औषधि, उपकरणलगायत अभावमा बारेकोटमा सामान्य उपचार पाउन कठिन छ । जिल्लाको दुर्गम मानिने यो क्षेत्रमा सुत्केरी हुन नसकी, अत्यधिक रक्तश्राव, भीरबाट लडेर र समयमा उपचार नपाएर ज्यान गुमाउनेको संख्या बढ्दो छ ।


शाहले फोनमै सुत्केरी हुन नसकी जोखिममा परेकी थापाको उद्धारका लागि पहल गर्ने जनाए । उनले जोखिममा परेकाको उद्धारमा सक्रिय घर आँगन नेपाल नामक संस्थालाई गुहारे । उनले संस्थालाई हेलिकप्टरमार्फत उद्धार गरिदिन आग्रह गर्दै लाग्ने खर्चको २५ प्रतिशत गाउँपालिकाले व्यहोर्ने जनाए ।


शाहको आग्रहबमोजिम संस्थाले सिम्रिक एयरको हेलिकप्टर पठाई थापालाई सोमबार थप उपचारका लागि पोखरा मणिपाल अस्पताल पुर्‍यायो । ‘रक्तश्रावको ३ दिनसम्म स्थानीय धामीझाँक्रीले कुल देवता बिग्रेको भनेर झारफुक गरे,’ देवर हिमबहादुरले भने, ‘बोका तथा कुखुरा काटेर पनि उपाय नलाग्दा अन्तिममा गाउँपालिका अध्यक्षलाई गुहारेका हौं ।’


४ सन्तानकी आमा थापालाई स्वास्थ्यकर्मीले गत मंसिर ८ गते पाँचौं बच्चा जन्मने समय तोकेका थिए । स्वास्थ्यकर्मीले दिएको मितिको १४ औं दिन बितेपछि थापा सुत्केरी व्यथाबाट पीडित बन्दै आइतबार बिहानमात्र स्वास्थ्य संस्था पुगेकी थिइन् ।


दक्ष चिकित्सक तथा उपकरणको अभावमा थापालाई सुत्केरी गराउन नसकेको स्वास्थ्य सहायक सुशीला विष्टले बताइन् । थापाको पेटमा भएको बच्चाको दुई दिनअघि मृत्यु हुँदा जोखिम बढेको उनको भनाइ छ ।


प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा विगत ६ महिनादेखि डाक्टर नहुँदा थापा मात्र होइन अन्य धेरैको ज्यान जोखिममा पर्दै गएको अध्यक्ष शाह बताउँछन् । ‘बिरामी हुनासाथ हेलिकप्टर मगाएर उपचार गर्न पठाएको यो पहिलो घटना हो,’ उनले भने, ‘आर्थिक अभाव र भौगोलिक विकटताले समयमै अस्पताल पुर्‍याउन नसकेर अकालमा मृत्युको मुखमा पुग्ने धेरै छन् ।’ उनले सडक नभएर जनजीवन झन कष्टकर बनेको बताए ।

प्रकाशित : मंसिर २५, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?