१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संघीयता कार्यान्वयनमा सरकार बाधक: नेता सिंह

टीकाप्रसाद भट्ट

रामेछाप — कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकार शान्ति सुरक्षा कायम गराउन र संविधानको कार्यान्वयन गर्न असफल भएको आरोप लगाएका छन् ।

संघीयता कार्यान्वयनमा सरकार बाधक: नेता सिंह

नेपाल प्रेस यूनियन रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले संसदमा संघीयताको कार्यान्वयन र संस्थागत गर्न संघीय सरकार बाधक रहेको दाबी गरे ।

कांग्रेसले विभिन्न मुद्दाहरुमा शसक्त आवाज उठाएको तर सरकार त्यसप्रति उदासीन भएको उनकाे आरोप छ ।


‘संघीय ऐन बनाउन नसक्दा संविधान बमोजिम संघीयताले संस्थागत विकास गर्न सकेको छैन,’ नेता सिंहले भने, ‘त्यसको भागिदार कम्युनिष्ट सरकार नै हो ।’


सरकारले काम गर्न नसकेको आरोप कांग्रेसले मात्रै नलगाएको भन्दै उनले नेकपाकै नेतृत्वमा रहेका मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट प्रष्ट भएको बताए । कांग्रेस प्रतिपक्षमा भएपनि कानुन बनाउने देखि आवश्यता अनुसार संविधान संशोधनका मुद्दामा रचनात्मक सहयोग गर्ने उनले बताए ।


३३ किलो सुन, निर्मला हत्या र वाइडवडी खरिद काण्डलाई कांग्रेसले जिम्मेवारपूर्वक संसदमा कुरा राखेको बताउँदै सिंहले प्रतिपक्षको काम सरकारका गलत क्रियाकलापलाई खबरदारी गर्नुरहेको उल्लेख गरे ।


‘लोकतान्त्रिक विधि बमोजिम कांग्रेसले संसदमा जिम्मेवार र सशक्त भुमिका निर्वाह गरेको छ,’ उनले भने, ‘कम्युनिष्ट जस्तो रत्नपार्कको बार भत्काउने, सदनका कुर्सी उचालेर कुटपिट गर्ने जस्ता कार्यलाई मात्र सशक्त भन्ने हो भने भन्नु केही छैन ।’

बाहिर आएको जस्तो कांग्रेसमा विभाजन नभएको दाबी गर्दै उनले पार्टीलाई कसरी बलियो बनाएर लैजान सकिन्छ भनेर नेतृत्वलाई सुझाव दिनुलाई पार्टीमा गुट भएको भन्न नमिल्ने बताए । ‘कांग्रेसमा विवाद छैन, तर नेतृत्वले विधान र वर्तमान राजनितीक परिवर्तन बमोजिम काम गर्नुपर्छ मात्र भनेका हौं । त्यसो भन्नु गलत हुँदैन, कर्तव्य हुन्छ,’ उनले भने । नेतृत्वमा बस्नेले सबै पक्षलाई हेर्नु र मिलाएर जानुपर्ने उनले बताए ।

प्रकाशित : मंसिर २५, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?