सरकारलाई दिएको समर्थन फिर्ता लिने : महतो 

देवनारायण साह

विराटनगर — राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले अब बस्ने पार्टी बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय हुने बताएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने : महतो 

राजपा मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले सरकारले आफूहरुको माग पूरा गर्न गम्भीर नदेखिएकाले समर्थन फिर्ताको विकल्प नभएको बताएका हुन् ।

‘दुई तिहाईको सरकारले संविधान संशोधन गरेर हाम्रो माग पूरा गर्छ भन्ने आशावादी भएर समर्थन गरेका थियौँ,’ उनले भने, ‘तर अब सरकारले माग पूरा गर्छ भन्ने आशा मरिसकेकाले समर्थन दिइरहनु पर्ने अवस्था रहेन ।’ माग पूरा नगरे समर्थन फिर्ता लिने विषयमा प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइसकेको उनले बताए ।


‘सरकारले षडयन्त्रमूलक ढंगले हाम्रो पार्टी सरकारमा जाँदै छ भनेर प्रोपोगण्डा चलाइन्छ,’ उनले भने, ‘सरकारमा जाने हाम्रो कुनै सम्भावना छैन र हामीले माग पूरा नहुञ्जेल त्यो परिकल्पना पनि गर्न सक्दैनौँ ।’


संविधान संशोधन, रेशम चौधरी लगायतका बन्दी रिहाई, मुद्दा फिर्ता लगायतको माग पूरा नभएसम्म सरकारमा जाने कुनै सम्भावना छैन । उनले अब आफूहरु सडक संघर्षमा उत्रिने बताए ।

प्रदेश २ को नाम र राजधानीको टुंगो नलागी रहेको बेला महतोले मधेस प्रदेश नामाकरण हुनुपर्ने सुझाव दिएका छन् । उनले ऐतिहासिक, पौराणिक, धार्मिक, सांस्कृतिक महत्वको जनकपुरलाई नै प्रदेश २ को राजधानी बनाउनु उपयुक्त हुने बताए । ‘प्रदेश २ को नाम र राजधानी तोक्ने अधिकार प्रदेश संसदको हो,’ उनले भने, ‘प्रदेश २ को नाम र राजधानीबारे सुझाव संकलनका लागि कार्यदल बनेको छ, जसले विभिन्न जिल्लामा पुगेर सुझाव संकलन गर्दैछ ।’

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नीति र नियत ठीक नभएकोले आफ्नो पार्टीसँग एकता हुन नसक्ने बताए । उनले संघीय समाजवादी संविधान दिवस मनाउने नीति भएको पार्टी हो भने हाम्रो कालो दिवस मनाउने नीति लिएको पार्टी भएको बताए ।


महतोले निर्धारित समयमा पार्टीको महाधिवेशन गराउने जिम्मेवारी आफ्नो काँधमा आएकाले त्यसको तयारीमा लागेको बताए । उनले अहिले संगठन निर्माण लगायतको काम भइरहेको बताए ।

प्रकाशित : मंसिर २५, २०७५ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?