कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकार कमजोर बनाउन खेल सुरु भयो: उपप्रधानमन्त्री पोखरेल

हरि गौतम

रुकुम पूर्व — उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारलाई कमजोर बनाउन विभिन्न खेल सुरु भएको बताएका छन् ।

सरकार कमजोर बनाउन खेल सुरु भयो: उपप्रधानमन्त्री पोखरेल

सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा आयोजित प्रथम रुकुम पूर्व पर्यटन तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलले दुई तिहाई जनताको मत र विश्वासका साथ गठन भएको सरकारलाई कमजोर बनाउन विभिन्न तानाबाना बुन्ने समूह सक्रिय भएको बताए ।


‘यो सरकार दुई तिहाई मत र विश्वासका साथ गठन भएको सरकार हो,’ उनले भने, ‘देशको समृद्धि र विकास नचाहनेहरुले षडयन्त्र र जालझेल बुन्दैछन् ।’ जनताको विश्वासले बनेको दुई तिहाई सरकारले कसैको जालझेल र षडयन्त्रले सरकारलाई केही फरक नपर्ने उनको भनाई छ ।


सरकारले आर्थिक विकास र समृद्धिका नीति योजना अघि बढाइसकेकाले देश विकासले गति लिन ढिला नहुने जिकिर रक्षा मन्त्री पोखरेलले गरे । कम्युनिष्ट सरकार सधै जनताको पक्षमा रहन्छ भन्ने कुरा २०५१ सालमा बनेको पहिलो कम्युनिष्ट सरकारबाट पुष्टि भइसकेको उनको भनाई छ ।


निर्वाचनताका गरिएका अधिकांश कुराहरु कार्यान्वनतर्फ अघि बढिरहेको भन्दै उनले हरेक जेष्ठ नागरिकलाई मासिक ५ हजार भत्ता दिन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताए ।


‘जेष्ठ नागरिकलाई मासिक ५ हजार भत्ता यही सरकारले नै दिन सुरु गर्नेछ,’ मन्त्री पोखरेलले भने ‘आगामी वर्षको बजेट निर्माण गर्दा यो कार्यक्रम प्राथमिकताका साथ अघि बढाइने छ ।’


फरक प्रसंगमा कुरा गर्दै मन्त्री पोखरेलले देश बनाउनकै लागि भनेर २ कम्युनिष्ट पार्टी एक भएको बताए । देश विकासको संकल्प सहित दुई कम्युनिष्ट एक भएकाले कम्युनिष्ट पार्टीबाट जनताले गरेको आश सजिलै पूरा हुने दाबी उनको छ ।


रुकुम पूर्व देशको कान्छो जिल्ला भएपनि पर्यटन मार्फत विकास गर्न सकिने राम्रो सम्भावना रहेको उनले बताए । भौगोलिक विविधता र पर्यटन मार्फत जिल्लाको समग्र विकासको सम्भावना रहेको रुकुमपूर्वलाई संघीय सरकारको सम्पूर्ण सहयोग हुने आश्वासन पनि उनले दिएका छन् ।

प्रकाशित : मंसिर २५, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?