१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आदित्यनाथको जनकपुर भ्रमण :३६ व्यञ्जनको परिकार पस्किने तयारी

जनकपुर — भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मानमा प्रदेश २ को सरकारले बुधबार आयोजना गरेको भण्डारा(दिवाभोज)मा ३६ व्यञ्जनको परिकार पस्किने भएको छ । 

आदित्यनाथको जनकपुर भ्रमण :३६ व्यञ्जनको परिकार पस्किने तयारी

राम–जानकी विवाह महोत्सवमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ बुधबार जहाजबाट सिधैं जनकपुर आउँदै छन् । दिनभर जनकपुरमा रहने आदित्यनाथको सम्मानमा प्रदेश २ को सरकारले मधेस भवनमा भण्डाराको व्यवस्था गरेको छ ।


भण्डारा तथा सम्मान व्यवस्थापन मूल समितिका संयोजक जितेन्द्र यादवका अनुसार भण्डारामा ३६ वटा ब्यञ्जन पस्किने बताए । पन्डाल र भोजनका लागि विराटनगरको टेन्ट हाउसले २ सय कालिगढ खटाएको छ । भण्डारामा प्रदेश सरकारले शाकाहारीको ३६ वटा ब्यञ्जन तयार पारिरहेको छ ।


राइस जिरा, दाल फ्राइ, मटर पनिर, मिक्स भेज, काउली फ्राइ, कचौरी/पालक पुरी, सदा रोटी, खिर, गाजर हलुवा, सुजि हलुवा, अमिति, बुनिया, पेडा, काला जामुन, ३ प्रकारको रसभरी, तछुवा(पकौडा), नेपाली आचार, राइता, पापड, सलाद, दही, राजभोग,, बडाम कतली, काजु कतली, मुङ दालको हलुवा, लालमोहन, बदाम रोल, गुलाव जामुन, क्रिम जेरी, मटर पनिर, मलाइ कोपता, बेसन गांता सब्जी र कोभी मटर सब्जीको परिकार पस्किनेछ ।


‘३६ ब्यञ्जन नै स्वादिष्ट हुनेछ,’ समितिका संयोजक यादवले कान्तिपुरसँग भने, ‘दुईसय कालिगढले मंगलबार बिहानैदेखि परिकार पकाउन थालेका छन् । सबै परिकार र त्यसमा प्रयोग हुने समाग्री सुरक्षाकर्मीको उच्च रेखदेखमा भइरहेको छ ।’


प्रदेश सरकारले आदित्यनाथको भण्डाराका लागि बनाइरहेको परिकारका बारेमा नेपालका लागि भारतीय राजदूत मन्जीभ सिंह पुरी र भारतीय सुरक्षाकर्मीले पनि चासो देखाएका छन् । ‘परिकारको सूची र त्यसमा प्रयोग हुने सबै समानको चेकजाँच गरिएको छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने ।


भण्डाराका लागि प्रदेश २ को सरकारले मधेस भवनमा करिव साढे ८ हजार स्क्यवायर फिटको विशाल पन्डालको निर्माण गरिएको छ । यादवका अनुसार आदित्यनाथसँग ५ सय १ जना साधु–सन्तले भण्डारा खानेछन् । त्यसका अतिरिक्त अन्य अगान्तुकसहित करिब १ हजार ५ सय जनाले भण्डारा खाने संयोजक यादवले जानकारी दिए ।


उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ र प्रदेश २ को मुख्यमन्त्री मञ्चमै बसेर भण्डारा(दिवाभोज) गर्नेछन् । अन्य साधु–सन्तका लागि पन्डालमुनि भुइँमा बसेर दिवाभोज खाने व्यवस्था गरिएको छ । भण्डाराका लागि भुइँमा ओछ्याइएको रातो कार्पेट सबै नयाँ प्रयोग गरिएको छ । कार्पेटमा बसेर साधु–सन्तले थोरै उँचो बनाइएको टेबलमा राखिएको पातामा भण्डारा खानेछन् ।


करिब ७० लाख रुपैयाँ खर्चेर प्रदेश सरकारले आदित्यनाथको भण्डारा र स्वागत सत्कारको तयारी गरेको छ । भण्डारासँगै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको सम्मानमा प्रदेश सरकारले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने भएको छ । भण्डाराको पन्डालसँगै सांस्कृतिक कार्यक्रमका लागि भव्य पन्डाल र मञ्च निर्माण गरिएको छ ।


यो पनि पढ्नुहोस्ः

आदित्यनाथको सम्मानमा भव्य भण्डाराको तयारी [फोटोफिचर]

प्रकाशित : मंसिर २५, २०७५ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?