कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दान उठाउन दौडधुप

नवीन पौडेल

परासी — जिल्लाका विभिन्न स्थानमा अहिले धार्मिक यज्ञ तथा धनधान्याचल भइरहेका छन् । यस्ता यज्ञबाट दान संकलन गरी समाजमा विभिन्न पुण्य कर्म गरिँदै आएको छ ।

महायज्ञ र धार्मिक महोत्सव गर्न मंसिर, पुस र माघ महिना रोज्ने गरिन्छ । पश्चिम नवलपरासीमा प्रत्येक वर्ष ५/७ स्थानमा यस्ता यज्ञ लगाइन्छ । आयोजनाको मुख्य उद्देश्य शैक्षिक गुणस्तर वृद्धि तथा भौतिक संरचना निर्माण हुने गरेको पाइन्छ ।


तामझामसहित सञ्चालन गरिने यस्ता धार्मिक कार्यक्रममा दान गर्नेको ओइरो लाग्छ । स्थानीयबीच नगद र जिन्सी दान गर्ने होड चल्छ । दान रकम बोलेर रथ चढेर नगर परिक्रमा गर्ने धेरै हुन्छन् । धेरै रकम बोल्नेलाई बाजागाजा र फूलमालासहित विशिष्ट व्यक्तिबाट अभिनन्दन गराइन्छ । केहीले भूमिदान गर्ने भन्दै कबोल्ने गरेका छन् ।


चलनचल्तीको भन्दा महँगो मूल्यांकन गरी लाखौं रुपैयाँ दान गरेको घोषणा गरिन्छ । मूल वाचकको कथा प्रवचन सुनेर र छिमेकीको सिको गरी प्रतिस्पर्धामा उत्रिएर दान गर्नेले वर्षौं हुँदासम्म कबुलेको रकम तिर्दैनन् । आयोजकले यज्ञ सकिएपछि करोडौं रुपैयाँ दान उठेको भनेर प्रचार गर्छन् । यसरी प्रचार गरिएको रकमको ५० प्रतिशत नगद र भूमिदान उधारो हुन्छ । जुन असुल्न वर्षौं धाउनुपर्ने बाध्यता छ ।


यहाँको बर्दघाटस्थित दिव्यज्योति बहुमुखी क्याम्पसले भौतिक संरचना निर्माण र शैक्षिक सामग्री खरिदका लागि ०६३ मा महायज्ञ गर्‍यो । यज्ञ सफल भयो । करिब १ करोड रुपैयाँ संकलन भयो । उक्त यज्ञमा कबुलेको ५ लाखभन्दा बढी रकम उठ्न बाँकी छ ।


१२ वर्षअघिको उक्त ५ लाख लाख उठ्ने विश्वासले धेरै काम भए । उक्त दान जम्मा नभएपछि अहिले पत्र काटेर ताकेता गर्नुपरेको आयोजकले जनाए । त्यही क्याम्पसको रजत जयन्ती अवसरमा आव ०७१/७२ मा आयोजित कार्यक्रममा स्थानीयले धमाधम चन्दा कबोल गरे ।


कबोल गरेमध्ये २५ लाख रुपैयाँ अझै उठेको छैन । विशिष्ट चन्दादातालाई क्याम्पस सभाको सदस्य गराउने प्रावधान राखेको थियो । कबोल गरेको चन्दा रकमका आधारमा क्याम्पस सदस्यको प्रमाणपत्र उपलब्ध गरायो । अहिलेसम्म रकम संकलन नभएपछि क्याम्पसले फागुन मसान्तसम्मको समयसीमा तोकेको छ ।


‘आफूले कबोल गरेको रकम फागुन मसान्तसम्ममा दिने समयसीमा तोकेका छौं,’ क्याम्पस प्रमुख विष्णु लम्सालले भने, ‘फागुनसम्म पनि भुक्तान नगर्ने चन्दादाताले चैतमा हुने क्याम्पस सभामा सदस्यका रूपमा सहभागी हुन पाउने छैनन् ।’


जिल्लामा सञ्चालन भएका अधिकांश महायज्ञमा कबोल दान संकलन भएको छैन । तत्काल नगद दानबाहेक बोलकबोल गरेको रकम जुटाउन पटकपटक ताकेता गर्नुपर्ने र वर्षौं कुर्नुपरेको छ । दाउन्नेदेवी बहुमुखी क्याम्पसको अवस्था पनि यस्तै छ । महायज्ञ आयोजना गरेर पत्रकार सम्मेलनमार्फत करोडौं रकम संकलन भएको जानकारी गराइयो ।


त्यसरी उल्लेख गरिएको नगद र जिन्सी प्राय: उधारो हुने गरेको छ । कालिका मावि कावासोतीमा ०६२ सालमा गरिएको यज्ञमा १५ लाख रुपैयाँ कबोल गरिएको थियो । १३ वर्ष बितिसक्दा पनि अझै बोलेको रकम संकलन भएको छैन । दाताले ‘भोलि/भोलि’ भन्दै टार्ने गरेका छन् ।


भीमसेन आदर्श मावि देवचुलीले १० वर्षअघि चलेका मूल वाचक बोलाएर यज्ञ गर्‍यो । १ करोडभन्दा बढी जिन्सी र नगद दान गर्न सचिवालयमा नाम टिपाए । धेरैलाई हात्ती र रथमा चढाएर सम्मान गरियो । त्यसरी कबोल गरिएको २० लाख रुपैयाँ अझै उठ्न बाँकी छ । ‘कार्यक्रममा सार्वजनिक स्थानमा बोलेको रकम उठ्दैन भन्ने होइन तर वर्षौं हुँदा पनि वाचा पूरा नगर्दा विद्यालयले आँटेका शैक्षिक विकासका काम पूरा हुन सकेका छैनन्,’ वरचुली प्रावि नवलपुरका प्रधानाध्यापक चन्द्रदेव तिवारीले भने, ‘यज्ञमा बोलेको रकमअनुसार काम सुरु गर्दा रकम नउठेपछि अवरुद्ध हुने अवस्था छ ।’


कार्यक्रममा अरूले दान दिएको देखेर लहैलहैमा रकम बोल्ने र पछि घरसल्लाह नमिल्दा केही रकम उठेको पाइँदैन । कतिपय आयोजकले उधारो बोल्नुस्, समय लगाएर दिए पनि हुन्छ भनेर दबाब दिने भएका कारण पनि चन्दादाताले आफूले सक्नेभन्दा बढी बोल्ने गरेका छन् । ‘दान रकम भनेको आफ्नो आर्थिक हैसियतअनुसार सहयोग गर्ने हो,’ परासीका नवराज पौडेलले भने, ‘अरूको देखासिकी गरेर हचुवाका भरमा सार्वजनिक स्थानमा जनमानस देखेर बोल्ने परिपाटीका कारण वर्षौंसम्म पनि रकम उठ्न

नसकेको हो ।’

प्रकाशित : मंसिर २६, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?