२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

खेतमा इँटा उद्योग, धान झुल्ने फाँट मरुभूमि बन्दै 

ठाकुरसिंह थारू

नेपालगन्ज — कुनै बेला बाह्रैमास खेतीपाती हुने खजुरा गाउँपालिका ७, सोनपुरस्थित फाँटमा मंगलबार बिहान धूवाँ उडिरहेको थियो । बालुवा उडेर कुइरीमण्डल थियो । त्यहाँ सिजन अनुसारका बाली देख्न पाइँदैन । खेतमा इँटा उद्योग खोलिएका छन् ।

खेतमा इँटा उद्योग, धान झुल्ने फाँट मरुभूमि बन्दै 

इँटा बनाउन प्रयोग हुने बालुवा उडेर आसपासका खेतका गह्रा पुरिन थालेका छन् । लहलह धान झुल्ने फाँट अहिले मरभूमिमा बन्दै छन् ।


यहाँको जानकी गाउँपालिकामा पनि यस्तै समस्या छ । उब्जाउ खेतमा इँटा उद्योग सञ्चालन गरिएका छन् । खेतमा उद्योग सञ्चालन गर्ने होडले बाँकेका ८ वटै स्थानीय तहमा खेतीयोग्य जमिन घटिरहेको छ । कुन स्थानमा उद्योग सञ्चालन गर्ने भन्ने स्पष्ट सरकारी नीति छैन । त्यसैले जहाँ खाली जग्गा भेटियो, त्यहीं स्थापना गरिन्छ ।


त्यसैले यहाँका खेतमा धान, गहुँको साटो इँटा पाक्न थालेका हुन् । मनपरी उद्योग स्थापना गर्ने क्रम जारी छ । ‘खेतीयोग्य जमिनमा उद्योग सञ्चालन गर्न पाइँदैन भन्ने नीति छैन । त्यसैले खेतमा उद्योग सञ्चालन भएको देखिन्छ,’ घरेलु तथा साना उद्योग कार्यालयअन्तर्गत उद्योग दर्ता शाखाका प्रमुख ऋषिराम पोखरेलले भने ।


सरकारले तोकेको मापदण्ड पुर्‍याएर उद्योग सञ्चालनका लागि अनुमति दिने गरेको उनले बताए । माटो र ठूलो क्षेत्रफल आवश्यक भएकाले इँटा उद्योगीको रोजाइमा खेतीयोग्य जमिन पर्ने गरेको उनले बताए । उनका अनुसार जिल्लामा ६० उद्योग छन् ।


एउटा उद्योगलाइ कम्तीमा ४ सय वर्गमिटर जमिन आवश्यक पर्छ । इँटा बनाउन खेतकै माटो प्रयोग हुन्छ ।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा ५७ हजार २ सय ५२ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ५२ हजार ८ सय ३८ हेक्टरमा खेती हुँदै आएको छ ।


इँटा उद्योग सञ्चालन अनुमति लिँदा ४ सय वर्गमिटर जग्गा देखाउनुपर्छ । त्यस्तै घनाबस्ती, धार्मिक स्थल, विद्यालय र सार्वजनिक स्थलबाट ५ सय मिटर टाढा उद्योग राख्नुपर्ने नीति छ । त्यसबाहेक उद्योग सञ्चालनका लागि स्पष्ट नीति छैन । ‘खेतीयोग्य जग्गामा इँटा उद्योग सञ्चालन हुने प्रमुख कारण नीति नै हो । सञ्चालकले किसानका जग्गा लिजमा लिएर उद्योग खोल्ने गरेको पाइएको छ,’ प्रमुख पोखरेलले भने, ‘खेती गर्नेबाहेक उद्योगका लागि जग्गा पनि छैन ।’


बाँकेमा हाल ५ दर्जन इँटा उद्योग घरेलुको अनुमति लिएर सञ्चालनमा छन् । त्यसबाहेक कतिपय उद्योग अनुमति नै नलिएर चलिरहेका छन् । त्यस्तै किसानले उत्पादन गरेको कृषि वस्तुको राम्रो मूल्य नपाएपछि पनि खेतीयोग्य जमिन मासिँदै गएको हो । खेतीबाट आउने आम्दानीभन्दा बढी मूल्य इँटा उद्योग सञ्चालकले दिने गरेका छन् । उद्योगका लागि जग्गा लिजमा दिँदा परिश्रम पनि गर्न नपर्ने तर राम्रो रकम पाउने गरेको किसान बताउँछन् ।


उत्पादन गरेको अन्नबाली सस्तोमा बिक्री गर्नुपर्छ । जग्गा भाडामा दिने किसानले वार्षिक प्रतिकठ्ठा करिब ४ हजार पाउने गरेका छन् । खेतीबाट त्यति आम्दानी गर्न नसक्ने उनीहरूको अनुभव छ । बीउ, सिँचाइ, मल निकै महँगो पर्ने गरेका कारण किसानहरूले श्रमअनुसारको पारिश्रमिक पाउन नसकेका हुन् । ‘एक क्विन्टल धानको मूल्य बढीमा २ हजार पाइन्छ । त्यसबाट १ बोरा मल पनि किन्न सकिँदैन,’ खजुरा गाउँपालिका सोनपुरका किसान रामदिन यादवले भने, ‘त्यसैले किसानले खेत भाडामा दिन थालेका हुन् ।’


इँटा उद्योगका कारण धूवाँको प्रदूषण पनि बढेको छ । गाउँ/सहर नजिकै ठूला इँटा उद्योग सञ्चालनमा छन् । चारैतिर धूवाँको मुस्लो देखिन्छ । इँटा उद्योगमा इँटा पोल्दा आसपासका खेतको चिस्यान घटेको छ । बालुवाका कारण आसपासका खेतमा उब्जनी घटेको छ ।


सीमासँगै जोडिएको भारतीय सरकारले इँटा उद्योग चलाउन कडाइ गरेपछि नेपालमा आएर सञ्चालन गर्न थालेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालका अनुसार इँटा उद्योगबाट निस्किने सल्फरडाइ अक्साइड ग्यासका कारण बालीनालीमा असर पुग्ने गरेको छ ।

प्रकाशित : मंसिर २६, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?