कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मुख्यमन्त्री आदित्यनाथ जन्तीसहित जानकी मन्दिरमा, पर्यटनमन्त्री अधिकारीसहित प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरे स्वागत [अपडेट]

जनकपुर — भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर विशेष विमानमा जनकपुर विमानस्थालमा अवतरण गरी जानकी मन्दिर पुगेका छन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई स‌ंघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत यहाँका मन्त्रीहरुले स्वागत गरेका थिए ।

मुख्यमन्त्री आदित्यनाथ जन्तीसहित जानकी मन्दिरमा, पर्यटनमन्त्री अधिकारीसहित प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरे स्वागत [अपडेट]

मुख्यमन्त्री योगी विमानस्थलबाट केही समय अघि मात्रै जानकी मन्दिर पुगेका छन् । उनले त्यहाँ जानकीको सामान्य पुजा गरेर मन्दिर परिक्रमा गरेका थिए । उनी अहिले प्रदेश सरकारले आयोजना गरेको भण्डारा तर्फ लागेका छन् ।


आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

योगीको ४ बजे तिर फर्कने कार्यक्रम रहेको छ ।


...


भिटी यूपीरे कलसाइनको निजी विमानबाट आदित्यनाथ बुधबार बिहान १० बजेर ३० मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् । १९ सिट क्षमताको उक्त जहाजको मंगलबार बिहान टेस्ट फ्लाइट गरिएको छ ।

भारतको लखनउबाट उडेको जहाज बिहान जनकपुर विमानस्थलमा अवतरण गर्‍यो । र, केहीबेरपछि फेरि उडेर लखनउ फर्किएको नागरिक उडड्यन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले बताए ।

‘टेस्ट फ्लाइट गरिएकै जहाजमा बुधबार आदित्यनाथ जनकपुर उत्रिनेछन्,’ ढकालले कान्तिपुरसँग भने, ‘उहाँको आगमनका लागि एयरपोर्टको सबै तयारी पूरा भएको छ ।’ आन्तरिक मामिला मन्त्री यादवका अनुसार एयरपोर्टबाट आदित्यनाथ सोझै जानकी मन्दिर पुग्नेछन् । करिव १ घण्टा बढी उनी जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नेछन् । त्यहाँबाट उनी प्रदेश सरकारको सचिवालय रहेको मधेस भवन पुग्नेछन् ।

‘मुख्यमन्त्री निवासको माथिल्लो तल्लामा आदित्यनाथजी केहीबेर विश्राम गर्नेछन्,’ मन्त्री यादवले भने, ‘त्यसपछि उहाँको सम्मानमा आयोजना गरिएको भण्डारा (दिवाभोज) मा सरिक हुनेछन् ।’ उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई मैथिली परम्पराअनुसार स्वागत गरिनेछ । दिवाभोजपछि प्रदेश सरकारका तर्फबाट आदित्यनाथ र साधुसन्तलाई बस्त्र प्रदान गरिनेछ ।

थपिए सुरक्षाकर्मी

हजारौं धर्मावलम्बीको भीड हुने विवाह महोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर आउने भएपछि जनकपुरको सुरक्षा बन्दोबस्त कडा पारिएको छ ।

भीडको व्यवस्थापनका जिल्ला सुरक्षा समितिले छुट्टै सुरक्षा योजना लागू गरेको छ भने आदित्यनाथको सुरक्षाका लागि प्रदेश प्रहरी कार्यालयले अलगै योजना ल्याएको छ ।

हजारौं मानिस उपस्थित रहने राम–जानकी विवाह महोत्सवमा भीडलाई नै प्रमुख थ्रेट (चुनौती) मान्दै सुरक्षा योजना तयार पारिएको छ । आदित्यनाथको भ्रमणले सुरक्षा निकाय झन् चनाखो बनेको छ ।

विवाहपञ्चमीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका करिव ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आन्तरिक मामिला मन्त्री यादवले सुरक्षा चुनौती बढेपछि सुरक्षाकर्मीको संख्या थपिएको बताए । उनले ४ हजारभन्दा बढी सुरक्षाकर्मी मंगलबार नै परिचालन भइसकेको बताए ।

प्रकाशित : मंसिर २६, २०७५ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?