कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वाइडबडी विमान खरिदको छानबिन गर्न सार्वजनिक लेखा समितिले बनायो उपसमिति

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइडबडी विमानको खरिद प्रक्रियाबारे अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले बुधबार काँग्रेस सांसद राजेन्द्र कुमार केसी (राजन) को संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको छ । 

वाइडबडी विमान खरिदको छानबिन गर्न सार्वजनिक लेखा समितिले बनायो उपसमिति

विमान खरिदबारे सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययन प्रतिवेदनलगायतका कागजात अध्ययन गरी यस उपसमितिले १५ दिनभित्र समितिलाई प्रतिवेदन बुझाउनुपर्ने छ । ‘उपसमितिले महालेखाको वार्षिक प्रतिवेदनसहित निगमले समितिमा बुझाएका खरिद प्रक्रियाका डकुमेन्टलगायतका कागजात अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने निर्णय गरिएको छ,’ समिति सभापति भरत कुमार शाहले भने ।

यस उपसमितिमा नेकपाकातर्फबाट कृष्णलाल महर्जन, धर्माशिला चापागाई, प्रेम बहादुर आले, कांग्रेसका तर्फबाट मिना सुब्बा, राजपाकी चन्दा चौधरी र संघीय समाजवादी फोरमका प्रदीप यादव सदस्य छन् । यस समितिमा हालसम्म भएका १६ बैठकमध्ये ६ वटा बैठक वाइडबडी खरिद प्रक्रियामैं केन्द्रित भएका थिए । यस उपसमितिले महालेखा परीक्षकको कार्यालय र सार्वजनिक खरिद अनुगमन कार्यालयले औल्याएका विषयमा अध्ययन केन्द्रित गर्ने जनाइएको छ । त्यसैगरी समितिले निगम र पर्यटन मन्त्रालयलाई लिखित प्रश्न सोध्ने प्रक्रिया अब उपसमितिको जिम्मामा लगाएको छ ।


यो पनि पढ्नुहोस् : सार्वजनिक खरिद अनुगमन कार्यालयकाे निष्कर्ष : वाइडबडी खरिद सम्झौता नै शंकास्पद

यसैबीच संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिले पनि दीपक प्रकाश भट्टको संयोजकत्वमा उपसमिति बनाएको छ । गत साता गठन गरिएको समितिले निगमले पछिल्लोपटक खरिद गरेका न्यारोबडी, वाइडबडी र चिनियाँ विमानबारे अध्ययन गर्ने सांसद भट्टले कान्तिपुरसँग बताए । ‘हाम्रो समितिले एक महिनाको अवधि तोकेको छ,’ उपसमितिका संयोजक भट्टले भने, ‘यो सयमभित्र हामी निगमले पछिल्लो चरण खरिद गरेका सबै प्रकारका वायुयानको खरिद प्रक्रियाबारे अध्ययन गर्ने छौं ।’ उनले यो समयसिमाभित्र अध्ययन नसकिए थप समय लिइने तथा आवश्यक परे सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिसँग समन्वय गरी कतिपय विषयमा संयुक्त अध्ययन पनि गरिने बताए ।


यसअघि अन्तर्राष्ट्रिय समितिले काँग्रेस सांसद प्रकाशमान सिंहलाई उपसमितिको संयोजक तोकेको थियो । तर, सिंहले पार्टीको कार्यव्यस्तताका कारण उपसमितिमा नबस्ने जनाएपछि उनको स्थानमा नेकपाका सांसद भट्टलाई संयोजक तोकिएको हो । उता सार्वजनिक लेखाका सभापतिले पनि बुधबार सांसद हृदेश त्रिपाठीलाई उपसमितिको संयोजककालागि प्रस्ताव गरेका थिए । उनले समय दिन नसिकने जनाएपछि बैठकले काँग्रेसका राजेन्द्र कुमार केसीलाई संयोजक तोकेको हो ।

प्रकाशित : मंसिर २६, २०७५ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?