हिमाल पग्लिरहेका छन्, जोखिम झन् बढेका छन् 

पोखरा — हिमशिखरहरुको आरोहण मैले १७ वर्षको उमेरदेखि नै थालेको हुँ । मलाइ विद्यार्थी बेलादेखि नै आरोहणको रहर थियो । रहरै रहरमा आरोहण थालेपछि संसारको सर्वोच्च शिखरमा पाइला टेक्नुपर्छ भन्ने भयो ।

हिमाल पग्लिरहेका छन्, जोखिम झन् बढेका छन् 

म अरु आरोही जसरी नेपाल आएको होइन । सगरमाथाको आरोहणअघि नै मैले त्यस क्षेत्रको विकासका लागि सहयोग जुटाउन सहयोग संकलनको काम गरेको थिएँ । त्यसले गर्दा नेपाल आएपछि बेग्लै आतिथ्य पाएँ ।


सर्वोच्च शिखर आरोहणका लागि सन् १९९१ मा नेपाल आउँदा म ३० वर्षको थिएँ । अहिले ५८ को भएँ । सगरमाथा आरोहणका लागि त्यसबेला हामी अमेरिकी र रसियन टोली एक साथ उक्लिएका थियौं । मेरा साथी थिए रसियाका अनातोली बौक्रिभ । उनलाई सम्झन्छु– उनी अनुभवी आरोही थिए ।

आरोहण दलमा हामी तीन अमेरिकी र सात रसियन (त्यसबेलाको सोभियत) सदस्य थियौं । ३० वटा याक र २१ भरियासहित चार दिनको पदयात्रापछि आधार शिविर पुगेका थियौं । तीन साताको कठीन आरोहणलाई हाम्रो दलका शेर्पाहरूले सहजीकरण गरेका थिए । त्यो दलमा रहेका जाङबु शेर्पासँग अझै म आरोहण दल पठाउन सहकार्य गरिरहेको छु ।


सर्वोच्च शिखरमा मैले १२ पटक आरोहण गरिसकेँ । टिम लिडर भएर । उद्धार दलको संयोजक भएर । पहिलोपटक आएको बेला सम्झँदा नेपाल धेरै परिवर्तन भएको पाउँछु । हिमाली र पहाडी क्षेत्रमा शिक्षा र विकासले गति लिएको छ ।

अमेरिकी आरोही डेनियल मजुर । पाँचौ पर्वतारोहण महोत्सवमा मंगलवार पोखरामा उनी सर एडमण्ड हिलरी लेगेसी अवार्ड-२०१८ बाट पुरस्कृत भएका छन् । तस्बिर : कान्तिपुर ।

नेपालीको जीवनशैलीमा धेरै फेरबदल भएको छ । तर, पाहुनालाई आतिथ्य गर्ने मायालु संस्कार उस्तै छ । आरोहणमा जानेका लागि अनुभवी शेर्पाहरू उस्तै सहयोगी छन् । उनीहरूका अनुभवले आरोहण यात्रालाई नेपालमा सधैं सहज बनाएको छ ।


सगरमाथा आरोहण हरेक आरोहीको सपना हुन्छ । हिमाल पग्लिरहेका छन् । जोखिम झन बढेका छन् । धेरै जनाले वर्षेनी आरोहण गरिरहेका छन् । तर, सगरमाथाको आरोहण कहिल्यै सजिलो छैन । बाटो नेभेटेर आरोही जोखिममा पर्छन् । ज्यान पनि गुमाउँछन् ।

सन् २००६ का मइमा मैले आरोहणका क्रममा अष्ट्रेलियन लिंकन हललाई बचाउन पाएको थिए । उनले ज्यान जोगिने आस मारिसकेका थिए । उनको टोली छुटेको थियो । उनको ज्यान जोगाउन सकेको घटना सगरमाथा आरोहणका बारेमा चासो राख्ने संसारभरका सबैका लागि खुशीको कुरा थियो । मलाई त्यसयता शिखर चढ्न जानेहरूका लागि चाहिने उद्धार दलको महत्व अझ बढेको अनुभव हुन्छ ।


आरोहण कहिल्यै सजिलो थिएन र हुँदैन पनि । प्रकृतिसँग जोरी खोज्ने मान्छेको रहरको यो एक प्रकारको दुस्साहस नै हो । यस्तो दुस्साहसलाई सफल बनाउन बाटो देखाएर, बनाएर आरोहण सजिलो पारिदिने शेर्पाले हुन् । सर्वोच्च शिखर चढ्न धेरैवटा रुट छन् । कतिपय रुट धेरै जोखिमका छन् ।

अनुभवी र समस्याका बेला छिटो निर्णय लिनसक्ने गाइड साथ भएमात्रै आरोहण सफल हुनसक्छ । म वर्षेनी ९/१० वटा आरोहण दललाई नेपाल पठाउँछु । सोलुखुम्बु र ओखलढुंगाका विभिन्न क्षेत्रमा समुदायलाई शिक्षा र विकासमा सघाउने कोष संकलनमा सहयोगीको काम गर्छु । सगरमाथाको पहिलो आरोहणसँगै मेरो नेपाल नाता अटुट छ ।


– भीम घिमिरेसँगको कुराकानीमा आधारित

प्रकाशित : मंसिर २६, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?