कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

जीप दुर्घटनामा ६ को मृत्यु

दुलही भित्र्याउने हतारले दुर्घटना
जन्ती बने मलामी

दाङ/बाँके — दाङको लमही नगरपालिका ९ रिहारनजिक बुधबार राति स्कार्पियो जिप यात्रुवाहक बससँग ठोक्किदा ६ जनाको मृत्यु भएको छ । बा१२च ३१३२ नम्बरको स्कार्पियो जिप महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना५ख ४०९० नम्बरको बससँग ठोक्किएको हो ।

जीप दुर्घटनामा ६ को मृत्यु

चितवन गीतानगरमा वैवाहिक कार्यक्रम सकेर बाँकेको राप्ती सोनारी गाउँपालिका ८ शमशेरगन्जतर्फ गइरहेको जिप दुर्घटनामा परेको हो ।


दुर्घटनामा दुलाहा यज्ञबहादुर खत्रीका बाबु ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया विमला खत्री, दुलाहाका भतिज ५ वर्षीय प्रविण केसी, आफन्तहरू ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दीपककुमार खडका र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

दुर्घटनामा दुलाहाकी फुपू ४५ वर्षीया गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन् । उनीहरूको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


बुधबार साँझ दुलही लिएर हिँडेका जन्ती राति ११ बजे दाङको सिसहनियामा खाना खान ओर्लिए । मध्यरात भएकाले बिहान पुग्नेगरी जन्तीले आराम गरे । दुलही भित्र्याउने तयारीका लागि जिपमा छिटो गइरहेका बेहुलाका बुवाआमा भने घर पुग्न पाएनन् । पछि रहेको जन्तीको टोली मलामी बनेर गाउँ फर्के । जन्ती एउटा बस, कार र जिपमा थिए ।


‘सिसहनियामा राति खाना खायौं । खाना खाने बेला दुलाहाका बुवाले भित्र्याउने तयारी गर्न आफूहरू छिटो पुग्नुपर्ने भन्नुभयो,’ दुलाहाका आफन्त जितबहादुर खत्रीले भने, ‘दुलहीसँग बसेकी आमालाई पनि बोलाएर आफूसँगै जिपमा बस्नुभयो । साथमा दुलाहाकी फुपू र भतिज थिए ।’

सिसहनियामा आराम गरेर ढिलो हिँडेका जन्तीले दुर्घटनाको खबर सुने । ‘खबर सुनेर तत्काल घटनास्थल पुग्यौं,’ उनले भने, ‘यस्तो दु:खद् घटना आइपर्‍यो । हामीलाई अघि बढ्न कठिन भयो । गाउँमा कसरी जाऔं जस्तो भयो ।’


तयारीका लागि हतारिँदा नराम्रो घटना भएको उनले बताए । ‘जन्ती बस र दुलाहा–दुलहीको कार पछि थियौं । अघि गएको जिप दुर्घटनामा परेको देख्नुपर्‍यो,’ खत्रीले भने । जिप तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विपरीत लेनमा गएर गाडीमा ठोक्किएको र जिपमा बढी क्षति भएका कारण तीव्र गति मुख्य कारण देखिएको एसपी बेलबहादुर पाण्डेले बताए । ‘सामान्य गतिमा भए त्यति धेरै क्षति हुने थिएन । अर्को साइडमा गएर ठोक्किएका कारण चालक निदाएको पनि हो कि भन्ने आशंका छ,’ उनले भने, ‘जिपकै लापरबाहीले बढी क्षति हुन पुगेको छ ।’


खोसियो खुसी

दुर्घटनामा एकै परिवारका तीन गरी ६ जनाको मृत्यु भएपछि गाउँ शोकमग्न बनेको छ । बेहुलाका आफन्तजन र छिमेकीको आँसु थामिएको छैन । ‘दुर्घटनाछि गाउँ शोकमा डुबेको छ । कोही बोल्न सक्ने अवस्थामा छैनन्,’ राप्ती सोनारी गाउँपालिका ८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले कान्तिपुरसँग भने, ‘घटनापछि गाउँमा सन्नाटा छाएको छ, अकल्पनीय घटना भयो ।’ वडाध्यक्ष बस्नेतले सान्त्वना दिन आएका आफन्तजन आफैं रोइरहेको अवस्था रहेको बताए ।

आफन्तजनलाई सान्त्वना दिन राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधि शमशेरगन्ज पुगेका थिए । गाउँपालिकाका प्रमुख लाहुराम थारूले घटनाको छानबिन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : मंसिर २७, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?