कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाढीले बगाएका गैंडा भारतले ल्याउन दिएन 

नारायण शर्मा

नवलपरासी — ६ महिनाअघि नारायणी नदीको भेलले बगाएर भारत पुर्‍याएको ३ वटा गैंडा भारतले नेपाल ल्याउन दिएको छैन ।

बाढीले बगाएका गैंडा भारतले ल्याउन दिएन 

चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेका अनुसार नेपालबाट त्यति बेला बगेका गैंडा भारतको बाल्मिकीनगरको निकुञ्जको जङ्गलमा रहेको छ । त्यहीको जङ्गलमा रहेका ३ गैंडालाई पर्याप्त घाँसे मैदान र पानीको व्यवस्था नरहेका कारण नेपाल ल्याउन निकुञ्जले खोजेको हो।


त्यहाँ रहेका एक सिंगे गैंडालाई वासस्थान र आहाराको प्रर्याप्तता नभएका कारण तिनलाई यहाँ ल्याउन पर्ने निष्कर्षमा निकुञ्ज पुगेको हो ।


त्यति बेला भारत पुगेका ११ गैंडालाई निकुञ्जले त्यति बेलै नेपाल फर्काएको हो । गैंडा सुस्ता नजिकको भारतीय जङ्गलमा रहेको छ । त्यो सिमानाको जङ्गलमा कहिले नेपालतिर कहिले भारततिर चर्दै आएको छ ।


वारि पट्टिको जङ्गलमा आउन साथ त्यसलाई डाट गरेर (बेहोस बनाएर) ल्याउने दाउमा कर्मचारी रहेका छन् । सुस्ता क्षेत्रमा देखिएको गैंडा भाले हो । अन्य २ वटा गैंडा भारतीय जङ्गलमा रहेका छन् । एउटा भाले गैंडा सुस्ता आसपासको जङ्गलमा दिनहुँ देखिएपछि निकुञ्जका कर्मचारी तातेका हुन् । अन्य दुई वटा गैंडा भारततर्फ नै रहेकाले छोप्न समस्या हुने उनको भनाई छ ।


निकुञ्जका प्रवक्ता गोपाल घिमिरेका अनुसार गैंडा ल्याउनका लागि प्राविधिक टोली गएपनि भारतीय सुरक्षाकर्मीले त्यहाँको केन्द्र सरकारको अनुमति चाहिने भन्दै समात्न (औषधीले बेहोस बनाएर ल्याउन नदिएको हो । गैंडा समात्न २ वटा हात्ती सहित १० जनाको टोली सुस्ता क्षेत्रमा खटिएको छ । त्रिवेणी पोष्टका कर्मचारीको नेतृत्वमा त्यो टोली दुई सातादेखि खटिएको छ ।

गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्ज त्रिवेणी रेन्जर पोष्टका रेन्जर दिनेश चौधरीको नेतृत्वमा २ वटा हात्ती सहितको टोली उक्त क्षेत्रमा रहेको छ । तर भारतले आफ्नो वन क्षेत्रमा रहेका गैंडाको रेखदेखका लागि कर्मचारी नै खटाएर नेपाल आउनतर्फ रोक्ने गरेको सुस्ताका स्थानीयको भनाई छ ।


ती गैंडाहरु सुस्ता आसपासका क्षेत्रमा रहेका छन् । भारतीय सुरक्षाकर्मीहरु गैंडा चर्दै नेपालतर्फ नगैदिउन भन्ने कुरामा चनाखो रहने गरेका छन् । निकुञ्जबाट विभाग हुँदै वन मन्त्रालय, वन मन्त्रालयबाट परराष्ट्र मन्त्रालय र परराष्ट्रबाट भारतलाई गैंडा फिर्ता गर्नका लागि पत्राचार गरेको ३ महिना बढी भए पनि पत्रको जवाफ नआएको प्रवक्ताले बताए ।

प्रकाशित : मंसिर २७, २०७५ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?