१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

नेपाल–चीन परामर्श संयन्त्रको बैठकमा रेल र राष्ट्रपतिको भ्रमण चर्चा

चेतनाथ आचार्य

बेइजिङ — नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको बैठकमा रेल र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे छलफल भएको छ । बिहीबार बिहान सुरु भएर दिउँसो सम्पन्न बैठकमा यसअघि दुई देशबीचमा भएका सम्झौताको कार्यान्वयनको समीक्षा गरिएको थियो ।

नेपाल–चीन परामर्श संयन्त्रको बैठकमा रेल र राष्ट्रपतिको भ्रमण चर्चा

बेइजिङस्थित नेपाली दूतावासका मिनिष्टर काउन्सिलर हरिश्चन्द्र घिमिरेका अनुसार विशेष गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएको चिनियाँ रेललाई नेपालसम्म लैजाने सम्झौता, दुई देशबीचको सडक सञ्जाल, नेपालमा चिनियाँ लगानी, नेपालमा चिनियाँ पर्यटनको प्रवर्धनलगायतका विषयमा छलफल भएको थियो । केही महिना अगाडि दुई देशबीचमा भएको यातायात तथा पारवहन सम्झौतालगायतमा विषयमा पनि छलफल भएको थियो ।


बैठकमा नेपाली पक्षको नेतृत्व सचिव वैरागी र चिनियाँ पक्षको परराष्ट्र मन्त्रालयका उपमन्त्री खोङ सुआनयौले गरेका थिए । बैठकमा नेपालका लागि प्रस्तावित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन् । बैठकअघि चीन भ्रमणमा रहेका परराष्ट्र सचिव शङ्कर दास वैरागीले चीनका परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए ।


सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गर्ने सम्भावनाका बारेमा पनि बैठकमा छलफल भएको बताइएको छ । 'संयन्त्रको बैठकमा उच्चस्तरीय भ्रमण आदानप्रदानका बारेमा छलफल भएको छ' घिमिरेले कान्तिपुरसँग भने, ‘चिनियाँ राष्ट्रनायकले नेपालको भ्रमण गर्ने सम्भावना छ तर यस बारेमा स्पष्ट रूपमा तिथि मिति उल्लेख भएको छैन ।

चीन भ्रमणमा रहेका परराष्ट्र सचिव शंकर दास वैरागी चीनका परराष्ट्रमन्त्री वाङ यीसँग शिष्टाचार भेटवार्ताका क्रममा । तस्बिरः एएफपी ।

आगामी मार्चमा चीनको हाइनान प्रान्तमा हुने पोआवो एसिया मञ्चमा चाहिँ नेपालबाट उच्चस्तरीय नेतृत्व सहभागी भए हुन्थ्यो भन्ने चिनियाँ पक्षको आग्रह रहेको बताइएको छ । साथै बैठकमा नेपालले बेहोर्दै आएको व्यापार घाटाको विषयसँगै कसरी नेपाली उत्पादनलाई चीनमा बजार बिस्तार गर्ने भन्ने बारेमा पनि छलफल भएको घिमिरेले बताए । त्यस्तै गत महिना सम्पन्न शाङहाई आयात मेलामा नेपालको उपस्थितिको पनि समीक्षा भएको थियो । नेपाली उत्पादनलाई चिनियाँ उपभोक्तासम्म पुर्‍याउन आफूहरूले प्रयत्न गर्ने संयन्त्रमा सहभागी चिनियाँ पक्षले बताएका थिए । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको सहभागिता र यसका परियोजनाका सम्भावना बारेमा पनि छलफल भएको घिमिरेले बताए ।

दुई पक्षीय सम्बन्धलाई सहज र अझै प्रगाढ बनाउने उद्देश्यले सन् १९९६ मा नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको स्थापना भएको हो । दुवै देशका परराष्ट्र सचिवको नेतृत्वमा परामर्श संयन्त्रको बैठक हरेक वर्ष आलोपालो गरी दुवै देशमा बस्ने भनिए पनि हुन सकेको थिएन । गत वर्ष संयन्त्रको ११ औँ बैठक काठमाडौँमा बसेको थियो । १२ औँ बैठक चीनमा भयो भने १३ औँ बैठक आगामी वर्ष काठमाडौँमा बस्नेछ ।


प्रकाशित : मंसिर २७, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?