३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

संविधान कार्यान्वयन आवश्यक :पूर्वराष्ट्रपति

रासस

काठमाडौँ — पूर्व राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताएका छन् । 

संविधान कार्यान्वयन आवश्यक :पूर्वराष्ट्रपति

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद’ को बिहीबार यहाँ विमोचन गर्दै उनले कांग्रेसको विचार र सिद्धान्त अनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा कांग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताए ।


उनले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पूर्वराष्ट्रपति डा यादवले पार्टीभित्र गुटउपगुट अन्त्य गरी एक भएर अघि बढ्न सुझाव दिए ।


विकास निर्माणका ठूला पूर्वाधारले तराई र चुरे क्षेत्रको वन विनाश हुँदा भूक्षय र मरुभूमिकरण बढ्दै गएको भन्दै यसलाई संरक्षण गर्न ध्यान दिनुपर्ने उनको आग्रह थियो ।


कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा कांग्रेसको लोकतान्त्रिक समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताए ।


विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उनले विचारकै प्रधानता हुनुपर्ने बताए । कांग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेको उनको जोड थियो ।

प्रकाशित : मंसिर २७, २०७५ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?