२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

उद्योगका कारण पढाइ प्रभावित 

देवनारायण साह

मोरङ — विद्यालयनजिकै खोलिएको एक स्टिल उद्योगको चर्को आवाजका कारण तीन सय बालबालिकाको पढाइ प्रभावित भएको छ । उद्योगले सस्तो भाडामा विद्यालयको जग्गासमेत प्रयोग गरेको छ ।  

उद्योगका कारण पढाइ प्रभावित 

सुनसरीको दुहबी नगरपालिका– २ मा खुलेको प्रिमियम उद्योग प्रालिको आवाजले स्थानीय नवीन शिक्षा निकेतन आधारभूत विद्यालयका बालबालिकाको पढाइ प्रभावित भएको हो । यो उद्योग विद्यालयबाट डेढ सय मिटर दूरीमा छ ।

कक्षा ७ मा अध्ययनरत खटिजा खातुनले स्कुल र घरमा समेत पढ्न नसकेको बताइन् । ‘उद्योग चलेका बेला घरमा बस्न पनि डर लाग्छ,’ उनले भनिन्, ‘घर नै थर्किने आवाज आउँछ ।’

प्रधानाध्यापक सुरेन्द्रकुमार चौधरीले विद्यालयनजिकै उद्योग भएका कारण पढाइ प्रभावित हुने गरेको बताए । विद्यालयले उद्योगका लागि बाटोका रूपमा प्रयोग गर्न जग्गासमेत दिएको छ । सुनसरी–मोरङ सिँचाइ योजनाको कुलोको पूर्वपट्टि डिलबाट ३० फिट चौडा ५० मिटर जग्गा उद्योगलाई दिएको हो । त्यसबापत उद्योगले विद्यालयलाई ८ लाख रुपैयाँ दिने सम्झौतापत्रमा उल्लेख छ ।


प्रधानाध्यापक चौधरीले २० जना अभिभावक बोलाएर जग्गा दिने निर्णय गरेको बताए । सम्झौतापत्रमा कति समयका लागि जग्गा दिने भन्ने खुलाइएको छैन । शिवरतन शारडा अध्यक्ष रहेको उक्त उद्योगको सञ्चालक पवन शारडा, उनका छोरा सौरभ शारडा, नन्दकिशोर राठी र उनका छोरा अनुपम राठी हुन् ।


उद्योगका कारण सिँचाइ कुलोसमेत प्रभावित भएको स्थानीय मोहम्मद युनिसले बताए । योजनाको रामगन्ज शाखाअन्तर्गत भीसी (वाटरकोर्स) मा असर गरेकाले सिँचाइ गर्न कठिनाइ भएको गाउँलेले बताएका छन् । शाखाका जल उपभोक्ता समिति अध्यक्ष टेकचन्द्र विश्वासले दुहबी नगरपालिका र उद्योगीलाई सिँचाइका लागि बनाइएको भीसी मास्न नपाइने भएकाले व्यवस्थापन गर्न भनेको बताए ।


योजनाका योजना प्रमुख हरिराम श्रेष्ठले उद्योगका कारण सिँचाइ प्रभावित भएको जानकारी नआएको बताए । यसबारे प्राविधिक खटाएर अध्ययन गर्ने उनको भनाइ छ । उनले उद्योगको बीचमा परेको भीसीलाई त्यही जग्गाको एकतिरबाट निर्माण गर्न सकिने कानुनी व्यवस्था रहेको बताए ।


उद्योगभित्र जडान गरिएको डिप बोरिङले आसपासका ट्युबवेलमा पर्याप्त पानी आउन छाडेको गाउँलेले बताए । कतिपय ट्युबवेल सुकेको उनीहरूको भनाइ छ । उद्योगको पर्खालले पानीको बहाव रोकिँदा वर्षायाममा गाउँ जलमग्न हुने गरेको स्थानीयले बताए ।

‘वर्षामा घरघरमा पानी पसेको थियो,’ स्थानीय सैनी साहले भने, ‘उद्योगले लगाएको पर्खालले पानीको बहाव रोकिँदा गाउँ जलमग्न हुन थालेको छ ।’ उद्योगबाट निस्कने प्रदूषित पानीले गाउँले र चौपायालाई असर गरिरहको उनले बताए ।


सुनसरीको दुहबी नगरपालिका २ तुतहा गाउँमा स्थापना गरी सञ्चालनमा ल्याइएको प्रिमियर स्टिल उद्योगका लागि स्थानीय नविन शिक्षा निकेतन आधारभूत विद्यालयको जग्गामा निर्माण गरिएको सडक । तस्बिर : देवनारायण/कान्तिपुर


नगर प्रमुख वेदनारायण गच्छदारले उद्योगले स्थानीयका समस्या समाधान गर्न लागिपरेको बताए । ‘उद्योगीसँग प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बुझाउन पत्राचार गरेका छौं,’ उनले भने, ‘यो उद्योग आफूहरू निर्वाचित भएर आउनुअगाडि नै सञ्चालनमा आएकाले कसरी स्थापना भयो भन्नेबारे जानकारी भएन ।’


सञ्चालकमध्येका पवन शारडाले प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय मूल्यांकन गरेरै उद्योग स्थापना गरेको बताए । उद्योगको जग्गामा नहरको भीसी नभएको उनको दाबी छ । ‘उद्योगबाट कुनै किसिमको प्रदूषण भएको छैन,’ उनले भने, ‘हामीसँग अवैध रूपमा रकम असुल्नका लागि केही व्यक्तिले अनावश्यक रूपमा स्थानीयलाई उचालिरहेका छन् ।’

उनले सरकारसँग अनुमति लिएर उद्योग स्थापना गरेको र त्यसबापत कर बुझाइरहेको बताए ।


स्थानीय बासिन्दाले उद्योग व्यवस्थित गर्न आग्रह गर्दै मानव अधिकार आयोग, उद्योग तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायमा ११ बुँदे ज्ञापनपत्र दिएका छन् ।

प्रकाशित : मंसिर २७, २०७५ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?