कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेस विचलित : पूर्वराष्ट्रपति यादव

काठमाडौँ — पूर्वराष्ट्रपति रामवरण यादवले कांग्रेस सैद्धान्तिक रूपमा विचलित हुन थालेको बताएका छन् । महासमिति बैठकको पूर्वसन्ध्यामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तक ‘नेपाली कांग्रेस लोकतान्त्रिक समाजवाद, पुनर्निर्माणको मार्गचित्र’ को विमोचन कार्यक्रममा यादवले उक्त कुरा बताएका हुन् । 

कांग्रेस विचलित : पूर्वराष्ट्रपति यादव

उनले मधेसको मुद्दा समाधान गर्ने र धर्म परिवर्तन गर्न नपाउने गरी संविधान संशोधनमा कांग्रेसले प्रस्ट एजेन्डा अघि सार्नुपर्ने बताए । आधाभन्दा बढी जनसंख्या भएको मधेसमा कांग्रेसको पकड कसरी कमजोर बन्न पुग्यो भन्दै उनले कांग्रेस नेताहरूलाई त्यसबारे गम्भीर भएर लाग्नसमेत सुझाव दिए ।


कार्यक्रममा नेता पौडेलले समाजवादबारे पार्टीभित्र बहस आरम्भका लागि पुस्तक सार्वजनिक गरिएको बताए । पार्टीभित्र बैचारिक नेतृत्वको खडेरी नपरे पनि विचारको नेतृत्व दिन सक्ने नेता भने अघि बढ्न नसकेको पौडेलको तर्क थियो । पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनले वैचारिक नेतृत्व दिन सक्नेभन्दा ‘डाङडुङे’ प्रवृत्ति अघि बढ्ने गरेको टिप्पणी गरे ।


कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीले पौडेलको अभिव्यक्तिको जवाफ महाभारतका दुई पात्रबाट सुरु गरे । महाभारतमा भीम र युधिष्ठिरको भूमिकालाई राजनीतिसँग तुलना गरेर हेर्नुपर्ने तर्क गर्दै गिरीले भने, ‘भीम नभएको भए युधिष्ठिर हुन्थेनन्, राजनीतिमा पनि ‘डाङडुङे’ मान्छे रहिरहन्छन् ।’ गिरीले जनता र पार्टी कार्यकर्तामा आधारित समाजवादउन्मुख कार्यक्रम कांग्रेसले ल्याउन सक्नुपर्ने बताए ।


‘विकास भनेको राजनीतिक प्रक्रिया हो भनेर बीपीले भन्नुभएको थियो । त्यही प्रक्रियामा नेपाली जनता र कार्यकर्तालाई समावेश गरेर अघि बढ्न सक्नुपर्छ,’ उनको भनाइ थियो ।


बीपीले समाजवादको व्याख्याबारे धेरै विचार र दृष्टिकोण नेपाली समाजलाई दिएर गएको उल्लेख गर्दै उनले राम्रा विचारलाई लिएर नराम्रालाई त्याग्न सक्नुपर्ने बताए ।


पूर्वअर्थमन्त्री रामशरण महतले राज्य ढुकुटी बढाएर मात्रै समाजवाद उन्मुख कार्यक्रम अघि बढाउन सकिने बताए । प्राध्यापक लोकराज बरालले २००७ सालदेखि नै राजनीतिमा कांग्रेसले एजेन्डा सेट गर्दै आएको बताए ।

प्रकाशित : मंसिर २८, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?