कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाउ नबार्नेलाई सम्मान

बझाङ — जिल्लाका अधिकांश गाउँमा महिनावारी भएका महिलालाई गरिने विभेद अझै यथावत् नै छ । कतिपय गाउँ छाउगोठ मुक्त घोषणा गरिए पनि महिलाहरू पाल टाँगेर छाउपडी बार्ने गरेका छन् ।

छाउ नबार्नेलाई सम्मान

तर कुनै–कुनै गाउँका महिलाले साहसपूर्वक छाउपडी प्रथाको विरोध पनि गर्न थालेका छन् । यसरी अन्धविश्वास तोड्न साहस गर्ने महिलालाई विभिन्न संघसंस्थाले सम्मानित गरेका छन् ।


तल्कोट गाउँपालिका १ खातीगाउँकी ३४ वर्षीया विन्दु खाती पहिलोपटक १४ वर्षको उमेरमा नछुने भएकी हुन् । उनले जीवनका २० वर्ष हरेक महिनाको ५ दिन गोठमै बिताइन् । गोठ बस्दा उनले भोगेको दु:ख भनिसाध्य छैन । उनी भन्छिन्, ‘कसैले खन्याएर दिएन भने तिर्खा लागेका बेला पानी खान पाइँदैनथ्यो,’ लामो समय गोठमा बसेका कारण चिसो लागेर अहिले उनका हातखुट्टा सुन्निने गर्छन् ।


गाउँभन्दा टाढा भएको एक मात्र साँघुरो छाउगोठमा कहिले गाउँभरिका महिला बस्न ठाउँ नहुने, कहिले एक्लै डराइ डराइ बसेको, गोठमा ठाउँ नभएको दिन खेतको भित्तामा पाल टाँगेर, बर्खायाममा शरीरमै सर्प खसेको जस्ता तीता सम्झना उनको दिमागमा अझै पनि ताजा छन् ।


महिनावारी भएको समयमा घर नजिक आउनुहँुदैन, पानीका धारामा छुनुहुँदैन नत्र देउता रिसाएर अनिष्ट हुन्छ भन्ने मान्यताले जरो गाडेको समाजमा सुरुमा घरभित्र बस्दा समाजले कम्ती कुरा काटेन । तर अहिले छाउपडी प्रथा महिलामाथिको हिंसा हो भन्ने बुझदै गएकी विन्दुले यस्ता कुरा सुनेको नसुनेझैं गरिन् ।


‘एक वर्षयता महिनावारी (छाउ) भएको समयमा घरभित्रै बस्छु । न देवीदेउता रिसाएका छन् न त घरमा नै केही भएको छ । यो त खालि अन्धविश्वास मात्र रहेछ,’ उनले भनिन्, ‘हाम्रो सिको गर्दै अहिले गाउँका धेरै महिला घरभित्र बस्न थालिसकेका छन् । अहिलेसम्म कसैलाई केही भएको छैन ।’


एकपछि अर्काे गर्दै महिलाले घरभित्र बस्ने र साबिकका झैं खानेकुरा खाने गर्न थालेपछि अहिले यहाँका धेरैजसो महिलाले छाउपडी बार्न छाडेको बताउँदै चौरगाउँकी रामकला विकले भनिन्, ‘छाउ भएको समयमा दही, दूध खाँदा गाईभैंसी बिग्रने, मर्ने, दूध नदिने, सन्तान नहुने भन्ने चलन थियो । सुरुमा त निकै डर लागेको थियो । पहिला घरभित्र बस्याैं विस्तारै दूध, दही खान सुरु गर्‍यौं । कसैलाई केही भएन ।’


लामो समयसम्म रुढिवादी परम्परालाई मान्दै दु:ख खेपेकामा यहाँका महिलालाई निकै पछुतो छ । ढिलै भए पनि छाउ प्रथा भनेको नराम्रो हो भनेर बुझ्न पाएकामा खुसी पनि छन् उनीहरू । स्थानीय तिपुरी खाती भन्छिन्, ‘अबदेखि हाम्रा छोरी/बुहारीले हाम्रो जस्तो दु:ख भोग्नु नपर्ने भो, यसैमा खुसी छौं ।’ छाउपडी प्रथा, मदिरा र महिला हिंसा न्यूनीकरणका लागि वडापालिकाले पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको वडाध्यक्ष गोपालबहादुर धामीले बताए ।

प्रकाशित : मंसिर २८, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?