कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बस किन्दै नगरपालिका

रुकुम पश्चिम — सरकारले सिन्डिकेट हटाए पनि आफैंले सार्वजनिक सवारी सञ्चालन नगर्दा यातायात क्षेत्रमा बेथिति कायमै छ । चौरजहारी नगरपालिकाले भने नगर बससेवा सञ्चालनको तयारी गरेको छ ।

सर्वसाधारणलाई सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराउने भन्दै नगरपालिकाले ३ बस सञ्चालनको तयारी गरेको हो ।


गत असोज २० गते बसेको नगर कार्यपालिकाको बैठकले सर्वसाधारणको सजिलोका लागि बस सञ्चालन कार्यविधि पास गरिसकेको छ । कार्यपालिकाको निर्णयअनुसार बस खरिदका लागि नगरपालिकाले सूचना जारीसमेत गरिसकेको छ । नगर बस सञ्चालनका लागि ३ बस खरिदका सूचना जारी गरिसकेको नगरप्रमुख विशाल शर्माले बताए ।


आवश्यक प्रक्रिया पुगेपछि बस आइपुग्ने शर्माको भनाइ छ । नगरपालिकाका सबै वडामा सडक पुगिसकेको अवस्थामा स्थानीयलाई सर्वसुलभ यातायात सेवा प्रदान गर्न बस सञ्चालनमा ल्याउन लागेको हो । सबै बस ३२ सिट क्षमताका हुने जनाइएको छ ।


३ बसमध्ये चौरजहारी उपत्यकादेखि १४ नम्बर वडाको नुवाकोटडाँडासम्म २ बस चल्नेछन् । एउटा बस बिहान नुवाकोटडाँडादेखि चौरजहारीसम्म चल्नेछ भने अर्को बस पनि सोही रुटमा सोही समयमै चलाइनेछ । नगरपालिकादेखि सबैभन्दा टाढा भएको १४ नम्बर वडाको नुवाकोटडाँडा र तिमिले गाउँ हो ।


चौरजहारी उपत्यकादेखि नुवाकोटडाँडासम्मको सडक ३२ किमि छ । अर्को बस चौरजहारी उपत्यकाभित्रै सञ्चालन गरिनेछ । सर्वसाधारणलाई नगरपालिका कार्यालय पुर्‍याउने, चौरजहारी अस्पताल पुर्‍याउने तथा उपत्यकाभित्रै आवातजावत गर्नेका लागि बस सञ्चालन गरिनेछ । नगरपालिकाले गत आवमा नगरका १४ वडामै सडक पुर्‍याइसकेको छ ।


‘सबै वडा सडक सञ्जालमा जोडिसकेका छन्, सडक जोडिएर मात्रै भएन त्यसमा गुड्ने साधन नभएपछि सडक निर्माणको औचित्य भएन,’ नगरप्रमुख शर्माले भने, ‘त्यसैले स्थानीय सरकार आफंैले बस सञ्चालन गरी जनतालाई सेवा प्रवाह गर्न लागेको हो ।’


अबको ३ महिनामै स्थानीयले पैदल हिँड्नुपर्ने बाध्यताबाट छुटकरा पाउने नगरपालिकाको दाबी छ । जोखिम साथ यात्रा गर्नुपर्ने तथा महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य पनि नगर बस सञ्चालनबाट गरिने नगरपालिकाको दाबी छ ।

प्रकाशित : मंसिर २८, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?