‘पैसा’ ले राउटे पेसा संकटमा

करिश्मा चौधरी

सुर्खेत — राउटे समुदायको परम्परागत पेसा हो, काठका भाँडाकुँडा बनाउने । अहिले भने उनीहरूको आन्तरिक तथा बाह्य समाजका कारण परम्परागत पेसा संकटमा पर्दै गएको छ ।

‘पैसा’ ले राउटे पेसा संकटमा

राउटेले जंगलमा काठका कोसी, मदुस, पिर्कालगायत बनाई गाउँगाउँ पुगेर अन्न साट्ने गर्थे । आफ्नो परम्परागत पेसा सम्झिँदा समुदायका पूर्वमुखिया महिनबहादुर शाहीलाई चिन्ता लाग्छ । ‘पहिला दु:ख गरी सीप बेचेर खायाको, कोसी, मदुस, पिर्का बनायाको,’ उनले आफ्नै लवजमा भने, ‘अहिले भत्ता थाहा पाएर भत्ता पाइसक्यापछि त सजिलो भयो ।’


पहिले आफूहरूले काठका सामान बनाएर गाउँगाउँ पुगी अन्नसँग साटेर छाक टार्ने गरेको उनले बताए । कोही कसैले किने भने बेच्थे र त्यही पैसाबाट अन्न किन्थे तर अहिले राउटेले त्यस्ता सामान कमै बनाउने गरेको बताए ।


राउटेको संस्कृतिसँग उनीहरूको पेसा र मान्यता जोडिन्छ । काठका आकर्षक सामग्री बनाएर उनीहरूले आफूलाई फरक र मौलिक जातका रूपमा चिनाइरहेका थिए । राउटेले बनाएका काठका सामान आकर्षक हुन्थे ।


त्यही सामानसँगै राउटेको पहिचान पनि जोडिएको थियो तर पछिल्लो समय उनीहरू कमै मात्र त्यस्ता सामान बनाउँछन् । यस्तै अवस्था रहे काठका सामग्री बनाएर बेच्ने राउटे आफैं बजारका सामानको भर पर्नुपर्ने स्थिति आउन सक्छ ।


पहिले राउटेले छाक टार्ने मुख्य आधार भनेको काठको सामग्री थियो । छाक टार्न उनीहरूले धेरै मिहिनेत गर्नुपथ्र्यो । आजभोलि अवस्था अर्कै भएको छ । पहिलाजस्तो दु:ख गर्नु पर्दैन । सरकारले राउटेलाई सामाजिक सुरक्षाभत्ताबापत मासिक रूपमा प्रत्येकलाई २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।



भाँडामा पानी लिएर घर जाँदै एक राउटे युवती । तस्बिर : कान्तिपुर

यसले आफूहरूलाई छाक टार्न केही सजिलो भएको बताउँछन् । आफूहरूले परम्परागत काठका सामान नबनाउनुको अर्को कारण चाहेजस्तो रूख नपाउनु पनि रहेको राउटेको भनाइ छ । ‘यहाँको वनमा छिर्नै पाइँदैन, क्या गर्ने हो त,’ हरिबहादुर शाहीले भने, ‘वनबाट दाउरा ल्याउन पाएको छैन, क्या गरी रूख काटेर सामान बनाउन्या हो ।’ आफूहरूले सामान बनाउने रूख टुनी, सिमल, खमारी कमै पाइने उनले बताए । वनमा पस्न नपाउँदा वनमा केही छ भन्ने पनि थाहा नहुने उनले बताए ।


राउटेहरू सामान बनाउन गाब, सालजस्ता ठूला रूख र हुर्किंदै गरेका बुटा काटदैनन् । टुनी, सिमल, खमारीको रूखबाट सामान बनाउने गरेको बताउँछन् । यसले वनलाई धेरै नोक्सानी नपुग्ने पनि उनीहरूको भनाइ छ तर आफ्नो परम्परागत पेसा लोप हुँदै गएमा राउटेको संस्कृति लोप हुने उनीहरू बताउँछन् ।


राउटेहरू बस्ने निश्चित स्थान छैन । बेलाबेलामा बसाइँ सरिरहन्छन् । एकै ठाउँमा धेरै बस्न नहुने उनीहरूको मान्यता छ । समुदायको कोही सदस्यको मृत्यु भए बस्ती सर्छन् ।


त्यस्तै अरू समुदायको मानिसको आउजाउ बढे पनि बस्ती सर्छन् । खेतीपाती गरेर खानु, घर बनाएर बस्नु, अर्काको सित्तैमा खानुलाई संस्कारविपरीत सम्झन्छन् । पहिले पैसा छुँदा पाप लाग्छ भन्ने राउटे अहिले पैसाका लागि पराम्परागत पेसाबाटै टाढा हुँदै छन् ।


पछिल्लो समय राउटेले आफ्ना हरेक कुरामा पैसा जोड्न थालेको स्थानीयले बताए । अहिले राउटे बस्ती रहेको लेकबेंसी नगरपालिका १ का बासिन्दाले कुरा गर्दा, फोटो खिच्छु भन्दा पनि पैसा माग्न थालेको बताउँछन् ।


भत्ता वितरण

अहिले लेकबेंसी नगरपालिका १ मा रहेका राउटे बस्तीमा गएको शनिबार सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । बस्तीमा रहेका १ सय ४७ राउटेलाई २ महिनाको भत्ता वितरण गरिएको दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।


राउटेलाई प्रतिव्यक्ति महिनाको २ हजार रुपैयाँका दरले भत्ता दिइन्छ । गत असार ३० गते गुराँस गाउँपालिका ८ बाट राउटेलाई परिचयपत्र वितरण गरिएको थियो ।


गुराँस गाउँपालिकाबाट परिचयपत्र पाएकाले गाउँपालिकाले बस्तीमै पुगेर भत्ता वितरण गरेको हो । राउटेहरू गाउँपालिकाले परिचयपत्र दिएकाले उनीहरूलाई बस्तीमै पुगेर भत्ता वितरण गरिएको अध्यक्ष ओलीले बताए ।

प्रकाशित : मंसिर २८, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?