कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तंग्रँदै दार्चुला

२०७० असार २ गते राति आएको बाढीले त्रिदेशीय सीमानाका भएको दार्चुलालाई तहसनहस बनायो । अहिले क्रमश: तंग्रिँदै छ । पछिल्लो समयमा विस्तार हुँदै गएको पूर्वाधार विकासले जिल्लाको मुहार फेरिँदै छ । 
अर्जुन शाह, मनोज बडु

दार्चुला — महाकालीको बाढीले घर बगाएपछि दार्चुला सदरमुकाम खलंगाका विसनसिंह खरियालको परिवारले कैयौं रात खुला आकाशमा बिताउनुपर्‍यो । सातापछि बल्ल त्रिपालको ओत पाएका उनी हिजोआज सदरमुकाममा फेरिँदै गएको विकास पूर्वाधारले त्यतिबेलाको दु:ख बिर्सँदैछन् ।

तंग्रँदै दार्चुला

महाकालीमा निर्माणाधीन आकर्षक तटबन्धले आउँदा दिनमा बाढीले क्षति नहुनेमा आशा बढाएको छ । खलंगामा किराना पसल चलाएर गुजारा गरिरहेका उनी भन्छन्, ‘अब बाढीले सदरमुकाम बगाउन सक्ने छैन ।’


२०७० असार २ गते राति आएको बाढीले त्रिदेशीय सीमानाका भएको दार्चुलालाई तहसनहस बनायो । बाढीले साविकका ब्रह्मदेव, खलंगा, धाप, दत्तु, उकु र लाली गाविसका १ सय ९ घरधुरी बगायो । ३ सय ५० घरधुरीका २ हजार ५ सयभन्दा बढी जनसंख्या विस्थापित भए ।


जिल्ला स्वास्थ्य, जिल्ला वन, भूसंरक्षण, जिल्ला प्राविधिक, नेपाल विद्युत् प्राधिकरण, अपी नाम्पा संरक्षण क्षेत्र, जिल्ला खेलकुद विकास समिति, अगुवा स्रोत केन्द्र, जिल्ला प्रहरी कार्यालयलगायत भौतिक संरचना महाकालीकै बाढीमा विलिन भए । ०७२ सालपछि आएको ठूलो बाढीका कारण धेरै परिवारले ज्यानबाहेक सबै सम्पत्ति गुमाउनुपर्‍यो ।


२ सय ८२ मेघावाट जलविद्युत् क्षमताको भारतको धौलीगंगा परियोजनाले ड्याम फुकाउँदा नेपालतर्फ दार्चुलालाई तहसनहस बनाएको थियो । अहिले तंग्रिँदै छ । पछिल्लो समय विस्तार हुँदै गएको पूर्वाधार विकासले जिल्लाको मुहार फेरिँदै छ । दार्चुलातर्फ महाकालीमा निर्माण भइरहेको तटबन्धको आकर्षणले पारि धार्चुलाका भारतीयलाई समेत मोहित बनाउन थालेको स्थानीय बासिन्दाहरू बताउँछन् ।


महाकालीमा नमुना तटबन्ध

वारि दार्चुला, पारि भारतको धार्चुला । भारतीय क्षेत्रमा पहिल्यैदेखि मजबुत पक्की तटबन्ध । उतातिरका अन्य भौतिक पूर्वाधारको आकर्षण पनि उस्तै ।


दुवै देशका बासिन्दाबीच भाइचारा भए पनि भारतीय नीतिले नेपालीहरू सधैं होच्चिएर बस्नुपर्ने बाध्यतामा रहे । यसैबीच पाँच वर्षअघि महाकालीमा आएको भिषण बाढीबाट छिन्नभिन्न भएको खलंगालाई पुरानै अवस्थामा फर्काउन महाकालीमा बन्दै गरेको तटबन्ध सेतु बनेको छ ।


तत्कालीन सुदूरपश्चिमाञ्चल जल उत्पन्न नियन्त्रण कार्यालयले पञ्च वर्षीय गुरुयोजना बनाएर महाकालीको तटीय क्षेत्रमा तटबन्धको परिकल्पना गरेको थियो । त्यसका लागि नदी नियन्त्रण आयोजना स्थापना भई सदरमुकाम क्षेत्रमा ३ अर्ब ५ करोड बजेट खर्च गर्ने गरी पक्की तटबन्ध निर्माण सुरु गरेको थियो ।


यो तटबन्ध हाल सदरमुकाम खलंगा पुग्ने जो कसैका लागि मुख्य आकर्षक पूर्वाधार बन्दै छ । साढे चार किलोमिटरको लम्बाइ क्षेत्रमा निर्माण भइरहेको उक्त तटबन्ध माथि सडक र आकर्षक बगैँचा स्थापना गर्न धमाधम पूर्वाधार निर्माण भइरहेको छ ।


‘यसले आगामी दिनमा महाकालीको बाढीबाट हुन सक्ने क्षतिलाई त अवश्य रोक्ने छ, सदरमुकामको आकर्षणसमेत बढाउने छ,’ दार्चुलाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य ग्याल्बोसिंह बोहराले आशा व्यक्त गरे ।


महाकालीको बाढीबाट बढ्ता जोखिम रहेको ४ दशमलव ३ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । सदरमुकाम बाहिरको करिब १६ किलोमिटरमध्ये १३ किलोमिटर क्षेत्रमा ग्याबिन तारजालीको तटबन्ध निर्माण भइसकेको भने करिब ३ किलोमिटर क्षेत्रमा निर्माणाधीन रहेको आयोजनाका सूचना अधिकारी इन्जिनियर उमेश गुप्ताले जानकारी दिए ।


महाकाली नदी नियन्त्रणको गुरुयोजना चालु आर्थिक वर्षमै सम्पन्न भएकाले २ वर्ष समयावधि थपिएको छ । हाल महाकाली नदीले कटान गरेको क्षेत्रमा बलियो बाँध निर्माणका लागि गुरुयोजना तयार गर्न जोखिमयुक्त ठाउँको खोजी भइरहेको आयोजना प्रमुख मित्र बरालले बताए । तटबन्ध हेर्न अहिले धार्चुलाका बासिन्दासमेत आउने गरेको स्थानीय बताउँछन् ।


सडक सञ्जाल

एक दशकअघिसम्म दार्चुलाका बासिन्दालाई भारतीय सडक प्रयोग गरी महेन्द्रनगर हुँदै देशका अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो । अहिले त्यो अवस्था छैन ।


सदरमुकामदेखि ग्रामीण क्षेत्रमा पुग्न पनि सडक यातायातको सुविधा विस्तार हुँदै गएको छ । ०६६/०६७ मा खलंगासम्म राष्ट्रिय सडक सञ्जाल जोडिएपछि क्रमिक रूपमा भारतीय यातायातको निर्भरताबाट जिल्लावासी मुक्त भए ।


‘सदरमुकामसम्म गाडी गुड्ने सडक निर्माण भएपछि ग्रामीण क्षेत्रमा पनि सडक विस्तार गर्ने लहर चलेको हो,’ महाकाली नगरपालिका–७ धापका दिनेशराज जोशीले सुनाए ।


त्रिदेशीय नाका जोड्ने महाकाली कोरिडोर निर्माणाधीन छ । यो बनेपछि सबैभन्दा बढी लाभ दार्चुलाले उठाउने छ । महेन्द्रनगरसम्म ताक्लाकोट नाकाबाट सोझै मालवाहक सवारी सञ्चालन हुँदा यहाँको व्यवसाय फस्टाउने छ ।


कैलाश मानसरोवर पुग्न सबैभन्दा छोटो मार्गका रूपमा हुने भएकाले तिंकर नाका भारतीय धार्मिक पर्यटकले बढी प्रयोग गर्नेछन् । यसबाट जिल्लाको आर्थिक गतिविधि हवात्तै बढ्ने स्थानीयको आकलन छ ।


महाकाली लोकमार्ग सदरमुकाम खलंगासँग जोडिँदा भारतीय बजारमा निर्भर खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तु स्वदेशबाटै आउन थालेका छन् । महाकाली लोकमार्ग शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरबाट मालिकार्जुन गाउँपालिकाका हुँदै सदरमुकाम खलंगा जोडिएको छ ।


सदरमुकामबाट महाकाली कोरिडोरअन्तर्गतको तिंकर सडक दुहुँ र ब्यास गाउँपालिकालाई जोड्ने गरी त्रिदेशीय नाका हुँदै चीनको स्वशासित क्षेत्र ताक्लाकोट नाकासम्म पुग्ने गरी निर्माणाधीन छ ।


ब्यासका सबै वडा छिचोल्दै अगाडि बढ्ने हुँदा निर्माणले गति लिएमा यस क्षेत्रका बासिन्दाले भारतीय निर्भरताबाट छुटकारा पाउने र स्वदेशकै बस्तु उपभोग गर्न सक्ने ब्यास गाउँपालिका ६ खातिगाउँका दीपक खाती बताउँछन् ।


त्यस्तै, सदरमुकाम भएरै नौगाड गाउँपालिकाको दल्लेक हुँदै होपरी जोड्ने सडक पनि निर्माणाधीन छ । गोकुलेश्वरबाट सदरमुकाम खलंगा जोड्ने वैकल्पिक मार्ग दूरीका हिसाब छोटो रहेकाले स्थानीय र संघीय सरकारको लगानीमा निर्माण अगाडि बढेको नौगाड गाउँपालिकाका अर्जुनसिंह ठगुन्नाले बताए ।


त्यसैगरी गोकुलेश्वर–बिटुले–लटिनाथ–पारिबगड तथा अपिहिमाल जोड्ने रणनीतिक महत्त्वको पारिबगड–खण्डेश्वरी सडक पनि निर्माणाधीन छ । लेकम गाउँपालिका जोड्ने गोकुलेश्वर–रिठाचौपाता, बेट–जौजलजिवी–उकु–लाली–शेरा सडक, जौलजिवी–शंकरपुर सडक निर्माणाधीन छन् ।


महाकाली कोरिडोर सडक सदरमुकाम खलंगा पुर्‍याउन लेकम गाउँपालिकाको सर्मोली, रिठाचौपाता, लाली, खरकडा, डाडाकोट हुँदै भर्तोला जोड्ने गरी निर्माण चलिरहेको कोरिडोरअन्तर्गतकै दार्चुला–तिंकर सडक आयोजनाले जनाएको छ । दार्चुलामै गत आर्थिक वर्षदेखि ३ वटा सडक ठेक्का भएर काम सुरु भइसकेको आयोजना प्रमुख रामचन्द्र शाहले जानकारी दिए ।


मालिकार्जुन र चमेलियाको आकर्षण दार्चुला पुग्ने अधिकांश हिन्दु धर्मावलम्बीले देशकै सातौं धाम मानिने मालिकार्जुनको दर्शन गर्न छुटाउँदैनन् । आकर्षक कलाकौशलमा निर्माण भएको मालिकार्जुन पुगेर पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहेको मन्दिरका मुखिया रुद्रसिंह धामी बताउँछन् ।


सदरमुकाम खलंगादेखि ५० किलोमिटरको सडक दूरीमा मालिकार्जुन धाम छ । यो धार्मिक क्षेत्रमा पछिल्ला केही वर्षयता सरकारी नजरसमेत पर्न थालेकोमा स्थानीय खुसी छन् । सरकारले हालै घोषणा गरेका एक सय धार्मिक तथा पर्यटकीय गन्तव्यको सूचीमा मालिकार्जुन धार्मिक क्षेत्रलाई

समेत समेटेपछि यसको महत्त्व थप वृद्धि हुने मालिकार्जुनका वीरसिंह धामी बताउँछन् ।


दार्चुला पुगेपछि अवलोकन गर्न नछुटाउने अर्को गन्तव्य चमेलिया जलविद्युत् केन्द्र हो । सरकारी लगानीमा निर्माण भएको ३० मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजना प्राधिकरणलाई हस्तान्तरण भइसकेको छ । हाल केन्द्रको अवलोकन गर्न आउने बढदै गएको केन्द्रका प्राविधिक शशि यादव बताउँछन् ।


डोटीबाट चमेलिया अवलोकन गर्न गएका वसन्त थापाले भने, ‘चमेलिया हेर्न लायक ठाउँ रहेछ ।’ अपी हिमाल, कालापानी र तिंकर क्षेत्र, ब्यासलगायत अनेकौं स्थल विस्तारै पर्यटकको पहुँचमा जोडिँदै छन् । दुहुँ गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा ५ र २ नम्बर वडालाई जोड्ने बञ्जिजम्पसहितको बहुउद्देश्य झोलुंगे पुल निर्माणको योजना सुरु गरेको छ । निर्माणका लागि गत असोजमा जगदम्बा दोभान संगम जेभीसँग सम्झौता भइसकेको छ ।


सुदूरपश्चिम प्रदेशकै सर्वाधिक उचाइ र लम्बाइ रहेको पुल गाउँपालिकाकै एक करोड ७६ लाख ९९ हजार रुपैयाँ लागतमा निर्माण हुने भएको छ । ‘सदरमुकाम खलंगाबाट नजिक रहेकाले पनि जिल्लामा पुग्ने जोसुकै मानिस मनोरञ्जन र रमाइलो गर्न पुग्ने विश्वास छ,’ दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले भने, ‘विदेशी पर्यटकलाई रमाउनका लागि उपयुक्त गन्तव्य बनाउने योजना छ ।’


योसँगै पर्यटन प्रवद्र्धनका लागि छकम्र्यामा भ्यु टावर निर्माणका लागि डीपीआर बन्दै छ । अपी, ब्यास तथा नाम्पा हिमालसँगै दर्जनौ हिमशृंखला हेर्न सकिन्छ । दार्चुलाको भूमिबाट भारतीय हिमशृंखला र पर्वतहरू अवलोकन गर्न पाइने हुँदा पदमार्ग निर्माणलाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष कार्कीले बताए ।

प्रकाशित : मंसिर २९, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?