२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

महन्त बैकुण्ठ दासमाथि सरकारी किर्ते र ठगी मुद्दा :लम्बियो थुनछेक बहस

महन्त दास र पुजारी शर्मासँग १६ करोड ९१ लाख २५ हजार बिगो तथा जेल सजायको माग दाबी गरिएको छ । 

जनकपुर — सरकारी कागज किर्ते र ठगी मुद्दामा पक्राउ परेका जनकपुर, रत्न सागर मन्दिरका महन्त वैकुण्ठ दास वैष्णवको मुद्दामा आइतबार पनि धनुषा जिल्ला अदालतमा थुनछेक बहस जारी चल्यो । प्रतिवादीबाट वकालतनामा दिने कानुन व्यवसायीहरूको सङ्ख्या धेरै रहेकाले बहस अझै एक–दुई दिन लम्बिने सम्भावना छ । 

महन्त बैकुण्ठ दासमाथि सरकारी किर्ते र ठगी मुद्दा :लम्बियो थुनछेक बहस

प्रतिवादीद्वय मठका महन्त वैकुण्ठ दास र पुजारी अशोक शर्माको बयानपछि शुक्रवारदेखि न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासमा सुरु भएको थुनछेक बहसको दोस्रो दिन वादीपक्षका कानुन व्यवसायी देवेन्द्र ठाकुर र सुदीप कोइरालासँगै प्रतिवादी पक्षका चन्द्रकुमार शर्मा मैनाली, श्यामकुमार मिश्र, प्रकाशकुमार घिमिरे, रामाशिष लालकर्ण, रिंकुकुमारी यादव र भरतबहादुर राउतले बहस गरेका थिए ।


प्रतिवादी पक्षबाट वरिष्ठ अधिवक्ता विनोद शर्मा, मंसुर राइन, अच्युतम आचार्य, केदार आचार्य, बलराम सुवेदी लगायतका कानुन व्यवसायीको बहस हुन बाँकी रहेको अधिवक्ता बलराम सुवेदीले जानकारी दिए ।


शुक्रवार वादीतर्फका सरकारी वकिलद्वय शम्भु गौतम र खगेन्द्र कटुवालसँगै अधिवक्ताहरू हेमकुमार शर्मा र विपिनकुमार झाले बहस गरेका थिए । वादीपक्षका कानुन व्यवसायीले रत्न सागर मन्दिरका महन्त दास र पुजारी शर्माले प्रस्तुत गरेको लालपुर्जा फर्जी भएकाले उनीमाथि सरकारी कागज किर्ते र ठगी मुद्दाअन्तर्गत पुर्पक्षमा राखेर अनुसन्धान गर्नुपर्ने तर्क गरेका छन् । प्रतिवादी कानुन व्यवसायीले महन्त दासले प्रस्तुत गरेको लालपुर्जा सक्कली भएकाले मुद्दा खारेज हुनुपर्ने तर्क गरे ।


जनक हजारी विद्यापीठका प्राचार्य विजयकुमार चौधरीको जाहेरीले नेपाल सरकारका तर्फबाट जिल्ला अदालत धनुषाका सरकारी वकिल शम्भु गौतम र खगेन्द्र कटुवालले गत मङ्गलवार जिल्ला अदालत धनुषामा अभियोगपत्र दर्ता गराएका थिए । अभियोग पत्रमा प्रतिवादी महन्त दास र पुजारी शर्मासँग १६ करोड ९१ लाख २५ हजार बिगो तथा जेल सजायको माग दाबी गरिएको छ ।


संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस जनक हजारी विद्यापीठको २०५० सालदेखि नै भोगचलनमा रहेको जनकपुर–८ स्थित सिट नम्बर १३५४/१४को कित्ता नम्बर ६२ को २ कठा ११ धुर तथा सिट नम्बर १३५४/१५ को कित्ता नम्बर १,२, २८ तथा ४९ को २ बिघा ८ कठा १४ धुर जग्गा किर्ते लालपुर्जा बनाई बिक्री गर्न खोजिए भन्दै जनक हजारी विद्यापीठका प्राचार्य चौधरीले महन्त दास र पुजारी शर्माविरद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।


साबिक नापीमा गुठी संस्थान अधिनस्त वराही कुटीको नाममा रहेको उक्त जग्गा सँगै सडक पश्चिमको अन्य जग्गा गरी कुल ६ बिघा ३ कठा ५ धुर जग्गा २०५० साल जेठ १३ को मन्त्रिपरिषद्को निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले हजारी जनक विद्यापीठलाई भोगचलन गर्न उपलब्ध गराएको अभिलेख छ ।


२०६८ सालमा पनि रन्नसागर मठका महन्थ दासले गुठी कार्यालयका तत्कालीन प्रमुख राजाबाबु पाण्डे तथा मालपोत कार्यालयको मिलेमतोमा उक्त जग्गा आफ्नो मठको नाममा लालपुर्जा बनाएका थिए ।

तर त्यति बेला विद्यापीठ प्रशासन तथा नागरिक समाजको दबाबमा फर्जी लालपुर्जा बदर गरिएको थियो । मालपोत कार्यालय धनुषाले २०६९ साल असोज २४ गते टिप्पणी आदेशमार्फत रत्न सागर मठको नाममा जारी गरेको लालपुर्जा खारेज गरेको थियो ।


यो पनि पढ्नुहोस्ः

महन्त बैकुण्ठ दासमाथि सरकारी किर्ते र ठगी मुद्दा : थुनछेक बहस सुरु

महन्त दासलाई जनकपुर ल्याइयो, साढे दुई बिघा जग्गाको नक्कली लालपुर्जा बनाएको आरोप

प्रकाशित : पुस १, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?