कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारी पुन:संरचना अध्ययन गर्न मन्त्री पण्डित भारतमा

काठमाडौँ — भारतीय संघीय संरचनामा कर्मचारी व्यवस्थापन र पुन:संरचनाको अभ्यास एवं अनुभव अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित आइतबार भारत गएका छन् ।

कर्मचारी पुन:संरचना अध्ययन गर्न मन्त्री पण्डित भारतमा

मन्त्रालयको प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव भूपाल बराल र स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख सहसचिव सुरेश अधिकारीलाई लिएर उनी दिल्ली गएका हुन् । अधिकारीका अनुसार सोमबारदेखि टोलीले संघीय संरचनामा कर्मचारी व्यवस्थापनको अभ्यासबारे भारतीय टोलीसँग छलफल गर्नेछ ।


मन्त्री पण्डित र उनका भारतीय समकक्षीबीच सोमबार नै दिल्लीमा छलफल हुनेछ भने टोलीले भारतको कर्मचारी तालिम प्रतिष्ठान प्रमुख, संघीय लोकसेवा आयोगका अध्यक्षलगायत पदाधिकारी, कर्मचारी प्रशासन हेर्ने निकायका अधिकारीसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।


‘संघीय संरचनामा कर्मचारीको व्यवस्थापन के कसरी भएको छ भनेर छलफल गर्ने मुख्य उद्देश्य हो,’ अधिकारीले भने, ‘स्थानीय तहमा खटिएका कर्मचारीको क्षमता विकासबारे पनि भारतीय अभ्यास हेर्छौं ।’ सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढाएकै बेलामा कर्मचारी व्यवस्थापनमा भारतको अभ्यासबारे मन्त्रालयले अध्ययन गर्न खोजेको हो ।


टोलीले कर्मचारी व्यवस्थापनबारे अध्ययनसँगै कर्मचारीको वृत्ति विकास, बढुवा तथा सरुवा प्रणाली, स्थानीय तहका कर्मचारीको क्षमता विकासमा सहयोगलगायत विषयमा छलफल गर्नेछ । टोलीले प्रदेशहरूको समेत स्थलगत अध्ययन गर्नेछ ।


‘भारतका केही प्रदेशमा कर्मचारी पुन:संरचनाबारे सम्बन्धित अधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ,’ अधिकारीले भने, ‘त्यसबाट हामीकहाँ पुन:संरचना गर्न सहयोग गर्ने विश्वास छ ।’ टोली शनिबार स्वदेश फर्कने छ ।

प्रकाशित : पुस १, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?