१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सांसदले फिर्ता गरे घरभाडा

मकर श्रेष्ठ

काठमाडौं — राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसदहरूले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । 

सांसदले फिर्ता गरे घरभाडा

संसद् सचिवालयका अनुसार आइतबार कांग्रेस सांसदहरू नारायण खडका, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफूले बुझेको घरभाडा फिर्ता गरेका छन् । ‘अरू माननीय पनि कति तिर्नुपर्ने हो भन्दै बुझ्न आउनुभएको छ,’ सचिवालयका एक कर्मचारीले भने ।


सांसद उमेश श्रेष्ठले घरभाडा लिने सांसदको सूचीमा नाम आएपछि चिन्तित भएको बताएका छन् । संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै आफूले ललितपुरको झम्सिखेलमा घर भएको विवरण सुरुमै बुझाए पनि घरभाडा लिएको भन्दै विवरण सार्वजनिक भएपछि आश्चर्यमा परेको उनले उल्लेख गरेका छन् । ‘मैले पाउने सेवासुविधामा रकम थप गरी मेरो निर्वाचन क्षेत्र चितवनका साथै अन्य क्षेत्रमा विद्यालयको भौतिक विकास, खेलकुद, महिला दलित र पिछडा वर्गको उत्थानका लागि काम गरेको व्यहोरा उल्लेख गर्न चाहन्छु,’ महासचिवालाई लेखेको पत्रमा भनिएको छ, ‘मेरो नाममा घरभाडाबापत जम्मा भएको भए सम्पूर्ण रकम फिर्ता बुझिलिन यसै पत्रसाथ संलग्न गरी पठाएको व्यहोरा जानकारी गराउँछु ।’


त्यस्तै नेकपाका योगेश भट्टराई र पम्फा भुसालले यसअघि लिएको घरभाडा फिर्ता गर्ने भन्दै वक्तव्य जारी गरेका छन् । ‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दु:ख व्यक्त गर्दछु,’ भट्टराईले वक्तव्यमा भनेका छन्, ‘लामो राजनीतिक यात्रा तय गरेर हिँडेको मजस्तो व्यक्तिबाट कुनै गैरकानुनी तथा गलत आचरणका कार्य नहुने पुन: प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’


घरभाडाबापत आफ्नो नाममा फागुनदेखि मंसिरसम्म आएको ९० हजार फिर्ता गर्न तयार रहेको उनले वक्तव्यमा उल्लेख गरेका छन् । कानुनअनुसार काठमाडौंमा घर नहुने सांसदले १८ हजार पाउँछन् भने घर हुनेले मर्मतसम्भार खर्च ९ हजार मात्रै पाउँछन् । ‘१० महिनाको ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद् सचिवालयलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।


त्यस्तै ललितपुर ३ बाट निर्वाचित नेकपाकी सांसद पम्फा भुसालले आइतबार प्रेस वक्तव्य जारी गरेर संसद् सचिवालयको कमजोरीले घरभाडा पाइरहेको बताएकी छन् । ‘संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी भएन,’ उनले वक्तव्यमा भनेकी छन्, ‘जानकारी पाएपछि संसद् सचिवालयमा गएर सांसद हुँदा घरभाडाबापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु ।’


नेकपाकी गोमा देवकोटाले भने घरभाडा नलिएको दाबी गरेकी छन् । संसद् सचिवालयले सूचनाको हकअनुसार उपलब्ध गराएको सांसदहरूको असोजको पारिश्रमिक र भत्ता बुझेको विवरणमा घरभाडा लिने सूचीमा देवकोटाको नाम पनि छ । विवरणको ४१ नम्बरमा देवकोटाको एभरेस्ट बैंकको खातामा घरभाडाबापत १८ हजार रुपैयाँ पठाइएको छ । तर देवकोटाले आइतबार प्रेस वक्तव्य जारी गर्दै भनेकी छन्, ‘संसद् सचिवालयले भनेको विवरण उपलब्ध गराउँदागराउँदै र सचिवालयको कमजोरीले केही महिना घरभाडाबापतको रकम मेरो खातामा जम्मा भएको र जेठबाट उक्त रकम फिर्ता गरिसकेको जानकारी गराउँछु,’ आइतबार उनले जारी गरेको वक्तत्वमा भनिएको छ ।


कांग्रेस सांसद भीमसेनदास प्रधानले संसद् सचिवालयले बैंक खातामा पठाइदिएको घरभाडाबापतको सबै रकम फिर्ता गर्न तयार गरेको बताए ।


यो पनि पढ्नुहोस् ।

घरधनी र मन्त्री क्वार्टर बस्ने सांसद पनि लिन्छन् घरभाडा

प्रकाशित : पुस १, २०७५ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?