कांग्रेस महासमितिमा नेतालाई खबरदारी- ‘सके सुधार, नसके बाटो नछेक’

‘धनवाद, डनवाद, नातावाद र व्यक्तिवादले पार्टी कमजोर भयो’

काठमाडौँ — कांग्रेस महासमिति बैठकको बन्दसत्रमा अधिकांश सदस्यले पार्टीको नीतिभन्दा नेताको शैली परिवर्तनमा जोड दिएका छन् । पार्टीको राजनीतिक, आर्थिक, सांगठिनक दस्ताबेजमाथि टिप्पणी गर्दै उनीहरूले भने, ‘नीतिमा कुनै खोट छैन । परिवर्तन पनि आवश्यक छैन । परिवर्तन चाहिएको छ त नेताको चरित्र, कार्यशैली र आचरणमा ।’ 

कांग्रेस महासमितिमा नेतालाई खबरदारी- ‘सके सुधार, नसके बाटो नछेक’

बन्दसत्रको पहिलो दिन ४० जनाभन्दा बढीले धारणा राखेका थिए । कार्यशैली, व्यवहार र चरित्रकै कारण पार्टी खुम्चिँदै गएको ठहर्‍याएका उनीहरूले मञ्चासीन शीर्षनेताहरूप्रति लक्षित गरे– ‘सुधार गर्न सके गर, नत्र बाटो नछेक ।’


मञ्चमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सदस्यहरू थिए । पार्टीलाई नीति र प्रणालीभन्दा गुट र भागबन्डाका आधारमा चलाएको प्रतिनिधिहरूको मुख्य आरोप थियो । सभापति देउवाले निर्वाचनमा पराजयका लागि पार्टीकै अन्तर्घात र एमाले–माओवादी गठबन्धनलाई मुख्य कारण औंल्याउँदै जिम्मेवारी लिन अस्वीकार गरिरहेका बेला उनीहरूले नेतातर्फ नै औंला ठड्याएँ ।


‘टिकट वितरण गर्दा धनवाद, व्यक्तिवाद र नातावाद नभएको भए यस्तो हबिगत हुन्थेन,’ बर्दियाका महासमिति सदस्य महेन्द्र तिवारीको आक्रोश थियो, ‘अन्तर्घात गराउने पनि माथिल्ला नेताहरू नै हुन् । विपक्षी खेमाका उम्मेदवार बन्नसाथ हराउन निर्देशन दिने केन्द्रीयस्तरकै नेताहरू हुन्छन् ।’


उम्मेदवार चयन गर्दा पार्टीभन्दा नेताको मापदण्ड हाबी भएको उनीहरूको गुनासो थियो । पार्टीभित्र गुटगत आधारमा भागबन्डा गरिनु, आर्थिक लाभ लिएर जग्गा दलाली, ठेकेदार, डनलाई उम्मेदवार बनाइनु, आफन्त, गुटका व्यक्ति च्याप्नुलाई उनीहरूले रोगका रूपमा चित्रण गरे ।


‘नेताहरूको यही चरित्र र आचरणमा परिवर्तन आवश्यक छ,’ दोलखाकी महासमिति सदस्य विनिता अधिकारीले भनिन्, ‘जबसम्म टिकट वितरणमै धन, डन र नातावाद हटदैन, त्यतिबेलासम्म कांग्रेस यस्तै रहन्छ । सुधार नीतिको होइन, नेताको व्यवहार र कार्यशैलीमा हुनुपर्छ ।’


कतिपय सदस्यले आर्थिक लाभका आधारमा उम्मेदवार बनाइएको भन्दै त्यसको प्रमाणसमेत आफूले बोकेर आएको बताएका थिए ।


पूर्वसांसदसमेत रहेका जुम्लाका महासमिति सदस्य ललितजंग शाहीले देउडा गीतमा कांग्रेसको हबिगत सुनाए । उनले मधेसमा मधेसकेन्द्रित दल र पहाड तथा हिमालमा वामपन्थीको वर्चस्व रहेको भन्दै कांग्रेस कहाँ छ भनी गीतमार्फतै प्रश्न गरे । ‘परिवारमा छोरानातिका लागि सम्पत्ति जोगाएर राखिन्छ,’ उनले नेताहरूतर्फ औंल्याउँदै भने, ‘कांग्रेस तपाईंहरूले सक्न पाउनु हुन्न । भविष्यका सन्ततिका लागि पनि यो पार्टी आवश्यक छ । सुधार गर्न सक्नु हुन्न भने बाटो छाडिदिनुहोस् ।’


महासमिति बैठकको मुख्य एजेन्डा पार्टी विधान संघीय संरचनाअनुसार संशोधन गर्नु हो । तर नेताका छुट्टाछुट्टै स्वार्थका कारण आइतबारसम्म पनि त्यसले बैठकमा प्रवेश पाएको छैन । सहभागीहरूले संघीय मोडलअनुसारको नयाँ संरचनाबाहेक अन्य क्षेत्र संशोधन आवश्यक नभएको भन्दै नेताहरूलाई धेरै विवाद नगर्न सुझाएका छन् । ‘विधान समस्या होइन, कार्यान्वयन गर्न नसक्ने नेतृत्व क्षमताको समस्या हो,’ उनीहरूले भने ।


महासमिति सदस्यहरूले स्वत: महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान राख्न नहुने, लगातार तीनपटकभन्दा बढी केन्द्रीय सदस्य लड्न नपाउने सुझावसमेत राखेका थिए । केन्द्रीय सदस्यहरू स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानमा छ । यसलाई खारेज गरेर सबै वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने दबाब बढेको छ ।


‘केन्द्रीय सदस्य पनि तीनपटकभन्दा बढी केका लागि हुने ? पदाधिकारी हुने हो भने ठीकै छ तर केन्द्रीय सदस्य हुनकै लागि तीन पटकभन्दा बढी हुन नहुने व्यवस्था गरिनुपर्छ,’ नेविसंघ अध्यक्ष नैनसिंह महरले भने ।


बिहान ९ बजे सुरु महासमिति बैठक राति ७ बजेसम्म चलेको थियो । बैठकको सुरुमै सहमहामन्त्री प्रकाशरण महतले आर्थिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले संगठनात्मक प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उपसभापति विमलेन्द्र निधिले शनिबारै राजनीतिक प्रस्ताव पेस गरेका थिए । ती सबै प्रस्तावमाथि बोल्न प्रतिनिधिहरूलाई तीन मिनेटको समय दिइएको थियो ।


केन्द्रीय कार्यसमितिले प्रदेशस्तरीय समूह बनाएर छलफल गर्ने तय गरेको थियो । प्रतिनिधिको संख्या धेरै र ठाउँसमेत अभाव भएका कारण सम्भव नभएपछि सामूहिक रूपमा प्रस्तावहरूमाथि आआफ्नो धारणा राख्ने क्रम सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा संघीय संसदको प्रतिनिधित्व नछुट्ने गरी १ सय ६५ जना बोल्ने व्यवस्था गरिएको छ । बोल्न चाहने कतिपयका लागि त्यसबाहेक पनि व्यवस्था रहेको उनले बताए । सहभागीहरूले बृहत्तर पार्टी एकताका लागि नै मुख्य जोड दिएको पत्रकार ब्रिफिङमा शर्माले बताए । ‘सांगठनिक सुदृढीकरण, काम गर्ने शैलीमा समग्र रूपान्तरण हुनुपर्छ भन्ने जोड छ,’ उनले भने ।

प्रकाशित : पुस १, २०७५ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?