कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गौतमको ‘एक पद, एक जिम्मेवारी’ प्रस्तावले ओली रुष्ट

‘संविधानले मिल्दैन र पो, नत्र दुइटा प्रधानमन्त्री हुन्थ्यौं’
दुर्गा खनाल

काठमाडौँ — नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले ‘एक पद एक जिम्मेवारी’ सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाई मात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् ।

गौतमको ‘एक पद, एक जिम्मेवारी’ प्रस्तावले ओली रुष्ट

उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरूप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफू निकटसँग गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा गौतमलाई उल्लेख नगरी ‘दुई अध्यक्ष मिलेर पार्टी चलाएको विषय मन नपरेर झगडा लगाउन खोजिएको’ उल्लेख गरे । ‘दुई अध्यक्ष मिलेर पार्टी चलाउँदा सबै आश्चर्यमा परेका छन्,’ तत्कालीन एमाले र माओवादीनिकट कानुन व्यवसायीको संगठन एकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘लडाइँ झगडा लगाउन सकिन्छ कि ? कुर्सी अलि–अलि पर सार्न सकिन्छ कि ? त्यो प्रयास भएको छ । मिलेर अध्यक्ष चलाउन सक्छौं, नेपालमा अचम्म हुन्छ, दुइटा अध्यक्षको अभ्यास भएको छ, संविधानले मिल्दैन र पो, नत्र दुइटा प्रधानमन्त्री हुन्थ्यौं ।’

अध्यक्षले अधिकारहरू आफूमा मात्र केन्द्रित गर्न खोजेको लगायतका आरोपसमेत नेकपाभित्र लागिरहेको छ । त्यसको जवाफ पनि अध्यक्ष ओलीले दिएका छन् । ‘हाम्रो संकल्प भनेको अधिकार कब्जा गर्ने होइन, देश रूपान्तरण गर्ने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसलाई भत्काउने भनेर कोही लाग्छ भने जिन्दगी जान्छ ।’

ओलीले सरकार सफलतातर्फ अघि बढिरहेको अवस्थामा अनेक किसिमका दुष्प्रचार भएको उल्लेख गरे । ‘हामी अहिले असाधारण सफलताको विन्दुमा छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘तर यो सफलताविरुद्ध भयानक प्रचार युद्ध सञ्चालनमा छ, त्यसलाई परास्त गर्नुपर्छ ।’ तत्कालीन एमालेको अध्यक्ष बनाउन निर्णायक बनेका नेता गौतम टाढिएर एकाएक अध्यक्ष दाहालको पक्षमा मात्र उभिएका छैनन्, उनले सरकारको तीव्र आलोचना पनि गरेका छन् । गौतमले सरकारले हालसम्म गरेका सबै कामहरूको विरोध गरेका छन् ।

कसरी आयो गौतमको प्रस्ताव ?

प्रधानमन्त्री ओलीविरुद्ध गौतमको प्रस्ताव आएपछि त्यसले पार्टीभित्र पनि तरंग ल्याएको छ । यो प्रस्ताव अर्का अध्यक्ष दाहाललाई सहयोग पुग्ने खालको छ ।

प्रस्तावमा ओलीले प्रधानमन्त्रीसहित पार्टी काममा कुशलता प्रदर्शन गर्न नसकेकाले अर्का अध्यक्ष पार्टी काममा केन्द्रित हुने खालको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । गौतमलाई यो प्रस्ताव अघि बढाउन अध्यक्ष दाहालले नै अनुमति दिएका हुन् । शनिबार स्थायी समितिको बैठक बस्नुअघि बालुवाटारमा सचिवालय बैठक बसेको थियो ।

स्रोतका अनुसार अध्यक्षहरूको प्रतिवेदन पेस गर्ने कुरा उठेपछि गौतमले पनि आफ्नो धारणा लिखित रूपमै राख्ने प्रस्ताव गरेका थिए । तर, त्यसलाई अध्यक्ष ओलीले अस्वीकार गरेका थिए । अर्का अध्यक्ष दाहालले भने व्यक्तिले पार्टीभित्र आफ्नो कुरा राख्ने विषयलाई अस्वीकार गर्न नहुने भन्दै गौतमलाई आफ्नो धारणा राख्न सहमति दिएका थिए ।


त्यसैका आधारमा स्थायी समिति बैठकमा दाहालले अध्यक्षहरूको प्रतिवेदन पेस गरेपछि गौतमले आफ्नो १६ पृष्ठको लिखित प्रतिवेदन सदस्यहरूलाई बाँडेका थिए । उक्त प्रतिवेदनमा पार्टीभित्र असन्तुष्ट नेताहरूले यसअघि उठाउँदै आएका विषय पनि समेटिएका छन् ।

एक नेताका अनुसार गौतमले आफने विचार भनेर ल्याए पनि त्यसअघि धेरै नेताहरूसँग छलफल भएको र त्यसको निष्कर्ष पनि समेटिएको छ । ‘यो धारणा ल्याउनुअघि अन्य नेताहरूसँग पनि परामर्श भएको छ,’ नेकपा स्थायी समितिका एक नेताले भने ।

यसअघि माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहित गौतमले पनि सचिवालय बैठक बहिष्कार गरेका थिए । त्यसपछि उनीहरूबीच छलफल भएको थियो । पछि असन्तुष्टलाई बोलाएर अध्यक्ष दाहालले पनि छलफल गरेका थिए । त्यही पृष्ठभूमिमा गौतमले यो प्रतिवेदन ल्याएका हुन् । यसअघि ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका नेता नेपालनिकट नेताहरूले पनि अहिले गौतमको प्रतिवेदनलाई भित्री रूपमा समर्थन गरेका छन् । किनभने उनीहरूले विगतमा भन्दै आएका विषय गौतमले प्रतिवेदनमा समेटेका छन् ।

ओलीसँग किन बिच्किए गौतम ?

२०७० सालको संविधानसभा चुनावपछि गौतम–ओली सँगै हिँडिरहेका थिए । तर योबीचमा पटक–पटक गरेका प्रतिबद्धता ओलीले पालना नगरेको भन्दै गौतम अहिले बिच्किएका हुन् ।

वर्षौंदेखि नेतृत्वका आकांक्षी रहेका ओलीले तत्कालीन अवस्थामा पार्टीभित्र निर्णायक पोजिसनमा रहेका गौतमसँग सहकार्य नगरी संसदीय दलको नेता नजित्ने देखेपछि २०७० मा सहकार्यको हात अघि बढाए । त्यसबेला ओलीले आफू पहिले संसदीय दलको नेता बन्ने र महाधिवेशनबाट अध्यक्ष बनेपछि गौतमलाई त्यो पद सुम्पिने प्रतिबद्धता गरेका थिए ।

त्यसैका आधारमा गौतमको समर्थनमा पहिले ओलीले संसदीय दलको नेता जिते । त्यसपछि महाधिवेशन आयो । महाधिवेशनमा गौतमले ओलीलाई अध्यक्ष बनाउन साथ दिए । किनकि अध्यक्ष भएपछि संसदीय दलको नेता पाउँछु भन्ने आकांक्षा गौतममा थियो ।

उनी निकटहरूका अनुसार ओलीले अध्यक्ष बनेपछि गौतमलाई संसदीय दलको नेता बनाउने प्रतिबद्धता पूरा गरेनन् । यो विषय त्यत्तिकै अल्झिइरहेका बेला संविधान जारी भयो । त्यसपछि रूपान्तरित संसद्बाट ओली प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेपछि पनि ओलीले संसदीय दलको नेता, अध्यक्षसहित तीनवटै पद ‘होल्ड’ गरे । २०७४ को चुनावपछि पनि ओली संसदीय दलको नेता, अध्यक्षसहित प्रधानमन्त्री भए ।

गौतमले चुनाव नै हारे । त्यसपछि गौतमले सुरुमा एउटा शक्तिशाली विकास प्राधिकरण गठन गर्नुपर्ने र त्यसको नेतृत्व आफूलाई दिनुपर्ने प्रस्ताव गरे । उक्त प्रस्तावमा सुरुमा ओलीले समर्थन जनाए पनि प्रधानमन्त्री बनेपछि प्राधिकरण बनाउनेतर्फ चासो दिएनन् । त्यसपछि प्रतिनिधिसभाका एक सदस्यलाई राजीनामा गराएर सांसद बन्ने बाटोतर्फ लागे ।

त्यसका लागि सुरुमा उनले अध्यक्षहरूसँग सल्लाह गरे । ओली समेतको सकारात्मक धारणा आएपछि गौतम झन्डै एक दर्जन स्थानमा ठाउँ खाली गराउनेतर्फ दौडिए । अन्तिममा काठमाडौं ७ का सांसद रामवीर मानन्धर गौतमका लागि राजीनामा दिन तयार भए । जब गौतमका लागि ठाउँ खाली हुने सुनिश्चिता भयो त्यसपछि ओली पछि हटेको बुझाइ गौतमको छ ।

सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम सांसद बनेर प्रतिनिधिसभामा छिर्ने योजनाबाट पछि हटे । पटक–पटकका प्रतिबद्धता पूरा नगरेको र आफूलाई भूमिकाविहीन बनाएको आरोप गौतमले लगाउने गरेका छन् ।

प्रकाशित : पुस २, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?