कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुदान रकम फिर्ता गर्दै भूकम्पपीडित

आश गुरुङ

लमजुङ — भूकम्पपीडित लाभग्राही सूचीमा परेका राइनास नगरपालिका–८, तार्कुघाटकी सुकमाया आलेले पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिइनन् ।

अनुदान रकम फिर्ता गर्दै भूकम्पपीडित

वर्ष दिनअघि किस्ता रकम लिएकी उनले घर बनाइनन् । उनले केही दिनअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय बेंसीसहरमा आएर त्यो रकम फिर्ता गरिन् ।


‘छोराबुहारी आफ्नो पेसा व्यवसायले घरबाहिर छन् । आफू एक्लै । घर बनाउन सकिँदैन । अनि आएर ५० हजार रुपैयाँ नै फिर्ता गरेँ,’ उनले भनिन् । अनुदान लिएर घर नबनाउँदा उनलाई डर लाग्यो । ‘अरूले दिएको पैसा किन राख्ने म ? भोलि कालोसूचीमा राख्ला । छोरा, नातिनातिनाको नागरिकता बन्न रोकिएला । वृद्धभत्ता रोकिएला । यस्तै सम्झिएँ अनि फिर्ता गरेँ ।’


बेंसीसहर नगरपालिका १०, हिलेटक्सारका लालबहादुर तामाङले पनि पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ फिर्ता गरे । ‘छोराबुहारी घर बस्दैनन् । बूढी छैन । एक्लो ज्यान । कसरी घर बनाउनु ? भो, घर बनाउँदिनँ भनेर रकम फिर्ता गरेँ,’ उनले भने । अहिले पाएको ५० हजार रुपैयाँले केही नहुने उनको तर्क छ । ‘पहिल्यै घर बनाएकाले त पैसा पाएका छैनन् । छिमेकीले बनाएको घर पनि पास भएनछ,’ उनले भने, ‘मैले बनाएको पास हुन्छ कि हुँदैन । सरकारले दिएको पैसाले मात्रै घर बन्दैन । आफूसँग सुक्को छैन । भैगो भनी फिर्ता गरिदिएँ ।’


पुनर्निर्माण प्राधिकरणको अनुदान व्यवस्थापन गर्ने जिल्ला कार्यालयका फोकल पर्सन शिव रेग्मीका अनुसार पुस मसान्तभित्र घर निर्माण सुरु गर्न वा दोस्रो किस्ता लिन समयसीमा तोकिएको छ । तोकिएको समयसीमामा घर निर्माण सुरु गर्न नसक्ने वा नचाहनेले रकम फिर्ता गर्न थालेका छन् ।


विविध कारणले घर बनाउन नचाहने लाभग्राहीले पहिलो किस्ताबापतको रकम फिर्ता गरेको उनले बताए । ‘घर बनाउन नचाहने वा नसक्नेले प्रथम किस्ताको रकम फिर्ता गर्छु भन्नेहरू आउन थालेका छन्,’ उनले भने । प्राधिकरणले दोहोरो सुविधा लिएका तथा अर्को ठाउँमा सुरक्षित घर भएका लाभग्राहीलाई आफूले लिएको पैसा फिर्ता दिन पुस १५ सम्मको समयावधि तोकेको छ । फिर्ता नगरे सरकारी बाँकीसरह असुलउपर गरिने सार्वजनिक सूचना जारी गरेको थियो ।


राइनास नगरपालिका १, बोराङखोलाकी शान्ता न्यौपानेले भूकम्पले घर भत्किए पनि लाभग्राही सूचीमा नपरेका कारण अनुदान पाइनन् । उनले गुनासो फारम पनि भरिन् । अहिलेसम्म यसको निर्णय छैन । ‘कोही घर बनाउँछु भन्दा अनुदान नपाउने । कोही फिर्ता गर्ने । कोही अनुदान लिएर चुपचाप बस्ने । कोही अनुदान लिएर घरै नबनाई बस्ने । यस्ता छन् । हामी पीडितले अनुदान नपाउने ?’ उनले भनिन् ।

भूकम्पपीडित भएर पनि लाभग्राही सूचीमा नपरेको भन्दै गुनासा फारम भर्नेहरू ६ हजारभन्दा बढी रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार लमजुङमा निजी आवास पुनर्निर्माणका लागि कुल लाभग्राही सूचीमा १३ हजार ९ सय ५९ छन् ।


१३ हजार ४ सयले पहिलो किस्ताको ५० हजार रुपैयाँ लगिसकेका छन् । ५ हजार १ सय ६८ ले दोस्रो किस्ताबापत १ लाख ५० हजार रुपैयाँ लगिसकेका छन् । ९ सय ३० जनाले तेस्रो अर्थात् अन्तिम किस्ता १ लाख रुपैयाँ लगिसकेका छन् । प्रबलीकरण सूचीमा परेका ५ सय ३९ मध्ये २ सय ९८ जनाले पहिलो किस्ताको ५० हजार रुपैयाँ लगिसकेको फोकल पर्सन रेग्मीले बताए ।

प्रकाशित : पुस २, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?