१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आर्थिक अभाव देखाउँदै ठेकेदार भाग्न खोजेपछि मेलम्ची अन्योलमा

ठेकेदारले काम छाड्याे, भाग्न खाेज्ने ८ कर्मचारी नियन्त्रणमा
आर्थिक अभाव देखाउँदै सीएमसीद्वारा ठेक्का सम्झौता तोड्ने प्रयास
बलराम बानियाँ

काठमाडौँ — इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम सोमबारदेखि ठप्प भएका छन् ।

आर्थिक अभाव देखाउँदै ठेकेदार भाग्न खोजेपछि मेलम्ची अन्योलमा

यसले अबको ४६ दिनभित्र निर्माण सकी मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडाैं ल्याइसक्ने खानेपानी मन्त्रालय र आयोजनाको पूर्वघोषित लक्ष्य अन्योलमा परेको छ । सुरुङको फाइनल फिनिसिङलगायत काम रोकिएपछि अब आयोजना कहिले सम्पन्न हुने भन्ने अनिश्चित भएको छ ।

साइट छाडेर भाग्न राजधानी आइपुगेका ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारीलाई खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिको आग्रहमा प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको छ । उनीहरूको पासपोर्टसमेत आयोजनाले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले प्रोजेक्ट म्यानेजर ग्रेचोसहितलाई ठमेलस्थित रोयल पेन्गुइन होटलबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूलाई खानेपानी मन्त्रालय र मेलम्ची आयोजनाको जिम्मा लगाएको छ । उनीहरू आयोजना र मन्त्रालयलाई थाहै नदिई काम अलपत्र छाडेर कतार एयरबाट सोमबार दिउँसो नै भाग्ने तयारीमा थिए ।

उनीहरूले प्रहरीसित आफूहरू भाग्न नभई क्रिसमस मनाउन इटाली जान लागेको दाबी गरेका थिए । उनीहरू भाग्नकै लागि ठमेलकै काठमाडौं होटल बुक गरी अर्कै होटल पेन्गुइनमा बसेका थिए ।

सीएमसीले मन्त्रालय र आयोजनालाई आइतबार नै औपचारिक रूपमा ठेक्का तोडेको पत्र दिन खोजेको थियो । मन्त्रालयले भने अन्तिम समयमा आएर ठेक्का नतोड्न आग्रह गर्दै पत्र बुझ्न अस्वीकार गरेको जानकारी आयोजना स्रोतले दिएको छ ।

स्रोतका अनुसार सीएमसीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनाको राजधानीस्थित मुख्य कार्यालयमा पुगेका थिए । आयोजनाका अधिकारीले पनि पत्र बुझ्न अस्वीकार गरेका थिए । खानेपानी मन्त्रालयले आयोजनाका अधिकारीलाई पत्र नबुझ्न निर्देशन दिएको थियो ।

आयोजनाले पत्र बुझ्न नमानेपछि सीएमसीका अधिकारीले भाग्ने र त्यसपछि ठेक्का तोडेको लिखित जानकारी दिने योजना बनाएका हुन् । ‘सोमबार नै सीएमसीका अधिकांश कर्मचारी नेपालबाट भाग्ने र मंगलबार सरकारलाई ठेक्का तोडेको पत्र दिने योजना बनाएका रहेछन्,’ आयोजनाका एक अधिकारीले भने ।

पत्रमा सीएमसीले ‘फन्ड सर्टेज’ (आर्थिक अभाव) भएको भन्दै काम अघि बढाउन नसक्ने उल्लेख गरेको छ । सीएमसीले भारतीय नाकाबन्दी र भूकम्पका कारण काम रोकिँदा आफूलाई १ अर्ब रुपैयाँभन्दा बढी घाटा लागेको र त्यसबापतको क्षतिपूर्ति रकम शुक्रबारसम्ममा उपलब्ध गराउन आयोजनालाई समय दिएको थियो । तर, आयोजनाले बाँकी काम सिध्याएपछि मात्रै क्षतिपूर्ति रकम भुक्तानी दिने अडान राखेको र त्यहीकारण सीएमसी ठेक्का तोड्ने निर्णयमा पुगेको जानकारी स्रोतले दियो ।

सीएमसीले क्षतिपूर्तिको कारण देखाएर काम रोक्ने चेतावनी दिएपछि खानेपानी मन्त्रालय, आयोजना, सीएमसी र कन्सल्ट्यान्ट कम्पनीका प्रतिनिधि रहेको विवाद समाधान बोर्ड गठन गरिएको थियो । बोर्डमा आयोजनाले सीएमसीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको थियो ।

आयोजनाले सीएमसीसमक्ष उक्त रकम निर्माणका सबै काम सकिएपछि मात्र दिने अडान राख्दै आएको थियो ।

आयोजनाका एक कर्मचारीले सहमति भइसकेको रकम दिएर भए पनि सीएमसीलाई बाँकी काम पूरा गर्न लगाउनुपर्नेमा नदिएर भडकाइएको बताए । त्यसले गर्दा सुरुङको फाइनल फिनिसिङलगायतको काम अन्योलमा परेको उनको भनाइ छ ।

मेलम्चीमा खनिसकिएको साढे २७ किमि सुरुङमध्ये २ किमिमा फाइनल फिनिसिङ (पिच गर्ने), तिनमध्ये २ वटा भेन्टिलेसन साफ्ट निर्माण, हाइड्रो मेकानिकल जडान, सुन्दरीजल सप्लाई पाइप जडान, इन्ट्युमेन्टेसन जडान, पानी प्रशोधन केन्द्र–२ को निर्माण र मेलम्चीको पानी सुरुङमा लग्न बाँध (इन्टेक) निर्माण बाँकी छ । आयोजनाले अबको ४६ दिनभित्र यी सबै काम सक्न सीएमसीलाई समयसीमा दिएको थियो ।

सीएमसीले निर्माणमा संलग्न नेपाली कामदारलाई तलबभत्ता र सञ्चयकोषबापत १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोजनाका कर्मचारीले दिएका छन् ।

यसैबीच मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र आयोजना प्रमुख सूर्यराज कँडेलसहितका उच्च अधिकारीले सोमबार रातिसम्म सीएमसीका प्रोजेक्ट म्यानेजरसहितका कर्मचारीसित ठेक्का नतोड्न र आयोजनाको बाँकी काम पूरा गर्नेबारे छलफल गरेको जानकारी स्रोतले दिएको छ ।

मन्त्रालयमा भएको छलफलका क्रममा सीएमसीका अधिकारीहरूले भने पहिला क्षतिपूर्ति रकम दिएमात्र ठेक्का तोड्ने निर्णय पुनर्विचार गर्न सकिने सर्त राखेका छन् । सहमति हुन भने बाँकी रहेको जनाइएको छ । मन्त्रालय र आयोजनाका जिम्मेवार अधिकारीहरू भने ठेकेदार भाग्न लागेको र मेलम्ची आयोजना अन्योलमा परेको विषयमा सोमबार रातिसम्म सम्पर्कमा आउन चाहेनन् ।

थप दुई आयोजना पनि समस्यामा

सीएमसी वित्तीय संकटमा परेपछि मेलम्चीबाहेक दुई जलविद्युत् आयोजनासमेत समस्यामा पर्ने भएका छन् । १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना र ६८ मेगावाटको सोलु–दूधकोसी जलविद्युत् आयोजनाको ठेक्का सीएमसीले नै पाएको छ । सीएमसीका कारण यी दुवै आयोजनाको मुख्य भौतिक संरचना निर्माणको ठेक्का अन्योलमा परेको छ ।

सीएमसीले तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, हेड वक्र्स निर्माण गर्नेलगायतको कामको ठेक्का पाएको छ । ठेक्का रकम २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ छ । सीएमसीले तनहुँ आयोजनाको काम डिसेम्बर २०२३ भित्र सक्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

यस्तै, सोलु–दूधकोसी जलविद्युत् आयोजनामा इन्जिनियरिङ, खरिद र निर्माणको जिम्मा पनि यो कम्पनीले लिएको छ । निजी क्षेत्रबाट निर्माण गर्न लागिएको आयोजनामा सीएमसीले ८ अर्ब रुपैयाँको ठेक्का पाएको छ । ठेक्का सम्झौतामा सीएमसीले ३ वर्षभित्र निर्माण सक्ने उल्लेख छ ।

प्रकाशित : पुस ३, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?