कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिक्टा सिँचाइ भत्किनुको कारण अध्ययनमा आएका अस्ट्रेलियन प्राविधिक नमुना संकलन नगरी फिर्ता

ठाकुरसिंह थारू

नेपालगन्ज — सिक्टा सिँचाइ आयोजनाको मूल नहर बारम्बार भत्किनुको कारण अध्ययन गर्न आएका अस्ट्रेलियन प्राविधिक माटोको नमुना संकलन नगरी फर्किएका छन् ।

सिक्टा सिँचाइ भत्किनुको कारण अध्ययनमा आएका अस्ट्रेलियन प्राविधिक नमुना संकलन नगरी फिर्ता

उनीहरूले नहरमा प्रयोग गरिएको माटो लैजान कानुनी जटिलता रहेको बताए । कानुनी प्रक्रिया पुर्‍याएर परीक्षणका लागि माटो पठाइदिन भनेका छन् ।

सिक्टा सिँचाइले मूल नहरमा प्रयोग गरिएको माटो अस्ट्रेलिया पठाउन खानी तथा भूगर्भ मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरेको जनायो । अनुमति नलिएर एउटा मुलुकको माटो अर्को देश लैजान अध्यागमन कार्यालयले रोक लगाएको छ । ‘स्थलगत अध्ययन गर्न आएका प्राविधिकले माटो नमुना परीक्षणका लागि लैजान चाहेका थिए । अध्यागमनले रोक्न सक्ने भन्दै खाली हात फर्के,’ आयोजनाका प्रमुख कृष्णप्रसाद नेपालले भने, ‘माटो पठाइदिनु भनेका छन् ।’

अध्ययनका लागि अस्ट्रेलियाबाट दुई प्राविधिक आएका थिए । उनीहरूले अगैयास्थित मूल ब्यारेकदेखि ४५ किमिसम्मको नहर हेरे । परीक्षण क्रममा पटक–पटक भत्किने मुगवा खोलादेखि झिझरीसम्मको नहरलाई महत्त्वसाथ उनीहरूले अवलोकन गरेका थिए ।

परीक्षण क्रममा त्यस क्षेत्रमा दुईपटक नहर भत्किएको थियो । निरीक्षण र स्थलगत अध्ययनपछि उनीहरू बोल्न चाहेनन् । ‘नहरको निरीक्षणपछि हामीसँग केही छलफल भयो तर गुणस्तरबारे केही बोल्न चाहेनन्,’ प्रमुख नेपालले भने, ‘केही दिनमा लिखित सुझाव पठाइदिने भनेका छन् ।’

सिक्टाले अस्ट्रेलियन प्राविधिकलाई पत्रकार सम्मेलन गरी नहरको अवस्थाबारे जानकारी गराइदिन आग्रह गरेको थियो । तर, उनीहरूले आफूहरू प्रचारका लागि नभई काम गर्न आएको जवाफ दिएका थिए । ‘त्यसैले नहरको गुणस्तर र सुधारका लागि यही सुझाव दिए भन्न सक्ने अवस्था रहेन,’ नेपालले भने, ‘नहरमा प्रयोग गरिएको माटो परीक्षणपछि उनीहरू ठोस निर्णय लिन सक्छन् ।’

राष्ट्रिय गौरवको आयोजनाको मूल नहर पटक–पटक भत्किन थालेपछि कारण खोज्न अस्ट्रेलियन प्राविधिक बोलाइएको थियो ।

नहरको गुणस्तर छानबिन माग उठिरहेका बेला विदेशी प्राविधिक बाँके आएर निरीक्षण गरेको हो । यसअघि सरकारको सचिव र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको छुट्टाछुट्टै टोलीले नहर भत्किनुको कारणबारे अध्ययन गरिसकेको छ ।

अख्तियारले आयोजनामा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । त्यससँगै आयोजनाको डिजाइनमा पनि कैफियत रहेको दाबी गरिएको छ । आयोजनाले भने घुलनशील माटोका कारण नहर पटक–पटक भत्किने गरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

सिक्टाको मूल नहरको पानी धान्ने क्षमता ५० क्युसेक मानिए पनि परीक्षणकै क्रममा भत्किने गरेकाले गुणस्तरमा प्रश्न उठ्ने गरेको हो । ‘नहरको दायाँबायाँ दुवै मूल नहरको चुरे र फुटहिल क्षेत्रबाट दर्जनौं खोलानाला बगेका कारण नहरमा क्षति हुने गरेको छ ।

त्यस्तै दायाँ मूल नहरको डिजाइन चरणमा नहरको रेखांकन गर्दा चेनेज २० देखि ३५ किमिसम्म नहर अत्यधिक कटिङ तथा फिलिङमा छ,’ आयोजनाको प्रतिवेदनमा भनिएको छ ।

त्यसको विकल्प अध्ययन गरी हालको रेखांकन छनोट गरिएको आयोजनाको तर्क छ । चुरेदेखि घुलनशील माटो आएर नहर भत्किने गरेको आयोजनाले जनाएको छ । बहुचर्चित राष्ट्रिय लगानी आयोजनाको काम १४ वर्षदेखि भइरहेको छ ।

प्रकाशित : पुस ३, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?