घर भाडा लिने सांसदको बचाउमा संसद् सचिवालय, ११ जनाले फिर्ता गरे 

समाचारले सांसदको आत्मसम्मान चोट पुगेको संसद सचिवालयको दावी छ ।
मकर श्रेष्ठ

काठमाडौँ — सांसदको दवावमा सङ्घीय संसद् सचिवालयले काठमाडौँ उपत्यकामा घर भएर पनि भाडा लिने सांसदहरूको बचाउ गरेको छ । सांसदहरूले यसअघि लिएको मासिक घर भाडा फिर्ता गरिरहँदा सचिवालयले भने मङ्गलवार विज्ञप्ति जारी गरेर समाचारले जनप्रतिनिधिको आत्म सम्मानमा चोट पुगे जनाएको छ । 

घर भाडा लिने सांसदको बचाउमा संसद् सचिवालय, ११ जनाले फिर्ता गरे 

‘असोजको तथ्याङकलाई अध्यावधिक नगरी सूचना लिएको दुई महिना पछि समाचार सम्प्रेषण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा माननीय सांसदहरूले समय समयमा उपलब्ध गराउनु भएको सूचनाका आधारमा सचिवायलबाट भुक्तानीमा भएका सामान्य तथ्याङकीय गल्तीलाई आधार मानी सम्प्रेषित समाचारबाट सम्मानित जनप्रतिनिधिहरूको आत्मसम्मानमा चोट पुगेको छ ।’


सांसदले पाउने पारिश्रमिकको विवरण उपलब्ध गराउनका लागि संवाददाताले असार ६ मा निवेदन दिए पनि सचिवालयले कात्तिक १३ गते मात्र उपलब्ध गराएको थियो । उक्त विवरण सांसदहरूले असोजमा बुझेको पारिश्रमिकको थियो । त्यही विवरणलाई आधारमा मानेर अध्ययन गर्दा ३० जना सांसदले काठमाडौँमा घर भए पनि घर भाडा लिने गरेको पाइएको थियो ।

..................................

...................................

सचिवालयले काठमाडौँमा घर हुने सांसदलाई घर मर्मत खर्च बापत ९ हजार र घर नहुनेलाई १८ हजार घर भाडा उपलब्ध गराउँदै आएको छ । यस सम्बन्धी समाचार प्रकाशन गरेपछि मङ्गलवारसम्ममा ११ जना सांसदले लिइसकेको घर भाडा फिर्ता गरेका छन् । १० महिनासम्म घर बापतको रकम मासिक बैङ्क खातामा आउँदा ‘चुप’ रहेका सांसदहरूले सचिवालयको गल्तीले बेइज्जत भएको भन्दै विरोध गर्न थालेका हुन् ।


समाचारमा आएजस्तो सांसदहरूलाई बढी रकम भुक्तानी नहुने र भए पनि स्वत: समायोजन गरिने सचिवालयले जनाएको छ । सांसदहरूको घर स्वामित्व परिवर्तन भएको विवरण प्राप्त भएपछि समय समयमा तथ्याङक अध्यावधिक हुने गरेको सचिवालयको दाबी छ । ‘केही माननीय सदस्यहरूले काठमाडौँ उपत्यकामा घर भए नभएको विवरण उपलब्ध नगराउनु भएको कारण सिर्जित समस्यासमेत समाधान गरिएको छ,’ प्रवक्ता रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माननीय सदस्यहरूले प्राप्त गर्ने पारिश्रमिक, घर भाडालगायत अन्य सुविधा भुक्तानीको विवरण माग अनुसार माननीय सदस्यहरूलाई उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी गराइन्छ ।’

कसले कति पैसा फिर्ता गरे ?

काँग्रेसका नारायण खड्का ६६३००।–

काँग्रेसका कर्मा घले –६६३००।–

काँग्रेसका उमेश श्रेष्ठ –८४३००

काँग्रेसका बहादुर सिंह तामाङ–८४३००

काँग्रेसका भीमसेनदास प्रधान –८४३००

काँग्रेसका दिव्य मणि राजभण्डारी ८४३००

नेकपाका पार्वत गुरुङ ८४३००

नेकपाका दलबहादुर राना ८४३००

नेकपाका यज्ञबहादुर सुनुवार, योगेश भट्टराई र काँग्रेसका अमरेशकुमार सिंहले आफूले लिएको भाडा तलबबाट कट्टा गर्न पत्र दिएका छन् ।

संसद सचिवालयले जारी गरेको विज्ञप्ति:

प्रकाशित : पुस ३, २०७५ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?