अब वन्यजन्तु उद्धारमा ‘एम्बुलेन्स’

रासस

काठमाडौँ — वन्यजन्तु बिरामी भयो, घरभित्र पस्यो या घाइते भेटियो । खबर गर्नुहोस्, तुरुन्तै प्राथमिक उचारका औषधि र भेटेरिनरी प्राविधिकसहितको ‘वन्यजन्तु एम्बुलेन्स’ आइपुग्नेछ । 

वन्यजन्तुको जोखिम कम गर्न नेपालमा पहिलो पटक राष्ट्रिय प्रकृति संरक्षण कोषले दुई वटा वन्यजन्तु एम्बुलेन्स भित्र्याएको हो । 'केही महीनाअघि नेपाल भित्रिएको थियो, गएको हप्ताबाट भने औपचारिकरुपमा काम थालेको छ,' कोषका कार्यकारी निर्देशक दीपककुमार सिंहले भने ।


ललितपुरको सदर चिडियाखाना र चितवनको सौराहामा राखिएको एम्बुलेन्सले पायक पर्ने क्षेत्रमा पुगेर वन्यजन्तुको उद्धार गर्नेछ । पहिले उद्धार गरिएका वन्यजन्तुको जोखिम बढ्दो थियो ।


एम्बुलेन्स सञ्चालन भएपछि घाइते तथा असहाय वन्यजन्तुको जोखिम कम हुने विश्वास गरिएको छ । एम्बुलेन्समा वन्यजन्तु राख्न मिल्ने खोर (केज) समेत जडान गरिएको छ । आकस्मिक तथा प्राथमिक उपचार सामग्रीसहित वन्यजन्तु प्राविधिकसमेत एम्बुलेन्समा रहनेछन् ।


जोखिममा परेका वन्यजन्तुलाई तत्कालै उद्धार गरी प्राथमिक उपचार गरेर अस्पताल पुर्याउँदासम्म एम्बुलेन्सले जोखिम घटाउन र उद्धारमा ठूलो सहयोग पुर्याउने वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले बताए । वन्यजन्तुकै लागि प्रयोग हुने एम्बुलेन्स नपाइएकाले भारतबाट मानिसका लागि प्रयोग गरिने एम्बुलेन्स ल्याइएको हो । नेपाल ल्याएपछि त्यसमा खोर जडान गरेर वन्यजन्तु एम्बुलेन्स बनाइएको हो ।


एम्बुलेन्स, उद्धार केन्द्र र वन्यजन्तु अस्पताल नहुँदा यसअघि उद्धार गरिएका वन्यजन्तुले अकालमै ज्यान गुमाउने गरेका थिए । एम्बुलेन्सका कारण समयमै वन्यजन्तुको उपचार र उद्धार हुने भएकाले एक त जोखिम कम हुने र अर्को मानव–वन्यजन्तु द्वन्द्व पनि कम हुने विश्वास गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बताए । अहिले विभिन्न क्षेत्रमा वन्यजन्तुको उद्धार केन्द्र बन्ने क्रममा रहेको र चितवनमा वन्यजन्तु अस्पताल नै बनिसकेकले सञ्चालनको तयारी छ ।


सदर चिडियाखाना ललितपुरका कार्यक्रम व्यवस्थापक डा चिरञ्जीवी पोखरेलले कुनै घटना हुने बित्तिकै तत्काल परिचालन हुने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको बताए । चितवनमा पुस १ गतेबाट एम्बुलेन्सले काम थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामु कुमार अर्यालले बताए । उनका अनुसार भारतीय सीमाक्षेत्र नवलपरासीको सुस्ताबाट उद्धार गरिएको गैँडालाई चितवन ल्याउनका लागि एम्बुलेन्सको प्रयोग गरिएको थियो ।


गैँडा, हात्तीलगायत ठूला जनावरलाई एम्बुलेन्समा राख्न मिल्दैन तर आवश्यक औषधोपचारका सामग्री र ठूला वन्यजन्तु ल्याउने गाडीको अगाडि एम्बुलेन्स गुड्दा यातायात आवागमन सहज हुन्छ । पुस १ गते त्यसैगरी गैँडा ल्याउँदा यातायात सहज भएको कोषका सूचना अधिकारी सन्तोष भट्टराई बताउँछन् ।


एम्बुलेन्स बाघ, चितुवा, मृग प्रजातिलगायत साना वन्यजन्तु भने राखेर ल्याउन मिल्ने खालको छ । एम्बुलेन्स ल्याउन एक वर्षअघि देखिकै पहल भएको थियो । मानव वन्यजन्तु राहत कोषमार्फत पूर्ण भन्सार छुटमा ल्याइएको छ । वन्यजन्तु एम्बुलेन्सको विषयमा कुनै कानूनी व्यवस्था नभएकाले भन्सारमा निकै समय अड्किएको थियो । आवश्यक छलफलपछि कानूनी प्रक्रिया पुर्याएर नेपाल ल्याइएको हो ।

प्रकाशित : पुस ३, २०७५ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?