मेलम्ची बनाइरहेको सीएमसी टाट पल्टिएकाे भए अन्य दुई विद्युत् आयोजना प्रभावित हुन सक्ने 

विजय तिमल्सिना

काठमाडौँ — पाँच वर्षअघि मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालियन कम्पनी सीएमसी टाट पल्टिएपछि अरू दुई आयोजना पनि प्रभावित हुने भएका छन् । सीएमसीले मेलम्चीबाहेक नेपालमा निर्माणाधीन दुई जलविद्युत् आयोजनाको ठेक्का पनि पाएको छ । इटालियन कम्पनी टाट पल्टिँदा नेपालमा बन्न लागेका दुई जलविद्युत् आयोजना पनि प्रभावित हुने भएका छन् ।

मेलम्ची बनाइरहेको सीएमसी टाट पल्टिएकाे भए अन्य दुई विद्युत् आयोजना प्रभावित हुन सक्ने 

सीएमसीले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हेडवक्र्स संरचनाको कामको जिम्मा पाएको थियो । आयोजनाले असोज १५ गते सीएमसीसँग कामका लागि सम्झौता गरेको थियो । सीएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा सम्झौता भएको आयोजनाले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण २०२३ भित्र सुरु गर्ने गरी सम्झौता गरिएको थियो । मेलम्ची आयोजनाको काम नसकी ठेकेदार कम्पनी सीएमसीका प्रतिनिधिहरू काठमाडौं छाड्ने लागेको भन्दै सोमबार पक्राउ परेका छन् । २०७० असार ३१ गते सीएमसीसँग मेलम्चीको ठेक्का सम्झौता गरिएको थियो तर कम्पनीले चित्तबुझदो काम गरेको थिएन ।

इटालीस्थित सीएमसीको मुख्यालयले बोर्डको निर्णय भन्दै कम्पनी टाट पल्टिन लागेको जानकारी वेबसाइटमा राखेको छ । डिसेम्बर ७ को मितिमा प्रकाशित गरिएको सीएमसीको प्रेस विज्ञप्तिअनुसार कम्पनीले टाट पल्टिने प्रक्रियाका लागि इटालीको रभिनास्थित अदालतमा प्रक्रिया सुरु गरेको छ ।

यो पनि पढ्नुहोस् : मेलम्चीमा पुन: अवरोध, टाट पल्टिएकोले काम नगर्ने ठेकेदारको अडान


अदालतले आफ्नो ऋणदातासँग सम्झौताका लागि कम्पनीलाई ६० दिनको समय दिएको विज्ञप्तिमा जनाइएको छ । मेलम्ची आयोजना अन्तिम चरणमा रहेको बेला सीएमसीका प्रतिनिधिहरू भाग्न लागेको भन्दै आयोजनाले उनीहरूको पासपोर्ट नियन्त्रणमा लिएको छ ।

इटालस्थित मुख्य कम्पनी टाट पल्टिने प्रक्रियामा गएपछि नेपालमा यसले जिम्मा पाएको विद्युत् आयोजना पनि अन्योलमा देखिएका छन् ।

तनहुँ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले सीएमसी टाट पल्टिन लागेको जानकारीले आयोजना चिन्तित बनेको बताए । ‘उनीहरू टाट पल्टिँदै छन् भन्ने थाहा भएको भए ठेक्का सम्झौता हुँदैन थियो,’ उनले भने, ‘अब के गर्ने भन्ने विषयमा छलफल गरी निर्णय लिनेछौं ।’

सीएमसी टाट पल्टिए आयोजनामा उसले जिम्मा पाएको कामको लागि पुन: बोलपत्र आहवान गर्नुपर्ने बताए । कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ आयोजना विद्युत् लोड व्यवस्थापनका लागि महत्त्वपूर्ण मानिएको छ । सीएमसीले जिम्मा पाएको कामका लागि पुन: बोलपत्र आहवान गर्न परे आयोजना निर्माण तालिका केही प्रभावित हुनेछ ।

हेडवक्र्स संरचना निर्माणका लागि सम्झौता भए पनि सीएमसीले कुनै काम सुरु गरेको छैन । ‘हामीले सुरुमा दिनुपर्ने रकम पनि दिएका छैनौं,’ थिकेले भने ।

प्राधिकरणको सहायक कम्पनीबाट उत्पादन गर्न लागिएको आयोजनामा एसियाली विकास बैंक (एडीबी) सहित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी) ले ऋण सहयोग गरेका छन् ।

तनहुँ आयोजनाबाहेक गत वर्ष सीएमसीले सोलुखुम्बुमा निर्माणाधीन सोलु–दूधकोसी जलविद्युत् आयोजनाको निर्माणको काम पनि पाएको थियो । करिब ८ अर्ब लागतको काम सीएमसीले इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा ठेक्का पाएको हो । आयोजनाको प्रवद्र्धक साहस ऊर्जाले वर्ष जेठमा सीएमसीसँग ठेक्का सम्झौता गरेको हो । आयोजनाको निर्माण तीन वर्षमा सक्ने लक्ष्य तोकिएको थियो । आयोजना निर्माणको लागि ठेकेदार कम्पनी आयोजनास्थलमा खटिएको आयोजनाको प्रगति प्रतिवेदनमा जनाइएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा ११ वटा बैंकले आयोजनाका लागि ऋण दिएका छन् । आयोजनाको कुल लागत करिब १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । योमध्ये ७३ प्रतिशत रकम बैंकले लगानी गरेका हुन् । बाँकी रकम कम्पनीले सेयरमार्फत संकलन गर्ने लक्ष्य छ ।

प्रकाशित : पुस ४, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?